प्रदर्शनकारीलाई जीउँदो लाश बनाइदैं

२०७३ श्रावण ६ गते, बिहीबार

काठमाडौ, ६ साउन । भारत प्रशासित कश्मीरमा झण्डै दुई साता अघि कथित उग्रवादी बुरहान वानी मारिएपछि भड्किएको हिंसात्मक प्रदर्शनका क्रममा ठूलो जनधनको क्षति भएको छ । स्थानीय प्रशासनले कश्मीर क्षेत्रमा संचारविच्छेद गराउनुका साथै पत्रपत्रिकासमेत बन्द गराएपछि घटनाको वास्तविक विवरण आउन सकेको छैन । सरकारी स्तरबाट उपलब्ध गराइएको विवरणभन्दा भिन्न र निकै ठूलो क्षति कश्मीर र त्यहाँका जनताले व्यहोर्नु परेको तथ्य केही सामाजिक संजालमार्फत प्रकट भइरहेको छ । कर्फ्युका बीच पनि प्रदर्शनकारीहरुले सुरक्षाकर्मीमाथि ढुंगामुढा र आगजनी गर्न थालेपछि भीड नियन्त्रण गर्न भन्दै सुरक्षाकर्मीले प्रदर्शनकारीमाथि ‘पेलेट गन’ मार्फत छर्रा प्रहार गर्दै आएका छन् ।
बन्दुकबाट निस्किएलगत्तै चारैतिर छर्रा फिजिने भएकाले भीड नियन्त्रणका लागि यस्तो हतियार प्रभावकारी मानिन्छ । तर कश्मीरमा भारतीय सुरक्षाकर्मीले प्रयोग गरेको गोली भीड नियन्त्रणका लागि भन्दा पनि प्रदर्शनकारीलाई जीउँदो लाश बनाउन बढी उद्यत देखिएको जानकारहरु बताउँछन् ।
पम्प गर्ने यो बन्दुकमा विभिन्न प्रकारका कारतुस प्रयोग हुन्छन् । ५ देखि १२ को रेन्जसम्मका कारतुस यसमा प्रयोग हुने बताइन्छ । ५ रेन्जको कारतुसलाई सबैभन्दा बढी खतरनाक मानिन्छ भने १२ रेन्जको कम खतरनाक हुन्छ । कश्मीरमा सुरक्षाकर्मीले ९ रेन्जको कारतुस प्रयोग गर्दै आएका छन् । फायर गर्नासाथ निशानाको दायरा बढाउँदै छर्रा फिँजिन्छन् र बढीभन्दा बढी प्रदर्शनकारीलाई घाइते बताउँछ । यस्तो हतियार सामान्यतया शिकारीले प्रयोग गर्दछन् । शिकार उम्कन नपाओस् भनेर नै शिकारीले यस्तो हतियार प्रयोग गर्दछन् । तर कश्मीरमा भने प्रदर्शनकारीमाथि सुरक्षाकर्मीले लगातार यस्तै हतियार प्रयोग गर्दै आएका छन् ।
सन् २०१० मा पनि सुरक्षाकर्मीले कश्मीरमा यस्तै हतियार प्रयोग गरेका थिए, जतिबेला करिब एक सय प्रदर्शनकारीको मृत्यु भएको थियो ।
यस पटक मृत्यु हुनेको संख्या ४० को हाराहारीमा रहे पनि घाइतेको संख्या चिन्ताको विषय बनेको छ । प्रदर्शन दुई साता नबित्दै दुई हजारभन्दा बढी प्रदर्शनकारी घाइते भएका छन् । तीमध्ये कयौंको दृष्टि गुमेको छ भने कयौंको शरीरभरी छर्रा लागेको छ ।
महाराजा हरि सिंह अस्पतालका चिकित्सक डा. तारिक कुरैशीका अनुसार सो अस्पतालमा मात्र आँखामा छर्रा लागेका ११७ जना बिरामी उपचाररत छन् । अन्य अस्पतालमा पनि यस्ता बिरामीको संख्या उल्लेख्य रहेको बताइन्छ । चिकित्सकहरुका अनुसार कश्मीर प्रदर्शनका क्रममा घाइते भएका प्रदर्शनकारीमध्ये ९० प्रतिशतको हाराहारीमा कम्मरमाथि छर्रा लागेका बिरामी छन् । कम्मरभन्दा तल छर्रा लागेकाहरुको तुलनामा कम्मरमाथि छर्रा लागेकाहरुको अवस्था नाजुक हुने उनीहरुको भनाइ छ ।
अस्पताल स्रोतका अनुसार एकै व्यक्तिको शरीरमा दर्जनौं छर्रा लागेको अवस्था छ । कयौंको आँखामा समेत छर्रा लागेका कारण उनीहरुले दृष्टि गुमाउने खतरा बढी देखिएको छ । त्यस्तै मेरुदण्ड तथा शरीरका समवेदनशील अंगमा छर्रा लागेकाहरु पनि अपाङ्ग हुने अवस्थामा छन् ।
सामान्यतया, त्यस्ता बन्दुकबाट प्रहार गरिने छर्रा गोलाकारका हुने भए पनि कश्मीरमा प्रयोग गरिएको छर्रा तीखा पाइएको अस्पतालहरुले जनाएका छन् । तीखो भएकै कारण यसपटक ठूलो संख्यामा मानिस घाइते भएको र उनीहरुको अवस्था गम्भीर पाइएको चिकित्सकहरुको भनाइ छ ।
एउटा गोलीमा करिब ६ सयको संख्यामा छर्रा हुने गरेको पाइन्छ । नजिकैबाट प्रहार गरिएको रहेछ भने त्यस्तोमा प्रदर्शनकारीको शरीरमा दर्जनौं छर्रा लाग्न सक्छ । आँखामा छर्रा लागेपछि दृष्टि गुम्ने खतरा अत्यधिक रहने चिकित्सकहरुको भनाइ छ । हालैका दिनमा कयौं प्रदर्शनकारीको आँखामा चोट लागेको पाइएको छ । त्यसैले उनीहरु अन्धकारपूर्ण जीवन बिताउन बाध्य हुने सम्भावना अत्यधिक रहेको चिकित्सकहरुको भनाइ छ ।
दृष्टि गुमाएपछि जो कोहीको जीवन घरमै सीमित हुन्छ । त्यसैले कश्मीरमा बढ्दो प्रदर्शन नियन्त्रण गर्नका लागि सुरक्षा निकायले प्रदर्शनकारीलाई नै ‘जीउँदो लाश’ बनाएर घरमा थन्क्याउने रणनीति लिएको पो हो कि ! सामाजिक संजालमा यस्ता कयौं आशंकायुक्त टिप्पणी कश्मीरीहरुले गरिरहेका छन् ।- एजेन्सी

प्रतिक्रियाहरु