सुदूर पश्चिम बन्द जारी

२०७२ भाद्र १ गते, मंगलवार

काठमाडौं, १ भदौं । दुइ सातादेखिको बन्दका कारण सुदूर पश्चिमको जनजीवन नराम्ररी प्रभावित बनेको छ । अखण्ड सुदुरपश्चिम पक्षधर र थारु कल्याणकारी सभाले गरेको दोहोरो बन्दको कारण यस भेगकै जनजीवन चौपट बनेको हो । कैलाली–कञ्चनपुरलाई थारुवान राज्य बनाउनुपर्ने माग गर्दै थारु कल्याणकारी सभाले बन्दको आह्वान गरेको हो भने सुदुरपश्चिमका सात पहाडी जिल्ला अखण्ड राखिनुपर्ने माग गर्दै अखण्ड सुदुरपश्चिम पक्षधरले बन्दको आह्वान गरेका हुन् । बन्दका कारण सुदूरपश्चिमकै ९ जिल्लामा यातायात र शैक्षिकसंस्था ठप्प बनेका छन् । पसल भने आंशिकरुपमा सञ्चालनमा छन् । बन्दका कारण भारतबाट आउने यात्रु, दैनिक मजदुरी गरी जिविका चलाउने मजदुर र सर्वसाधारण बढी मारमा परेका छन् । लगातारको बन्दका कारण कैलाली–कञ्चनपुरसहित पहाडी जिल्लाहरुमा इन्धन, खाद्यान्न र ग्यांसको अभाव भएको छ ।
यसैबीच, सोमबार धनगढीमा थारु कल्याणकारी सभाले आयोजना गरेको आमसभालाई विभिन्न दलका नेताहरुले सम्बोधन गरेका छन् । वैद्य माओवादीका सचिव देव गुरुङ, रानाथारु संघर्ष समितिका संयोजक मालामती राना, नेपाली काँग्रेसका सभासद तेजुलाल चौधरी लगायतले सम्बोधन गरेका थिए । थरुहट पक्षधरको सभा अवरोध गर्न अखण्ड सुदूरपश्चिम पक्षधरले ठाउँमा ठाउँमा प्रदर्शन गरेका थिए । केही ठाउँमा दुई पक्षबीच दोहोरो झडप समेत भयो भने प्रहरीले थुप्रै सेल अश्रुग्यास प्रहार गरेको थियो ।

प्रतिक्रियाहरु