जुम्लामा कर्फ्यु कायमै

२०७२ भाद्र १ गते, मंगलवार

काठमाडौं , १ भदौं । जुम्लामा गत आइतबार साँझदेखि लगाइँदै आइएको कर्फ्यु आदेश मंगलबार पनि जारी रहेको छ । स्वायत्त कर्णाली प्रदेशको माग गर्दै जुम्लामा भइरहेको प्रदर्शनले उग्ररुप लिएसँगै मंगलबार पनि कर्फ्यु आदेश जारी गरिएको हो । मंगलबार बिहान ६ बजेदेखि ८ बजेसम्म दुई घन्टाका लागि कर्फ्यु आदेश हटाएर पुनः लगाइएको स्थानीय प्रशासनले जनाएको छ । मंगलबार दिउँसो कर्फ्युको अवज्ञा गर्दै स्थानीयले प्रदर्शन गर्न खोजेपछि प्रहरी र आन्दोलनकारीबीच ठाउँ–ठाउँमा झडप भएको छ । झडपमा १० प्रहरी र ५ जना आन्दोलनकारी घाइते भएको जनाइएको छ । खलंगा बजार क्षेत्रमा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ । प्रदर्शनकारीले दिनहुँ कर्फ्यु तोड्नेदेखि हुलदंगा गर्ने र सरकारी भौतिक संरचनामा आगजनी गर्ने कार्य गरिरहेकोले कर्फ्यु फिर्ता लिन नसकिने प्रमुख जिल्ला अधिकारी दीपेन्द्रराज पौडेलले जानकारी दिए । गाउँमा प्रहरीचौकी घेर्नेदेखि साइनबोर्ड फयाक्नेसम्मको कार्य भएपछि गाउँमा रहेका प्रहरीचौकी खाली हुन थालेका छन् । १० दिनदेखिको बन्दको कारण जुम्लामा शैक्षिक संस्था, बजार, कलकारखानासहित हवाई सेवासमेत ठप्प बनेको छ । जिल्लामा खाद्यान्न अभाव देखिएको छ भने सरकारी कार्यालयदेखि जिल्लामा रहेको एकमात्र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको ओपिडि सेवासमेत बन्द रहेको छ । जिल्लामा क्रियाशील सबै राजनीतिक दलहरुको साथै गाउँ–गाउँबाट सर्वसाधारण सदरमुकाम केन्द्रित भएर प्रदर्शन सुरु गरेपछि आन्दोलन हिंसात्मक बन्दै गएको हो । विशेष अधिकारसहितको कर्णाली राज्यको माग गर्दै जुम्लामा आन्दोलन सुरु भएको हो । कर्णाली अञ्चलका अन्य जिल्ला हुम्ला, मुग, कालिकोट र डोल्पामा पनि बन्द जारी छ ।

प्रतिक्रियाहरु