काठमाडौँ जोड्ने सडक ठाउँठाउँमा अवरुद्ध

२०७२ श्रावण १४ गते, बिहीबार

काठमाडौं, १४ साउन । अविरल वर्षाका कारण ठाउँठाउँमा पहिरो जाँदा काठमाडौँ आउने जाने पृथ्वी राजमार्ग र काठमाडौँ हेटौडा सडकका विभिन्न सडकखण्ड अवरुद्ध भएका छन् । काठमाडौं छिर्ने मुख्य नाका नागढुंगा र अरु वैकल्पिक नाकाबाट समेत गाडीको आवागमन प्रभावित भएको ट्राफिक प्रहरीले जनाएको छ ।
धादिङको जोगिमारामा बुधबार राती पहिरो खस्दा नागढुंगा हुँदै काठमाडौं भित्रिने र बाहिरिने गाडी ठप्प भएका छन । पानी पर्न छोडेपछि अहिले त्यहाँ बाटो एकतर्फी खुलाउने प्रयास भैरहेको ट्राफिक प्रहरीले जनाएको छ । यस्तै काठमाडौं हेटौंडा सडकखण्डमा पनि ठाउँ ठाउँमा पहिरो खसेको छ । एक दुईवटा साना गाडी जोखिम मोलेर वारपार गरे पनि चारपाङग्रे गाडी चल्न नसकेको प्रहरीले जनाएको छ ।
यस्तै काठमाडौंबाट नुवाकोट जाने आउने गाडी पनि चल्न सकेका छैनन । नुवाकोटको मुड्कु सडकखण्डको ३५ किलोमा लगातारको झरीका कारण सडक माथिको पहाड चिरा परेर खस्ने अवस्थामा रहेकाले जोखिम बढेको छ । भूकम्पले धेरै क्षती पुर्‍याएको त्यस सडकखण्डमा यसअघि बाटोमाथिको पहाडबाट ढुंगा खस्दा ४ जना यात्रुको ज्यान गएको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु