एसएलसीको पूरक परीक्षा साउन १४ देखि

२०७३ श्रावण १० गते, सोमबार

काठमाडौँ, १० साउन । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यही साउन १४ गतेबाट सुरु हुने एसएलसी पूरक अर्थात् ग्रेड वृद्धि परीक्षाको तयारी पूरा गरेको छ । कार्यालयका परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले १४ गतेदेखि सुरु हुने ग्रेड वृद्धि परीक्षाको तयारी पूरा गरेको बताए । उनले परीक्षाका लागि आवश्यक प्रश्नपत्र, उत्तरपुस्तिका र अन्य सामग्री जिल्लाहरुमा पठाइसकिएको जानकारी दिए ।
परीक्षाका लागि कार्यालयले ७५ वटै जिल्लामा १९२ वटा परीक्षा केन्द्र निर्धारण गरेको जानकारी दिँदै उहाँले एक लाख ४७ हजार विद्यार्थीले ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउने बताए ।
परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले दुई विषयसम्म सैद्धान्तिकतर्फ ‘डी’ र ‘इ’ ग्रेड ल्याएर पूरक परीक्षा दिन पाउने विद्यार्थीको सङ्ख्या नियमिततर्फ एक लाख आठ हजार ३२६ जना र एक्जाम्टेडतर्फ ३९ हजार २५७ जना गरी कुल एक लाख ४७ हजार ५८३ जना रहेको बताए ।
एसएलसी परीक्षामा बढीमा दुई विषयसम्म सैद्धान्तिकतर्फ ‘डी’ र ‘इ’ ग्रेड ल्याउने परीक्षार्थीले पूरक अर्थात् ग्रेड वृद्धि परीक्षा दिन पाउने कार्यालयले व्यवस्था गरेको छ । परीक्षा साउन १४ देखि २१ गतेसम्म बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुने उनले जानकारी दिए ।

प्रतिक्रियाहरु