निर्धक्क भएर नेपाल भ्रमण गरौं : जुन्को ताबेई

२०७२ आश्विन ६ गते, बुधबार

काठमाडौं, ६ असोज । प्रथम महिला सगरमाथा आरोही जुन्को ताबेईले भूकम्पले नेपालको पर्यटकीय क्षेत्रमा खासै असर नगरेको भन्दै निर्धक्क भएर नेपाल भ्रमण गर्न विश्वभरका पर्यटकलाई आग्रह गरेकी छिन । सगरमाथा आरोहण गरेको ४० वर्ष पुगेको अवसरमा केही दिन अघि काठमाडौं आएकी ताबेईले जापान फर्कनु अघि हामीसँग कुरा गर्दै आफूले नेपालका विभिन्न पर्यटकीय स्थल र सोलुखुम्बुको स्याङ्गबोचेसम्मको पैदल भ्रमण गरेको बताउँदै सगरमाथासम्म जाने मार्गहरुमा पनि भूकम्पले कुनै असर नगरेको बताइन ।
ताबेईले पर्यटन विकासको लागि सेप्टेम्बर २४ मा जापानको राजधानी टोकियोमा आयोजना हुन लागेको विश्वभरका ट्राभल एजेन्सीको भेलामा नेपालको पर्यटन सुरक्षित रहेको विषयमा आफूले जानकारी गराउने र सबैलाई नेपाल भ्रमणका लागि आग्रह गर्ने बताइन ।
सन् २०११ मा जापानमा गएको भूकम्पलाई स्मरण गर्दै उनले गत मे मा नेपालमा गएको भूकम्प नेपालको पर्यटकीय क्षेत्रमा खासै असर नगर्नु पर्यटकका लागि सुखद् भएको बताइन ।
उनले जापान फर्केपछि आफूले निर्धक्क भएर नेपाल जानका लागि सबैलाई आग्रह गर्ने बताइन । पछिल्ला दिनमा सगरमाथा चढ्ने व्यक्तिहरुको संख्या बढ्दै जाँदा त्यस क्षेत्रमा फोहोर बढेको भन्दै यसतर्फ नेपाल सरकारले विशेष ध्यान दिनुपर्ने उनको सुझाव छ ।
ताबेईले २०३२ साल जेठ २ गते पहिलो महिला सगरमाथा आरोहीका रुपमा सगरमाथाको सफल आरोहण गरेकी थिएन । सगरमाथा आरोहणको ४० औं वर्षगाँठ मनाउन आफ्ना श्रीमान्, छोरी र छोरासहित नेपाल आएकी ताबेई बुधबार स्वदेश फर्कँदै छिन ।
उनले आफ्नो ७६ औं जन्मदिन नेपालमै मनाइन । नेपालमा महाभूकम्प गएलगत्तै खस्किएको पर्यटन क्षेत्रलाई पूर्ववत् अवस्थामा फर्काउन सरकारले नेपाल पर्यटन बोर्डको सिफारिमा ताबेई सहित १७ जना चर्चित विदेशीहरुलाई मानार्थ सद्भावना दूत घोषणा गरेको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु