‘ट्रेड युनियनमा गैरमजदुर नेता हुँदा अधिकार पाउन मुश्किल’

२०७३ जेष्ठ २३ गते, आईतवार

काठमाडौं, २३ जेठ । संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य मृत्युञ्जय झाले ट्रेड युनियनमा भएको गैरमजदुरको प्रवेशका कारण मजदुरले अधिकार प्राप्त गर्न नसकेको बताएका छन् । शनिबार राजधानीको अनामनगरस्थित संवाद डबलीमा श्रमजीवि टे«ड यूनियन महांघ नेपालको नवनिर्वाचित केन्द्रीय कार्यसमितिको कार्यभार तथा शपथ ग्रहण कार्यक्रममा बोल्दै नेता झले सो कुरा बताएका हुन् ।
मौका पाएर युनियनमा प्रवेश गर्नेहरु कालान्तरमा मजदुर संघर्षबाट पछि हटने गरेको घटना नौलो नभएको उनको भनाई छ । संघीय समाजवादी फोरम नेपालनिकट मजदुर संगठन श्रमजीवि ट्रेड यूनियन महासंघको यही जेठ १५–१६ मा काठमाडौंमा सम्पन्न राष्ट्रिय सम्मेलनले रामबहादुर तामाङको अध्यक्षतामा नवनिर्वाचित केन्द्रीय कार्यसमितिलाई कार्यभार ग्रहण कार्यक्रम पनि सम्पन्न भएको छ ।
तामाङको अध्यक्षतमा ३५ सदस्यीय केन्द्रीय समिति घोषणा गरिएको छ । साथै ६ सदस्यीय केन्द्रीय सल्लाहकार समिति पनि सम्मेलनबाट निर्वाचित भएको छ ।
सम्मेलनबाट एक वरिष्ठ उपाध्यक्ष र चार उपाध्यक्ष, एक महासचिव दुई उपमहासचिव, दुई सचिव, तीन सहसचिव, एक कोषाध्यक्ष र एक सहाकोषाध्यक्ष निर्वाचित गरिएको छ । बाँकी १८ जना केन्द्रीय सदस्य निर्वाचित भएका थिए ।
कार्यक्रममा बोल्दै महासंघ नेपालका नवनिर्वाचित अध्यक्ष रामबहादुर तामाङले राज्यले श्रमजीवि मजदुरलाई मेशिनको पाटपूर्जाभन्दा तल्लो स्तरको व्यवहार गरेको बताए ।
‘उद्योग कलकारखानामा राखिएका मेशिनको समेत निश्चित अवधि हुन्छ, तर मानिस भएर पनि अहोरात्र खट्ने मजदुरहरुको भविष्यप्रति राज्य गम्भीर छैनन् । नीति निर्माताहरुले मजदुर अधिकारबारे गैरजिम्मेवारीपन देखाइरहेका छन्’ अध्यक्ष तामाङको गुनासो छ ।
देशमा काम गरेबापत मजदुरले ज्याला नपाउने अवस्था रहेको भन्दै राज्यकै अकर्मण्यताले मजदुर शक्ति विदेश पलायन भइरहेको बताए । मजदुरले ८ घण्टा काम, ८ घण्टा आराम र ८ घण्टा मनोरञ्जन गर्न पाउने विश्वव्यापी मान्यतालाई सरकारले बेवास्ता गरेको र नाफाखोर उद्योगीको सहयोगीको भूमिका सरकार रहेको बताए ।
आगामी दिनमा अधिकार प्राप्तिका कुनै किसिमका आन्दोलन गर्न मजदुरहरु एकजुट हुनुको विकल्प नरहेको बताउँदै मजदुरको उत्थान र कल्याणका लागि जस्तोसुकै संघर्ष गर्न तयार रहन कार्यसमिति सदस्यहरुलाई अपिल समेत तामाङले गरे । साथै एकदुई जना अवसरवादीले महासंघलाई धोका दिँदैमा मजदुर अधिकारको आन्दोलनमा केही फरक नपर्ने बताए ।
उनले संघीय संरचनामा मुलुक जाँदै गर्दा मजदुरको अधिकार र समस्याको सम्बोधन हुन नसके संघीयता नै खतरा पर्न सक्नेतर्फ सरकारको ध्यानाकर्षण गराएका थिए ।
सल्लाहकारहरुमा वरिष्ठ सल्लाहकारद्वयमा ललितमान श्रेष्ठ र जयबहादुर खत्री रहेका छन् । सल्लाहकारहरुमा ओमकृष्ण प्रसांई, सुरेन्द्र प्रधान, रामरत्न मजगैंया र दीपक राई निर्वाचित भएका छन् ।
नवनिर्वाचित पदाधिकारीहरुमा वरिष्ठ उपाध्यक्षमा राजेन्द्र खत्री, चार उपाध्यक्षहरुमा उषा तामाङ, बत्तीलाल बैठा छन् । बाँकी दुई उपाध्यक्ष पछि पूर्ति गर्ने जनाइएको छ ।
त्यस्तै महासचिवमा नेत्रबहादुर लिम्बू, उपमहासचिवद्वयमा कुलबहादुर बस्नेत र निरज बिसी, सचिवद्वयमा गायत्री भट्टराई र निरमाणविक्रम राणा, सहसचिवत्रयमा सुरेशकुमार श्रेष्ठ, दीपक खडका र प्रकाश विक रहेका छन् । कोषाध्यक्षमा आरती तामाङ, सहकोषाध्यक्षद्वयमा धनकुमारी केसी र मोतीराज राई निर्वाचित भएका छन् ।
त्यस्तै केन्द्रीय सदस्यहरुमा रेखा तामाङ, शान्ति देशार, पुष्प साही, निरन्जन विक्रम राणा, यादव सिटौला, राजकुमार महर्जन, मुन्द्रिका बैठा, विष्णु अधिकारी, सुधा केसी, भोला झा, सानु देशार, तोमप्रसाद पाठक, टंक खड्का, धनबहादुर केसी, अशोक कार्की, सुनिता लामा, रञ्जन श्रेष्ठ र सुसन तामाङ निर्वाचित भएका छन् ।
सम्मेलनले मधेसी ट्रेड युनियन महासंघको नाम परिवर्तन गरी रुमजीवि टे«ड यूनियन महासंघ नेपाल नामाकरण गरिएको छ । साथै सोही सम्मेलनले महासंघका तत्कालीन अध्यक्ष पल्टन ठाकुर र उपाध्यक्ष सितशरण ठाकुरलाई मजदुर अधिकार तथा महासंघको हितमा आँच पुग्ने गतिविधि गरेको ठहर गर्दै निष्कासन गरिएको थियो ।
ठाकुरद्वय महासंघ छाडेर सदभावना पार्टीम प्रवेश गरेका छन् । ठाकुरद्वयलाई सामन्त वर्गको पक्षपोषणमा लागेको महासंघ नेपालका अध्यक्ष तामाङले आरोप लगाए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

ब्रोकर कमिशन घट्ने

२०८१ बैशाख २४ गते, सोमबार