सुन तोलाको ४८ हजार

२०७२ श्रावण ६ गते, बुधबार

काठमाडौं ,६ साउन । सुनको भाउ चार वर्ष यताकै कम मूल्यमा झरेको छ । आज सुनको भाउ तोलामा १५ सय रुपैयाँ घटेर ४८ हजारमा झरेको छ । आइतबार सुन तोलाको ४९ हजार ५ सय रुपैयाँमा किनबेच भएको थियो । यसअघि २०६८ साउन २३ गते सुन ४७ हजार ५ सय रुपैयाँमा किनबेच भएको थियो । त्यसयता सुनको भाउ ४८ हजार रुपैयाँ झरेको थिएन ।
यस बिचमा सुन २०७० असार १४ गते ४८ हजार एक सय रुपैयाँमा झरेपनि पछि विस्तारै उकालो लागेको थियो । सुनको भाउ अोरालो लाग्नुको मूख्य कारण अन्तर्राष्ट्रिय बजार भाउ घट्नुका साथै साउनदेखि नेपालमा अायात भन्सार दर एक हजार रूपैयाँले घटाइनु रहेको छ ।
सरकारले सुनको भन्सार घटाएपछि साउन महिनामा सुनको भाउ हृवात्तै घटेको छ । साउनअघि पनि अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ ओरालो लागेपछि नेपाली बजारमा पनि सुनको भाउ विस्तारै अोरालो लागिरहेको थियो ।
अन्तर्राष्ट्रिय बजार भाउ र भन्सार दर एकैपटक घट्दा सुनकाे भाउ अोरालो लागेको नेपाल सुनचाँदी व्यवसायी महासंघका महासचिव दियेशरन्त शाक्यले बताए । अन्तर्राष्ट्रिय बजारमा पनि सुनको भाउ पाँच वर्षयताकै सबैभन्दा कम मूल्यमा झरेको बताइएको छ ।
सरकारले साउनदेखि लागू हुने गरी सुनको आयात भन्सार दर प्रतिदश ग्राम ४२ सयमा झारेको छ । यसअघि प्रतिदश ग्राम भन्सार दर ५२ सय कायम थियो ।
बजारमा सुनको अझै ओरालो लाग्ने देखिन्छ । अहिले अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔंश ११ सय डलर रहेको छ । विज्ञहरुले एक हजार डलरसम्म झर्ने अनुमान गरिरहेका छन् ।
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔंश एक हजार डलरमा झरे नेपाली बजारमा प्रतितोला ४६ हजार रुपैयाँसम्म झर्ने शाक्यको भनाई छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु