आज आत्महत्या रोकथाम दिवस

२०७२ भाद्र २४ गते, बिहीबार

काठमाडौं, २४ भदौ । आज विश्व आत्महत्या रोकथाम दिवस, आत्महत्या रोकौः उनीहरुको नजिक जाऔं र जीवन बचाऔ भन्ने नाराका साथ सचेतनामूलक कार्यक्रमका साथ मनाईंदैछ । नेपाल सहित विश्वका धेरै देशमा आत्महत्या गर्नेको संख्या बढ्दै गएपछि यसको रोकथाममा चुनौती बढ्दै गएको छ ।
विश्व स्वास्थ्य संगठनको तथ्याङ्क अनुसार विश्वमा हरेक वर्ष ८ लाख मानिसले आत्महत्या गर्ने गरेका छन् । जसमध्ये सरदर ४० सेकेण्डमा एक व्यक्तिको ज्यान जाने गरेको छ । तथ्याङ्क अनुसार विश्वमा गैर कानुनी अपराधबाट भन्दा आत्महत्या गर्नेको संख्या बढ्दै गएको पाइएको छ । वैशाख १२ गतेको भूकम्पपछि नेपालमा आत्महत्या गर्नेको संख्या बढ्दै गएको प्रहरीले जनाएको छ ।
प्रहरीको तथ्याङ्क अनुसार २०७१/७२ सालमा ४ हजार ३ सय ५० जनाले आत्महत्या गरेका छन् । बाढी पहिरो तथा भूकम्प जस्ता प्राकृतिक विपदमा परेकामध्ये धेरैजसोमा मानसिक तनाव र निराशा पाइएकाले आत्महत्या गर्नेको जोखिम बढ्न सक्ने अनुमान गरिएको छ । गरिबी, बेरोजगारी, अशिक्षा, तनाव, प्रेममा असफल जस्ता कारण आत्महत्याको मुख्य कारक मानिएको छ । विश्व स्वास्थ्य संगठन र आत्महत्या रोकथामका लागि अन्तर्राष्ट्रिय संघले यसवर्ष आत्महत्या रोकथाम गर्न मुख्य प्रतिबद्धता जनाएका छन् । निराश भएकाको नजिक गई र समस्या समाधानमा सहयोग गरे आत्महत्यालाई रोक्न सकिने विज्ञले बताएका छन् ।

प्रतिक्रियाहरु