२३ गते औद्योगिक प्रतिस्ठान बन्द

२०७३ श्रावण १७ गते, सोमबार

काठमाडौं, १७ साउन । नेकपा माओवादी निकट मजदूरहरुले साउन २३ गते औद्योगिक प्रतिस्ठान बन्द गर्ने घोषणा गरेको छ ।
नेपाल बन्दको क्रममा गिरफ्तार संगठनका सचिव भानुभक्त आचार्य र नविन विष्टलाई रिहाईको माग गर्दै अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो । सोमबार संवाद डबलीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महासंघका उपत्यका ब्यूरो संयोजक शंकर अधिकारीले रिहाई गर्न पटकपटक प्रहरी प्रशासनसँग माग गर्दा पनि झुट्टा मुद्धा लगाएकाले संघर्षमा जानु परेको बताए ।
‘गिरफ्तार गरिएका हाम्रो संगठनका केन्द्रीय सचिवसहित दुई जना नेतालाई कथित आगजनी मुद्धा गरिएको घटनाप्रति हाम्रो संगठनको गम्भीर ध्यानाकर्षण भएको, रिहाईको लागि प्रशासनसँग आग्रह गर्दा पनि बेवास्ता भएपछि संघर्षमा जान बाध्य भएका छौँ’ संयोजक शंकरद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
कार्यक्रममा बोल्दै महासंघका केन्द्रीय अध्यक्ष योगेन्द्र कुमालले नेपाल बन्द राजनीतिक मुद्धा भएको बताउँदै सो क्रममा गिरफ्ता सबैलाई विना सर्त रिहाई गर्नुपर्ने बताए । उनले प्रहरीले आचार्य र विष्टमाथि प्रशासनले झुट्टा मुद्धा लगाउन खोजेको बताए । ‘यो पहिलो चरणको कार्यक्रम हो, अझैं रिहाई नगरे दोस्रो चरणमा नेपाल बन्दलगायतका कार्यक्रम गर्न बाध्य हुनेछौँ’ कुमालले भने ।
सार्वजनिक गरिएका संघर्षकाअनुसार साउन १८ गते प्रचारप्रसार, १९ गते तिनकुनेमा जनप्रर्दशन, २० गते बबरमहलमा जनप्रर्दशन, २१ गते उपत्यकाव्यापी कोणसभा र २३ गते यातायात बाहेक औद्योगीक प्रतिस्ठान बन्द गर्ने रहेको छ ।

प्रतिक्रियाहरु