सुर्खेतमा कर्फ्यु

२०७२ श्रावण २५ गते, सोमबार

काठमाडौं,२५ साउन । अखन्ड मध्यपश्चिमको माग गर्दै सुर्खेतमा भएको प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागि एकजनाको मृत्यु हुनुको साथै अन्य घाइते भएका छन् । कांग्रेस सहमहामन्त्री पूर्णबहादुर खड्काको घर अगाडि प्रहरीसँग झडप भएको र त्यसक्रममा प्रहरीले चलाएको गोली लागि ४५ वर्षीया टीकाराम गौतमको निधन भएको जनाइएको छ । प्रहरीले प्रदर्शनकारीहरुलाई नियन्त्रणमा लिन थुप्रै सेल अश्रुग्यास पनि प्रहार गरेको छ । अखन्ड मध्यपश्चिम कायम गर्न माग गर्दै भएको आन्दोलन उग्र हुँदै गएपछि स्थानीय प्रशासनले सोमबार दिउँसो १ बजेदेखि राति ९ बजेसम्म वीरेन्द्रनगरमा कफ्र्यु आदेश जारी गरेको छ ।प्रमुख चार दलबीच सीमांकनसहितको ६ प्रदेशमा सहमति भएपछि देशका विभिन्न जिल्लाहरुमा पनि प्रदर्शन भइरहेको छ । कैलाली र कन्चनपुरलाई थारुवान राज्यमा समावेश गरिनुपर्ने माग बढेको छ । यसैगरी रुकुम र नवलपरासीलाई टुक्र्याइएको विरोधमा पनि प्रदर्शन भइरहेको छ ।
केही जिल्लामा हिन्दूवादी विभिन्न संघसंस्थाहरुले समेत विरोध प्रदर्शन गरिरहेका छन् । विरोध र प्रदर्शनका कारण विभिन्न जिल्लाको जनजीवन प्रभावित भएको छ ।

प्रतिक्रियाहरु