माओवादी पोलिटब्युरो २४१ सदस्यीय

२०७३ जेष्ठ २० गते, बिहीबार

काठमाडौँ, २० जेठ । नेकपा माओवादी केन्द्रले ७५ सदस्यीय सचिवालय र दुई सय ४१ सदस्यीय पोलिटब्युरो बनाउने निर्णय गरेको छ । माओवादी केन्द्रको केन्द्रीय कार्यालयको बुधबार बसेको बैठकले नौ सय ९९ सदस्यीय केन्द्रीय महाधिवेशन आयोजक समिति बनाउने निर्णय गरेको छ । पोलिटब्युरो बैठक बिहीबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्दैछ । यसैबीच माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले माओवादी घटक दलबीचको एकतापछि आफूहरूलाई हुरीबतासले हल्लाउन नसक्ने दाबी गरेका छन् ।
क्रान्तिकारी पत्रकारहरूको बुधबार भएको भेलामा दाहालले भने, ‘एकतापछि भावनाको क्षेत्रमा र विचार राजनीतिको क्षेत्रमा हामी धेरै मजबुत धरातलमा खडा छौं । हामीलाई साना हुरीबतासले हल्लाउने स्थिति छैन । हामीले माओवादी पार्टीहरूलाई मात्र एकताबद्ध बनाउने होइन, मधेस, हिमाल, पहाडलाई कसरी एकताबद्ध बनाउने र राष्ट्रिय धारमा ल्याउने भन्नेमा नयाँ पहल लिँदैछौं ।’ तराई–मधेसमा देखिएको समस्या समाधान गर्न आफूहरूले अग्रणी भूमिका खेल्ने दाबी पनि दाहालले गरे ।
‘वार्ता गरेर यो समस्या समाधान गर्ने माओवादी केन्द्र नै हो । हाम्रै कारणले अहिले सरकारबाट पनि चिठी लेख्ने, बोलाउने काम भइरहेको छ भने हामी आफैं पनि उहाँहरूसँग वार्ता गरेर राष्ट्रिय रूपमा समस्या समाधान गर्ने र देशलाई विभाजन र विखण्डन गर्ने प्रवृत्तिलाई परास्त गर्ने, नयाँ आन्तरिक राष्ट्रिय एकता सुदृढ गर्ने र राष्ट्रिय स्वाधीनता समग्रमा अगाडि बढाउने ठाउँमा छौं’, दाहालले भने ।
दाहालले देशभित्र र बाहिर माओवादी पार्टीहरूको एकताको सकारात्मक सन्देश गएको बताए । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित क्रान्तिकारी पत्रकारहरूको एकता राष्ट्रिय भेलामा दाहालले भने, ‘विभाजनबाट देशको समग्र राजनीतिमा, क्रान्तिकारी कार्यकर्तामा र आमजनतामा पनि जेजस्तो नकारात्मक प्रभाव रह्यो । त्यो स्थितिसम्म आउन तपाईंहामी सबैको मेहनतले हो ।’- अन्नपूर्ण पोस्टवाट

प्रतिक्रियाहरु