गणतन्त्र कोरियाका बालकलाकार काठमाडौँमा

२०७३ श्रावण १२ गते, बुधबार

काठमाडौँ, १२ साउन । अन्तर्राष्ट्रिय स्तरमै ख्याति प्राप्त दक्षिण कोरियाली बालसंस्कृति समूह ‘द लिटिल एञ्जल्स फक ब्यालेट अफ कोरिया’ आफ्नो महत्वपूर्ण सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्नका लागि मङ्गलबार काठमाडौँ आइपुगेको छ ।
सद्भावना दूतका रूपमा आएकोे टोलीले बौद्धस्थित हायात होटलमा आयोजना गरिएको अन्तर्राष्ट्रिय सम्मेलनमा आफ्नो प्रस्तुति यही साउन १३ गते बिहीबार देखाउने कार्यक्रमका संयोजक रुपसिंह भण्डारीले जानकारी दिनुभयो ।
प्रस्तुतिका लागि आएका कोरियाली बालबालिकाको उमेर ९ देखि १४ वर्षसम्मको छ । उनीहरुले नेपाली भाषाको ज्ञान नभए पनि नेपाली गीत गाउनेछन् । उनीहरुलाई नेपाली विद्यार्थीले होटल हायातमा स्वागत गरेका थिए ।
विश्वका ५० भन्दा बढी देशमा आफ्नो अद्भूत कला प्रदर्शन गरिसकेको कोरियाली बाल कलाकारको टोलीले पङ्खा नाच, मुखुण्डो नाच, ड्रम नाच, पुतली नाच आदि नृत्य प्रस्तुत गर्नेछन् ।
उनीहरुले फूलको श्रीपेच, वसन्त, विवाह महोत्सवसहित १२ नृत्य प्रस्तुत गर्नेछन् । कोरियाली बाल कलाकार समूहमा ४६ जना छन् । सोही टोली यसअघि पनि नेपाल भ्रमण वर्ष २०११ को सुरुवातमै नेपाल आएको थियो । – रासस

प्रतिक्रियाहरु