‘होटल आर्टस् काठमाडौँं’ सञ्चालनमा

२०७२ फाल्गुन ८ गते, शनिबार

काठमाडौँं । लामो समयदेखि कार्गाे र गार्मेन्ट व्यवसायमा संलग्न गोरखाका चिरञ्जीवी भट्टले पर्यटकीय केन्द्र ठमेलको चाक्सीवारी मार्गमा ५० करोड लगानीमा ‘होटल आर्टस् काठमाडौँं’ सञ्चालनमा ल्याएका छन् । होटलमा स्टान्डर्ड, डिलक्स र स्वीट गरी ६० वटा रुमहरु रहेका छन् । होटलको आठ तले भवनबाट काठमाडौँं उपत्यकाको पुरै भू–भाग देख्न सकिन्छ । होटलको पहिलो तलामा स्पा एन्ड साउना, ब्यूटिपार्लर, बैंक, सपिङ आर्केड, एटीएम काउन्टर, कफी शप लगायत रहेका छन् । दोस्रो तलामा रिसेप्सन र द आर्टस् क्याफे एन्ड बार रहेको छ । क्याफेमा एकैपटक ६० जनालाई सेवा दिन सकिने होटलका महाप्रबन्धक सिंहले जानकारी दिए । भवनको ३ देखि ७ तलासम्म बेड रुमहरु रहेका छन् । आठौं तलामा पार्टी हल रहेको छ । त्यहाँ डेढ सय जनासम्मको ककटेल पार्टी गर्न सकिने महाप्रबन्धक प्रविन्द्र सिंहले जानकारी दिए । यहाँबाट काठमाडौँं उपत्यकाको सुन्दर दृश्यावलोकन गर्न पाइन्छ ।
‘होटलका रुमहरु वातानुकुलित रहेका छन्, रुममा चिसो–तातो पानी र फ्रि वाइफाइ सुविधा समेत उपलब्ध छ’ महाप्रबन्धक सिंहले भने– ‘हामीसँग स्टान्डर्ड, डिलक्स र स्वीट गरी तीन प्रकारका रुमहरु रहेका छन् ।’ होटलमा पार्किङको समेत राम्रो व्यवस्था रहेको छ । होटलमा कर बाहेक स्टान्डर्ड रुमको ७० अमेरिकी डलर, डिलक्स रुमको ८० डलर र प्रिमियम रुमको १०० डलर तोकिएको छ । इन्डियन, चाइनिज, मध्यपूर्वी, युरोप र अमेरिकी पर्यटकलाई लक्षित गरेको होटलका अध्यक्ष चिरञ्जिीवी भट्टले बताए ।
होटलमा ग्राहकको चाहना अनुरुप विभिन्न स्वादका खानाहरु खुवाइन्छ । नेपाली मौलिक स्वादको खाना पनि होटलमा पाइने बताइएको छ । होटलमा ओपन किचन रहेको छ । बाहिरबाटै खाना पकाएको देख्न सकिन्छ । तारे होटलमा काम गरेका सेफहरुले खाना पकाउने अध्यक्ष भट्टले बताए । होटलको अर्काे आकर्षक पक्ष हो, आकर्षक पेन्टिङ । होटलको लाउञ्ज, बेडरुम, भर्याएङ लगायतका ठाउँहरुमा आकर्षक पेन्टिङ राखिएको छ । सञ्चालक भट्ट आफै ‘फाइन आर्ट’को विद्यार्थी भएको हुँदा उनैले कोरेका पेन्टिङहरु होटलमा राखिएको हो । यसको अलवा अन्य कलाकारका पेन्टिङहरु पनि किनेर राखेको उनले सुनाए । होटलमा ग्यालरी समेत राखिएको छ । जहाँ विभिन्न कलाकारका पेन्टिङहरु बिक्रीमा राखिएको भट्टले बताए । पेन्टिङ बिक्रीबाट भएको आम्दानीको ५ प्रतिशत रकम गरिव कलाकारको पढाईमा लगाउने उनको भनाई छ । ‘होटलमा आउने पर्यटक मार्फत नेपाली कला र संस्कृतिको अन्तर्राष्ट्रिय रुपमा प्रवद्र्धन गर्ने हाम्रो योजना हो’ अध्यक्ष भट्टले भने– ‘यो प्रयासले नेपाली कलारकारको प्रमोट समेत हुने मलाई विश्वास छ ।’ उनले होटलको नामसमेत कलासँग जोडेर राखेका छन् ।
होटलमा आफै मार्केटिङ गरेर पर्यटक भित्राउने व्यवस्थापनको योजना छ । यसका लागि अनलाइन तथा सामाजिक सञ्जाल र विदेशमा भएका मेलामार्फत मार्केटिङ गर्ने महाप्रबन्धक सिंहले बताए । ‘हामी नेपाल पर्यटकीय गन्तव्य हो भनेर प्रवद्र्धनमा जुट्छौं’ उनले भने– ‘बुद्धको जन्मस्थल लुम्विनी, पशुपति, सगरमाथा लगायतका गन्तव्य देखाएर विदेशी पर्यटक भित्राउँछौं ।’ होटलमा ३० जना कर्मचारी कार्यरत छन् । सबै कर्मचारीलाई मल्टी स्किल तालिम प्रदान गरेको भट्टले बताए । बढी कर्मचारी होटल व्यवस्थापनमा स्नातक गरेका युवाहरु रहेको उनको भनाई छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु