केसीको अनसन स्थगित

२०७२ भाद्र २५ गते, शुक्रबार

काठमाडौ, २५ भदौ । सरकारले डा. गोविन्द केसीलाई पत्र पठाएपछि आजदेखि पुनः थाल्ने भनेको अनसन रोकेका छन् । सरकारलार्इ एक हप्ताकाे अल्टिमेटम दिँदै केसीले एक हप्ता पर्खने भएका हुन् । मेडिकल शिक्षामा भएको विसंगतिको विरोधमा पटक पटक अनसन बस्दै आएका डा. केसीको पछिल्लो पटकको अनसनपछि भएको सहमति कार्यान्वयन नभएको भन्दै शुक्रबारदेखि फेरि अनसन बस्ने तयारी गरेका थिए ।
सरकारका तर्फबाट सम्झौता कार्यान्वयनमा गम्भीरताका साथ लाग्ने वचनबद्धतासहित एक पत्र प्राप्त भएकोले माग सहमति कार्यान्वयनका लागि एक हप्ताको समय दिँदै केसीले तत्काल अनसन नबस्ने जनाएका छन् ।
सम्झौतालाई मन्त्रीमण्डलबाट पारित गरेर त्यसबमोजिम चिकित्सा शिक्षा आयोग बनाउन तथा मेडिकल शिक्षामा सिट र शुल्क लगायतका केही महत्वपूर्ण बुँदा कार्यान्वयनका लागि सम्बन्धित निकायलाई निर्देशन दिन सरकारलाई थप एक हप्ताको समय दिने केसीले बताए ।
सरकारले नै मेडिकल शिक्षामा भएको विसंगति हटाउन भन्दै गठन गरेको माथेमा आयोगले तयार पारेको प्रतिवेदन कार्यान्वनयमा ल्याउन माग गर्दै केसी पछिल्लो पटक अनसन बसेका थिए । लगत्तै बस्ने मन्त्री परिषदको वैठकले चिकित्सा शिक्षा आयोग गठन गर्ने सरकारको सहमतिपछि केसीले १४ दिनपछि अनसन स्थगित गरेका थिए ।
आफूसँग भएको सहमति कार्यान्वयन नगरे आगामी असोज १ देखि पुनः अनसन बस्ने भन्दै केसीले अल्टिमेटम दिएका छन् ।

प्रतिक्रियाहरु