मुस्लिम र हिन्दू समुदायको आस्थाको केन्द्र मदारबाबा मेला

२०७२ फाल्गुन ९ गते, आईतवार

काठमाडौं, ९ फागुन । मुस्लिम र हिन्दू समुदायको आस्थाको केन्द्र बनेको मदारबाबा मेला नवलपरासीमा आगामी फागुन १५ देखि २४ गतेसम्म लाग्ने भएको छ । मदारबाबाको मुख्यस्थल कुडिया रुपौलियाको महलबारी बजारबाट करिब नौ किमी पहाडी क्षेत्र दुम्कीबास डाँडाँमा रहिआएको छ ।
मदारबाबास्थल क्षेत्रमा मेलामा यस वर्ष करिब १५ लाख दर्शनार्थी आउने अपेक्षा गरिएको मेला आयोजक कुलबुल मदरशाहा कुडिया नवलपरासीका अध्यक्ष जमालुद्धिन अन्सारीले बताए ।
अधिकांश भारतीय मूलका दर्शनार्थी आउने सो मेलामा बाबाको स्थल पुगेमा आफ्नो मनोकामना पूरा हुने धार्मिक आस्था र विश्वास रहेको छ ।
पहाडी सडकखण्डमा करिब पाँच घन्टाको पैदल यात्रापछि मात्र पुगिने मेलामा जान पहाडी सडक हुँदा निकै कठिन परिश्रमबाट मात्र मदारबाबा पुग्न सकिन्छ ।
मुस्लिम समुदायको नेपालकै पहिलो र पुरानो ऐतिहासिक मदारबाबाको धार्मिकस्थल अहिले देशविदेशमा पनि प्रशिद्ध रहेको छ । मेलामा मदारबाबासँग आस्था राख्ने मुस्लिम, हिन्दू, बुद्धिष्ट, क्रिश्चियनलगायतका विभिन्न समुदायका तीर्थालु आउने अपेक्षा गरिएको छ । मदारबाबाको मेलामा आउने भक्तजनको मनोकामना पूरा हुने, विभिन्न दुःखबाट पीडित व्यक्तिहरु निको हुने आस्था र विश्वास रहेको छ । – रासस

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु