सुकुम्वासीमाथि दमन नगर्न चेतावनी , १० गते नेपाल बन्द

२०७३ असार ३१ गते, शुक्रबार

काठमाडौं, ३१ असार । नेकपा माओवादीका प्रवक्ता प्रकाण्डले सुकुम्वासीमाथिको दमन तत्काल बन्द गर्न आग्रह गरेका छन । प्रवक्ता प्रकाण्डले सर्लाहीको सुकुम्बासी बस्तीमा असार २१ गतेदेखि सरकारले जारी राखेको दमनविरुद्ध धारणा तथा विरोध कार्यक्रम सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सो आग्रह गरेका हुन् । पत्रकार सम्मेलनमा प्रवक्ता प्रकाण्डद्वारा जारी प्रेस बिज्ञाप्तिमा सरकारले सुरक्षा फौज परिचालन गरेर सर्लाहीको सागरनाथ सुकुम्वासी बस्तीमा बर्बर दमनको क्रमलाई जारी राखेको भन्दै माओवादीले नेपाल बन्दसम्मको आन्दोलनको उल्लेख छ । पहिलो चरणको विरोध कार्यक्रम साउन १ देखि साउन १० गतेसम्म राखिएको छ । कार्यक्रमअनुसार पहिलो चरणमा साउन १ गते देशव्यापी पत्रकार सम्मेलन तथा भण्डाफोर गर्ने, २ गते बिहान ९–११ बजेसम्म देशव्यापी चक्काजाम, ३ गते देशव्यापी अन्तरक्रिया, ५ गते देशव्यापी जनप्रदर्शन र १० गते नेपाल बन्द तथा बन्दमा मानवअधिकारवादी परिचालन गर्ने कार्यक्रम रहेको छ ।
पत्रकार सम्मेलनमा प्रवक्ता प्रकाण्डले सुकुम्वासीमाथि सरकारको दमन तत्काल बन्द गर्न आग्रह गरे । उनले भने ‘दमन तुरुन्त बन्द नगरे नेकपा माओवादीले त्यसको निर्मम प्रतिवाद गर्छ, यो कुरा राज्यले समयमै बुझ्नु पर्छ ।’
राज्यको बर्बर दमनको रुपमा हेर्न सागरनाथ बस्तीमा पुग्न पनि पत्रकारहरुलाई उनले आग्रह गरे । ‘तपाई पत्रकार मित्रहरु एकचोटी सर्लाहीको सागरनाथ पुग्नु जरुरी छ । आफना सुकुम्वासी जनतालाई सरकारले कस्तो व्यवहार गरेको छ ? त्यो त्यहा पुग्नेलाई स्पष्ट हुन्छ’ प्रवक्ता प्रकाण्डले भने ।
घटनाको वास्तविक तथ्य बाहिर ल्याउन पनि पत्रकारहरुसँग उनले आग्रह गरेका छन् । ‘बाहिरबाट हेर्दा सरकारले केही नगरेको जस्तो देखाइएको छ । तर घटना राज्यले निर्मम बनाएको छ । त्यो दृष्य त्यहाँ पुगेर मात्र थाहा हुन्छ’ उनको भनाई छ । पत्रकार सम्मेलनमा सुकुम्वासीमाथि दमन बन्द गरेर घाइतको निशुल्क उपचार र सुकुम्वासीको भौतिक सम्पत्तिको क्षतिपूर्ति दिन सरकारसँग माग गरे । प्रहरी दमनबाट सुकुम्वासी संजिव बम्जनको बायाँ आँखा गुमेको छ । नाकबाट छोडिएको गोली टाउकोमा पुगेर अड्किएको चितवन मेडिकल कलेजले जनाएको पत्रकार सम्मेलनमा बताइएको थियो । सर्लाहीको सुकुम्बासी बस्तीमा असार २१ गतेदेखि सरकारले जारी राखेको दमनमा अहिलेसम्म १२ जना सख्त घाइते भएका छन् । दमनका क्रममा सयौं थान अश्रु ग्याँस, रबर र सिसाको गोली प्रहार भएको थियो । सागरनाथमा हाल करिब ५ हजार सुकुम्वासी बसोबास गर्दै आइरहेका छन् । हिमाल, पहाड र तराईबाट गएका बाढीपहिरो तथा द्वन्द्वपीडितहरु त्यहाँ पुगेका हुन् । उनीहरुलाई सरकारले नै ०६६ सालबाट औपचारिक रुपमा निर्णय गरी त्यहाँ राखेको थियो ।
पत्रकार सम्मेलनमा समसामयिक राजनीतिमाथि टिप्पणी गर्दै प्रवक्ता प्रकाण्डले अहिलेको सत्ता परिवर्तनको खेल विदेशीको डिजाईनमा भएको ठोकुवा गरे । उनले जुनसुकै सरकार आए पनि असफल संसदीय व्यवस्थाकै परिणाम भएकाले यसले जनताको हितमा कुनै काम गर्न नसक्ने र नेपालमा निर्णायक क्रान्तिको विकल्प नभएको बताए । उनले प्रधनमन्त्री केपी ओली आफै राष्ट्रवादको जलपमा सत्तामा टिक्न विदेशीको चलखेल भन्दै हिडेको र सार्वभौम सत्ता सम्पन्न मुलुकका कार्यकारी प्रमुखले त्यस्तो हो भने कुर्सीमा बसिरहनु लज्जास्पद हुने टिप्पणी गरे । माओवादी केन्द्र , कॉग्रेस र एमाले भन्दा भिन्न चरित्रको हुन नसकेको र उसले आसन्न स्थानीय निकायको निर्वाचनमा पत्तासाफ हुने डरले माओवादीले सरकारको नेतृत्व चाहेको प्रकाण्डको दाबि थियो ।

प्रतिक्रियाहरु