संविधानसभामा घम्साघम्सी

२०७२ श्रावण २६ गते, मंगलवार

काठमाडौं,२६ साउन । आजदेखि संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले पेश गरेको संविधानको पहिलो मस्यौदामाथिको परिमार्जित प्रतिवेदनमा माथि संविधानसभामा छलफल सुरु भएको छ । संवाद समितिका सभापति डा. बाबुराम भट्टराईले पहिलो मस्यौदामाथिको परिमार्जित प्रतिवेदनमाथि छलफल होस भन्ने प्रस्ताव राखेपछि त्यसमाथि छलफल सुरु भएको हो । तर राप्रपा नेपाल र केही मधेस केन्द्रित दलले भने प्रस्तावित परिमार्जित मस्यौदामाथिको छलफल बहिस्कार गरेका छन् । छलफल सुरु हुनुअघि संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले प्रदेशको सिमांकन जनभावनाअनुरुप नभए देशैभर विद्रोह हुने चेतावनी दिए । उनले सुर्खेतमा मान्छे मारिएका, जुम्लालगायतका स्थानमा दमन गरिएको भन्दै अब देशका अन्य क्षेत्रमा पनि विद्रोह हुने बताए । जनतालाई दमन गरेर संविधान जारी गर्छौं भन्ने भ्रम भए त्यसलाई हटाउन सुझाव दिँदै उनले चार दलका नेता आफैं बर्दि लगाएर बन्दुक बोकेर गए पनि जनतालाई रोक्ने नसक्ने चेतावनी दिए ।
राप्रपा नेपालका प्रमुख सचेतक दिलनाथ गिरीले धार्मिक स्वतन्त्रतासहितको सनतान हिन्दू राज्य घोषित नगरिए देशमा विद्रोह हुने र ९४ प्रतिशत जनताले संविधान अस्विकार गर्ने चेतावनी दिए ।
राप्रपा नेपाल र मधेस केन्द्रीत दलका ५९ सभासद्ले बहिस्कार गरे पनि मस्यौदामाथिको छलफल भने जारी रहेको छ ।
छलफलमा सहभागी १६ बुँदे सम्झौताका हस्ताक्षरकर्ता दलकै सभासदले पनि आपत्ति जनाएका छन् । तर उनीहरुले असन्तुष्टिका बीच संविधान जारी गर्नुपर्ने बताएका छन् ।
यसअघि मंगलबार ९ बजे बसेको संविधानसभाको बैठकले राष्ट्रिय सभाका पूर्वसांसद् तथा वरिष्ठ राजनीतिज्ञ राजेश्वर देवकोटाको निधनमा शोकप्रस्ताव पारित गरेको छ । बैठकमा अध्यक्ष सुवासचन्द्र नेम्वाङले राखेको शोक प्रस्ताव पारित गरेको हो । त्यसपछि एक घण्टाका लागि बैठक स्थगित गरिएको थियो ।

प्रतिक्रियाहरु