तराईका २२ जिल्ला बन्द

२०७२ श्रावण २७ गते, बुधबार

काठमाडौ, २७ साउन । थरुहट तथा थारुवान संघर्ष समितिले छुट्टै थरुहट प्रदेशको माग गर्दै आजदेखि तराईका २२ जिल्ला बन्दको आह्वान गरेका छन् । थारुहरुको वाहुल्यता रहेका दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरसहित कपिलबस्तु, रुपन्देही र नवलपरासीसम्म बन्द आह्वान गरिएको हो । बन्दका कारण तराईका २२ जिल्ला प्रभावित भएका छन् । यी जिल्लामा उद्योग, कलकारखाना, शिक्षण संस्थान ठप्प भएका छन् । यातायातका साधन पनि सञ्चालन हुन सकेका छैनन् । बन्द आह्वानकर्ताहरुले बिहानैदेखि ठाउँगाउँमा प्रदर्शन गरिरहेका छन् । थारुहरुको पहिचान कायम राख्न माग गर्दै आह्वान गरिएको बन्द ३२ गतेसम्म जारी रहने संघर्ष समितिले जनाएको छ । प्रदेशको सिमांकन गर्दा दलहरुले थारुहरुलाई अवहेलना गरेकाले दलीय निर्णय मान्न नसकिने जिकीर थारु समुदायका अगुवाहरुको छ । उनीहरुले थारुहरुको पहिचान र अधिकार सुनिश्चित हुने गरी प्रदेश सिमांकनको माग गरेका छन् ।
उता, सात दिनदेखिको बन्दका कारण सुदूरपश्चिमको जनजीवन थप कष्टकर बनेको छ । कैलाली–कञ्चनपुरलाई थारुवान राज्य बनाउनुपर्ने माग गर्दै थारु कल्याणकारी सभाले ६ दिन यता बन्द गराउँदै आएको छ भने त्यसअघि अखण्ड सुदूरपश्चिम पक्षधरले बन्द गराएका थिए । थारु कल्याणकारी सभाको बन्द कैलाली र कञ्चनपुरमा मात्र भए पनि त्यसको आंशिक प्रभाव सुदूरपश्चिमका ९ वटै जिल्लामा परेको छ । कैलाली र कञ्चनपुर बाहेकका जिल्लामा बजार खुले पनि लामो दूरिका सवारी साधन सञ्चालनमा आउन सकेका छैनन् । कैलाली र कञ्चनपुरमा भने बजार, यातायात, कलकारखाना र शैक्षिकसंस्था समेत ठप्प बनेका छन् । सात दिनदेखिको बन्दका कारण सर्वसाधारणको दैनिकी चौपट बनेको छ भने भारतबाट नेपाल फर्कने यात्रु र मजदूरहरुको बिचल्ली भएको छ । उता, बन्दको कारण कञ्चनपुरमा खाना पकाउने ग्यास र पेट्रोलियम पर्दाथको अभाव भएको छ ।
यसैबीच अखण्ड राप्तीको माग गर्दै रुकुम र सल्यानमा पनि मंगलबार देखि गरिएको बन्द कायमै छ । बन्द आह्वानकर्ताहरु बुधबार पनि बिहानैदेखि प्रदर्शनमा उत्रिएका छन् । बन्दका कारण रुकुम र सल्यानको जनजीवन प्रभावित भएको छ ।

प्रतिक्रियाहरु