रुसद्वारा तेस्रो विश्वयुद्धको चेतावनी

२०७२ फाल्गुन १ गते, शनिबार

काठमाडौँ, १ फागुन । रुसी प्रधानमन्त्री दिमित्री मेदभेदेभले सिरिया मामलामा पश्चिमा मुलुकको रवैया परिवर्तन नभए तेस्रो विश्वयुद्ध हुने चेतावनी दिएका छन् ।सिरियाको युद्धमा अरब देशका सैनिक आएमा तेस्रो विश्वयुद्ध हुने चेतावनी मेदभेदेभले दिएका हुन् । उनले रुसले सिरियामा जारी युद्ध रोक्न प्रस्ताव गरेको तर अमेरिकाले अरब राष्ट्रका सैनिकको आडमा सिरियामा हस्तक्षेप गरे तेस्रो विश्वयुद्ध हुने चेतावनी दिएका हुन् । जर्मनीको समाचार पत्रिका ‘ह्यान्डलस्ब्ल्याट’ले मेदभेदेभलाई उद्धृत गर्दै लेखेको छ–‘अमेरिकी र हाम्रा अरब सहयोगीले गम्भीरतापूवर्क सोचुन्, के उनीहरुले सदाका लागि युद्ध चाहेका हुन् ?’ उनले तेस्रो विश्वयुद्ध निम्त्याउन छाडेर वार्ताबाट समाधान खोज्नपनि अमेरिका र उसका सहयोगी राष्ट्रलाई सुझाएका हुन् ।
नयाँ विश्वयुद्ध भड्काउन छाडेर वार्तामा बसी सबैले समाधान निकाल्न उनको आग्रह छ । सिरियामा पाँच वर्षदेखि चलिरहेको गृह युद्ध गम्भीर मोडमा पुग्दा झन्डै पाँच लाख मानिस मारिएका छन् भने ५० लाखभन्दा बढीले देश छाडिसकेका छन् । सिरिया र लिबियामा सक्रिय ‘आइएस’विरुद्ध फौजी कारबाही गरिरहेको रुस र अमेरिकाबीच भने सिरिया सवालमा तिक्तता बढेको हो । रुसले सिरियाली राष्ट्रपति बसार अल असदको सरकारलाई समर्थन गरिरहेको छ भने अमेरिका असदले सत्ता छाड्नुपर्ने पक्षमा उभिएको छ ।- एजेन्सी

प्रतिक्रियाहरु