पूर्वका नौं जिल्ला बन्द

२०७२ श्रावण २८ गते, बिहीबार

काठमाडौं, २८ साउन ।संघीय लिम्वुवान पार्टी नेपालले सरकारसँग भएका पटक–पटकका सहमति कार्यान्वयन नगरी पहिचानविनाका प्रदेश निर्माण गरिएको भन्दै आज पूर्वका नौ जिल्ला बन्द आह्वान गरेको छ । पूर्वी नेपालको अरुण सप्तकोशी पूर्वका नौ जिल्लासहितको लिम्बुवान राज्य माग गर्दै संघीय लिम्बुवान पार्टी नेपालले बन्द आह्वान गरेको हो । बन्दका कारण सुनसरी, मोरङ, झापा, इलाम, पाँचथर, ताप्लेजुङ, संखुवासभा, ते¥हथुम र धनकुटा जिल्लाको जनजिवन प्रभावित बनेको छ ।
बन्दका कारण यी जिल्लामा शैक्षिकसंस्था, बजार, कलकारखाना र यातायात ठप्प बनेका छन् । लिम्बुवान कार्यकर्ताले विहानैदेखि सडकमा निस्किएर प्रदर्शन शुरु गरेका छन् । बन्दका कारण पूर्वका धरान, इटहरी, विर्तामोड, दमक, काकडभिट्टा लगायतका मुख्य बजारहरु पूर्णरुपमा बन्द भएका छन् ।
लिम्बुवान राज्य माग गरिरहेको अबस्थामा सत्तारुढ दलहरु कांग्रेस, एमाले प्रतिपक्षमा रहेको एमाओवादी र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका प्रमुख नेताहरुको सहमतिमा थप ५ जिल्ला थप गरेर १ नम्बर प्रदेशको अवधारण ल्याउनु स्वागत योग्य भए पनि प्रदेशको नामांकन गर्दा लिम्बुवान राज्य घोषणा गराउनका लागि दवाद दिने उद्देश्यले लिम्बुवान बन्दको घोषणा गरिएको लिम्बुवान पार्टीले जनाएको छ ।
यसैगरी, छुट्टै थरुहट प्रदेशको माग राखेर थरुहट तथा थारुवान संघर्ष समितिले आह्वान गरेको बन्दको कारण आज दोस्रो दिन पनि तराईका २२ जिल्ला ठप्प बनेका छन् । बन्दका कारण थारुहरुको वाहुल्यता रहेका दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरसहित कपिलबस्तु, रुपन्देही र नवलपरासीसम्मको जनजीवन प्रभावित बनेको हो ।ती जिल्लामा उद्योग, कलकारखाना, शिक्षण संस्थाहरु सञ्चालन हुन सकेका छैनन् भने यातायात पनि न्युन मात्रामा चलेका छन् ।
बन्दकर्ताहरुले ठाउँठाउँमा प्रदर्शन जारी राखेका छन् । थारुहरुको पहिचान कायम राख्न माग गर्दै आह्वान गरिएको बन्द साउन ३२ गतेसम्म जारी रहने संघर्ष समितिले जनाएको छ ।
उता, आठ दिनदेखिको बन्दका कारण सुदूर पश्चिमको जनजीवन थप कष्टकर बनेको छ ।
कैलाली–कञ्चनपुरलाई थारुवान राज्य बनाउनुपर्ने माग गर्दै थारु कल्याणकारी सभाले सात दिन यता बन्द गराउँदै आएको छ भने त्यसअघि अखण्ड सुदूरपश्चिम पक्षधरले बन्द गराएका थिए ।
आठ दिनदेखिको बन्दका कारण सर्वसाधारणको दैनिकी चौपट बनेको छ भने भारतबाट नेपाल फर्कने यात्रु र मजदूरहरुको बिचल्ली भएको छ ।
बन्दका कारण सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा खाना पकाउने ग्यास, पेट्रोल र खाद्यान्न अभाव हुन थालेको छ । यता, अखण्ड राप्तीको माग गर्दै रुकुम र सल्यानमा पनि मंगलबारदेखि गरिएको बन्द कायमै छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु