आज गैंडा दिवस

२०७२ आश्विन ५ गते, मंगलवार

काठमाडौं, ५ असोज । आज गैंडा दिवस ,विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसका सन्दर्भमा ठूलो कार्यक्रम गर्नुभन्दा पनि संरक्षण कसरी प्रभावकारी गराउन सकिन्छ भन्ने विषयमा ध्यान दिएको चितवन निकुञ्जले बताएको छ । सन् २०१५ मा गरिएको गैंडा गणनामा नेपालमा ६४५ गैंडा रहेको तथ्याङ्क छ । चितवन राष्ट्रिय निकुञ्जमा मात्रै ६०२ गैंडा भेटिएका छन् ।
चितवनमा अघिल्लो सन् २०११ को गैंडा गणनाभन्दा अहिले १०२ वटा गैंडा बढेको निकुञ्जले जनाएको छ । “यो सबै सामूहिक प्रयासको प्रतिफल हो”, निकुञ्जका प्रवक्ता एवम् सहायक संरक्षण अधिकृत टीकाराम पौडेलले भने , “स्थानीय जनता, सुरक्षा निकाय, प्रशासन, निकुञ्ज कर्मचारी, सेनालगायत यसमा सबैको सहभागिता छ ।”
चितवनमा तीनपटक शून्य चोरी सिकार वर्ष मनाइएको छ । बाघ संरक्षणमा महत्वपूर्ण भूमिका खेलेको भन्दै निकुञ्जलाई अन्तर्राष्ट्रियस्तरको ‘क्याट्स अवार्ड’ समेत दिइएको छ । पछिल्लो समयमा चोरी सिकारका घटना नभएकाले यसैलाई कायम राख्न पनि निकुञ्जलाई चुनौती छ । त्यसैले संरक्षण कार्य प्रभावकारी बनाउने विषयमै संरक्षणकर्मीको ध्यान गइरहने गरेको निकुञ्जको भनाइ छ ।
चितवन निकुञ्जमा नेपालमै पहिलो प्रकृति संरक्षण शिक्षालय स्थापना गरेर प्रशिक्षणसमेत दिन थालिएको छ । यो संरक्षणको अर्काे उपलब्धि भएको निकुञ्जका प्रमुख कमलजङ्ग कुँवर बताउछन ।
चितवन निकुञ्जमा सन् २००० मा ५४४ गैंडा थियो । २००५ मा पुग्दा चोरी सिकार अत्यधिक भयो र सङ्ख्या घटेर ३७२ मा झरेको थियो ।
सन् २००८ मा बढेर ४०८ पुगेको गैंडाको सङ्ख्या सन् २०११ मा पुग्दा ५०३ पुगेको थियो । अहिले १०२ थपिएर ६०५ गैंडा पुगेको तथ्याङ्क हालैको गणनाले देखाएको छ । यसरी गैंडा बढिरहेको भए पनि बासस्थान संरक्षणमा चुनौती भने थपिँदो छ ।
निकुञ्जमा मिचाहा प्रजातिको झार, घाँसै मैदान घट्दै जानु र मानवीय चाप बढ्नाले संरक्षणमा चुनौती थपिँदै गएको निकुञ्जको भनाइ छ । चितवन निकुञ्जमा गैंडा बाघ अवलोकनकै लागि विदेशी र स्वदेशी पर्यटक आउने गरेका छन् ।
गएको वर्षको तथ्याङ्क हेर्ने हो भने निकुञ्जमा एक लाख ७८ हजार पर्यटकले निकुञ्ज घुमेका र उनीहरुबाट कुल रु साँढे २५ करोड बढी राजस्व सङ्कलन भएको छ ।
यो सबै संरक्षित वन्यजन्तुकै कारण भएको हो । त्यसैले संरक्षणमा सबैको हातेमालो आवश्यक भएको निकुञ्जले जनाएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु