कागेश्वरीमा भक्तजनको भीड

२०७२ आश्विन ४ गते, सोमबार

काठमाडौँ, ४ असोज । कागको छुवाइ र बिष्टयाइँबाट हुने अनिष्टबाट बच्नका लागि काठमाडौँको उत्तरपूर्वी भेगस्थित कागेश्वरी मनोहरा नगरपालिका–१ मा रहेको कागेश्वर महादेव मन्दिरमा हजारौँ भक्तजनको भीड लागेको छ ।
शिवपुरी नागार्जुन राष्टिय निकुञ्जको जङ्गलमा कागेश्वरी खोलाको किनारमा रहेको कागेश्वर महादेवको मन्दिरमा गई भाद्र शुक्ल अष्टमीका दिनमा पूजाआजा गरी हरियो मकै चढाएमा कागको स्पर्शबाट हुने अनिष्टबाट बच्न सकिने धार्मिक विश्वास रहिआएको छ ।
यही विश्वासका आधारमा कागेश्वरीमा हजारौँ भक्तजनको भीड आजका दिनमा लाग्ने गरेको कागेश्वरी मेला मूल व्यवस्थापन समितिका अध्यक्ष कुमार लामाले बताउनुभयो । यसैकारण आजको अष्टमीलाई कागे अष्टमी पनि भन्ने गरिएको छ ।
यस स्थानमा कागेश्वर महादेव उत्पत्तिका सम्बन्धमा विभिन्न किम्बदन्ती रहेको स्थानीय बृद्ध ध्रुवप्रसाद ढकालले बताउनुभयो । प्राचीनकालको एक किम्बदन्तीअनुसार महादेव कैलाशबाट हराएपछि ब्रह्मा, विष्णु, इन्द्र र पार्वती महादेवलाई खोज्न निस्कँदा यही स्थानमा आएपछि कागले सूचना दिएको थियो ।
“कागको सूचनाका आधारमा महादेव फेला परेपछि यो स्थानलाई कागेश्वर महादेवका रुपमा स्थापित गरिएको थियो”–अध्यक्ष लामाले भन्नुभयो ।
लिच्छविकाल अगाडि यो ढुङ्गामा आएर एउटा गाईले दैनिकरुपमा दूध थुनबाट सिधै चढाउन थाल्यो । अर्को गाईले कागेश्वरी वरपर दूध चढाउँथ्यो, त्यो दूध कागले ल्याएर ठूलो ढुङ्गामा चढाउन थालेपछि यो देवस्थल हो भनी कागेश्वर महादेवको स्थापना गरिएको स्थानीय बाल उद्धार माविका सहायक प्रधानाध्यापक कमल ढकालले जानकारी दिनुभयो ।
यो स्थानमा पहिले सुनको काग भए पनि त्यो हराएर अहिले पित्तलको काग राखिएको छ । यो मन्दिरको दैनिक पूजाआजा चलाउनका लागि लिच्छविकालबाटै तीन चार सय रोपनी जग्गा गुठीका रुपमा राखिए पनि समय क्रममा त्यो जग्गा टाठाबाठाले खाइदिए । हाल मन्दिरको आयस्तर केही नभएको पुजारी रामेश्वर चालिसेको गुनासो छ ।
धार्मिक, ऐतिहासिक, पर्यटकीय दृष्टिले महत्वपूर्ण यो मन्दिरको संरक्षणका लागि सरकारले उचित सहयोग गरी दिनुपर्ने स्थानीय बासिन्दाको माग छ ।
यो महादेव मन्दिरलाई स्थानीय तामाङ समुदायले आफ्नो इष्ट देवताका रुपमा मान्ने गरेको स्थानीय दलबहादुर तामाङले बताउनुभयो । तामाङ समुदायको धार्मिक विश्वासमा यो महादेवको उत्पत्तिका सम्बन्धमा फरक किम्बदन्ती छ । जसअनुसार परापूर्वकालमा यहाँ बसोबास गर्ने दुईजना तामाङ बूढाबूढीलाई खेतबारीमा उब्जनी कम भएका कारण बसाइँ सर्नुपर्ने समस्या आइप¥यो ।
बूढाबूढी अन्तै बसाइँसराइ गरी जान लागेपछि कागले “ए बा अन्त बसाइँसराइ गरी नजानुस् गाई ल्याएर पाल्नुस्”– भनेपछि बूढाबूढीले गाई ल्याएर पाल्न थाले ।
बूढाबूढीले पालेको गाईको दूधको तर कुँडेबाटै कागले लगी ठूलो ढुङ्गामा चढाउन थालेपछि यो स्थानमा शक्ति रहेछ भनी कागेश्वर महादेव नामकरण गरी पूजाआजा एवम् दर्शन गर्ने परम्परा बसालिएको कथा आफ्ना पुर्खाबाट सुन्दै आएको तामाङ बताउनुहुन्छ ।
“कागेश्वर महादेवको केहीमुनि १७ वर्षअघि पार्वतीको उत्पत्ति भएपछि यस स्थानमा भक्तजनको सङ्ख्या बढ्ने गरेको छ”– स्थानीय डोल्मा तामाङले भन्नुभयो “यहाँ पार्वतीको योनी आकार उत्पत्ति भएको छ, योनी आकारमा पनि भक्तजनले आजैको दिन पूजाआजा गर्छन्” ।
सानै उमेरदेखि निरन्तर मन्दिरमा दर्शनका लागि आउनुभएका सुन्दरीजलका स्थानीय शिवराम दाहाल पहिले यतिधेरै भीड नभए पनि विगत केही वर्षदेखि लाखौँ मानिस पूजा एवम् दर्शनका लागि आउने गरेको बताउनहुन्छ ।
यहाँको प्राकृतिक सौन्दर्यता पनि मनमोहक छ । कागेश्वर महादेवको मन्दिरमुनि र माथिसमेत आकर्षक छहरा एवम् झर्नाले यहाँ आउने जोसुकैको मन लोभ्याउँछ ।
कागे अष्टमी मेलाको अवसर पारेर सभासद् रामेश्वर फुयालले कागेश्वरी धाम निर्माणको प्रस्तावसहित गत वर्षदेखि हस्ताक्षर अभियान सुरु गर्नुभएको छ । “गुरुयोजना नै बनाएर कागेश्वरी धामको निर्माण र विकास गर्नसके धार्मिक पर्यटन प्रवद्र्धन हुने भएकाले काममा जुटेका छौँ”– उहाँले भन्नुभयो । कागेश्वरीलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकसित गर्न सरकारलाई पनि ध्यानाकर्षण गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।
बौद्ध धर्मावलम्बीले भने कागेश्वरी महादेवलाई गुरु मानी झाँक्री बन्न चाहने नयाँ शिष्यलाई आजको दिन कागेश्वरी महादेवलाई साक्षी राखी गुरुमन्त्र दिने गरेको बज्रयोगिनी घुमारचोकबाट आउनुभएका लामा गुरु च्याङ्बा लामाले बताउनुभयो । “झाँक्रीले भूतप्रेत आदि दुष्ट आत्माबाट मानिसलाई बचाउने धार्मिक विश्वास तामाङ समुदायमा अझै रहेकाले पनि यो स्थानको संरक्षण गरिनुपर्छ”– उहाँले भन्नुभयो ।
आजको दिनमा आफ्नो खेतबारीमा फलेको मकै यहाँ ल्याएर चढाएमा कागले खेतबारीमा गई मकै खाँदैन भन्ने विश्वाससमेत रहिआएको छ ।
यसैको प्रतिमूर्तिस्वरुप काठमाडौँको हनुमानढोकामा कागेश्वर मन्दिर स्थापना गरिएको छ । त्यहाँ पनि आज र काग तिहारका दिन भव्य मेला लाग्ने गर्छ । पूर्णप्रसाद मिश्र/रासस

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु