सम्झनामा गोर्खा अभियान – पुष्प न्यौपाने

२०७२ श्रावण २ गते, शनिबार

बिहानको ११ बजेको छ । गोरखाको बारपाक जहाँ वैशाख १२ गतेको विनाशकारी भुकम्पको केन्द्रविन्दु जाने तयारीका लागी घरबाट हिँडियो । विद्यार्थी संगठनका केन्द्रीय उपाध्यक्ष पूर्णबहादुर सिंहको टोलीसँग बारपाक जाने वा युवा जनस्वयंमसेवकको नेतृत्व गरेका सुदर्शन मंगोलको टोलीसँग लमजुङ जाने मनमा केही दुविधा छ । विद्यार्थी उपाध्यक्ष पूर्णबहादुर सिंहको टोलीसँग लाप्राक जाने निश्कर्षपछि २१ गते बिहान साढे ११ बजे काठमाडाँै पुरानो बसपार्क नजिकको जागरण बुक हाउसमा भेट भएपछि थप साथीहरूलाई रिसिभ गर्न बालाजुको गंगा चलचित्र हल अगाडि पुगियो ६ हजार भाडामा एक माइक्रो रिजर्भ गरी तनहुको यम्पाफाँट तिर हान्नियो ।
थानकोटबाट नागढुङ्गाको ओरालोमा माइक्रो बसको तिब्र रफ्तारसँगै धादिङमा भुकम्पले निम्त्याएको विनाश र त्यसले बस्तीहरूलाई उजाड बनाएको दृश्य पर्दाको रिल झैँ घुमिरहेको दृष्य । भिराला कान्लाहरू परपरसम्मका उजाडबस्ती जताततै राता–निला त्रिपाल, भिरले भेटिने व्यवस्थित टेन्ट, कहिँकतै टल्किएका जस्तापाता सडक छेउको सुनसान बस्ती चर्किएका विरक्त लाग्दा नेपाली मोडेका घरहरू । पूर्णरूपले ध्वस्त परम्परागत गाउँले घरहरूको कन्तबिजोेग झछन् कहाली लाग्दो देखियो ।
पृथ्वी राजमार्ग छेउछाउको बोट बिरूवा हल्लिरहेका छन् । सिरसिरे हावा चलिरहेको छ । राजमार्गका छेउछाउमा जस्तापाताका टहरा निर्माण गरिरहेको आवाजालाई हामीले सुनिरहेका थियौँ । मृतकहरूको कतैएक्लै त कतै सामुहिक चिहान भइसकेको छ फेरी पनि बाँचेकाहरूले जीवनजिउन विस्तारै सङ्घर्ष सुरू गर्न थालेका छन् । माइक्रोमा माया प्रितिका अल्लारे दोहोरीले हाम्रो टोलीलाई खासै नछोएपछि चालकदाइले भुकम्प सम्बन्धि रचिएको एक कारूणिक गीत लगाए । हामी धादिङ कृष्णभिरको यात्रा सकेर मुग्लिन पुग्यौँ । मुग्लिनबाट माइक्रो पोखरातर्फ मोडियो तनहुँको याम्पाफाँट पुगेपछि झन्डै १०–१५ मिनेट असिनापानी प¥यो सडक छेउको जस्तापाताको टहरामुनी ओत लागेपनि झन्डै निथु्रक्क भिजेको अवस्था छ ।
पानी रोकिएपछि तनहँुको स्थानिय माओवादी कार्यकर्ता क.मयुरको घर पुग्यौं । साँझको बास यही भयो । क. मयुरको छुट्टै कथा रहेछ माओवादी लडाकुबाट अयोग्य भनेर फर्किएका मयुर तनहुँका आप्रवासी हुछन् । वि.सं. २०६२ को गण्डक सैन्य अभियानमा जुम्लाबाट आएका उनले तनहुँकै एकजना माओवादी लडाकु महिलासँग बिहे भएपश्चात त्यतै घरजम गरेका रहेछन् । झन्डै भुकम्पले उनको कुनै भौतिक क्षति गरेको गरेन ।
जेठ २२ गते । अहिले विहानको साढे ६ बजेको छ । वरिपरि घुम्न मकैबारी, तल मस्र्याङ्दी सुसाएको आवाज मस्र्याङदीको पारीपट्टी ठूलो व्यवसायीक फर्म सबैतिर एकटक नजर डुलाएपछि हातमुख धोईवरी पुनःविस्तारामै फर्किएँ । आजै बारपाक पुग्ने सोचेर बिहानको खाना पनि क. मयुरकै घरमा भयो । पार्टी सिसिएम क. प्रज्ज्वलन र तनहँु सेक्रेटरी निरू सोही घरमा आएपछि साँझपख मात्रै लमजुङबाट हिँड्ने निश्चित भयो ।
हामी याम्पाफाँटबाट गोरखाको १२ किलो लाग्यौं । मस्र्याङदी पार गरेपछि सुरू भयो गोरखा । रबर उद्योग गोरखकाली टायर हुँदै साँझ अबेर पुगियो १२ किलो । यहाँपनि विनाशकारी भूकम्पले आफ्नो हर्कत देखाएकै थियो । घरहरू कतै लडेका र कतै चर्किएका थिए । आज २३ गते १२ किलोबाट बारपाकका लागी सवा ९ बजे मात्रै गाडी चढियो । पहाडी कच्ची बाटो, तुवाँलो बिर्साउने गरी आकाश ढाक्ला झैँ धुवाँ–धुलो, ठेलमठेल मानिसहरूको भिड गाडीमा खुट्टा टेक्ने ठाउँ छैन । असिनपसिन र धुलाम्मे भएर दिउँसो १ बजे गोरखाको बालुवा पुगियो । बालुवाबाट जिप चल्ने रहेछ बारपाकसम्म । तर पैसाको अभावमा हामी पैदल यात्रा गर्ने निष्कर्षमा पुग्यौँ । आफ्नो लुगाफाटो, विछ््याउने म्याट, ओढ्ने कम्बल, केही चिउरा, दर्जनबढी बिस्कुट, पिउने पानीका बोटलसहित बारपाकको उकालो यात्रा सुरू गरियो ।
गाडीको यात्रा गरून्जेल पछ्याइएको दरौदी अब हामीबाट टाढीसकेको छ । हामी एक कठिन घाँटी लाग्ने उकालोको पैदल यात्रामा छौँ । आजको पैदल यात्रामा काठमाडौँबाट आएको विद्यार्थी टोलीको सुरूवाती हिँडाइको प्रदर्शन निकै फितलो रह्यो । हामीसँगै रहेको कास्की र तनहुँको टिमको सुरूवाती प्रदर्शन दमदार देखियो । विद्यार्थीका एकजना भाइ शैलेन्द्र घिमिरेलाई पहिलो दिनको यात्रा अन्तिम गन्तव्य बन्यो । उनि बिरामी भएर घर फर्किए । बारपाक २ मान्द्रे पुगेपछि बस्ती पूर्ण रूपमा उजाड देखियो । त्यहाँ राहत र उद्धारका चरण सकिएको रहेछ । मान्द्रेमा ८ जनाको मृत्यु भएको छ र केहि घाइतेहरूलाई अहिलेपनि विस्तारामै राखिएको अवस्था छ । मान्द्रेबाट डेढ घण्टा हिँडेपछि हामी बारपाकको मुल गाउँ पुग्यौँ । र आजको हाम्रो विश्राम बारपाकमै बन्यो । साँझको समय घुरमैलो आकाश जताततै त्रिपालमुनिको बास, मकैबारीबाट फर्किदै गरेका महिला, पधेँरोमा युवतीको भिडभाड पहिलेको तुलनामा शुन्यता र मौनतामा विरक्तिएको बारपाक न्यास्रो लाग्यो । पहिलेको स्वागत गर्ने, हार्दिकता बाँड्ने र आत्मीयता साट्न सक्ने अवस्थामा छैनछन् बारपाकीहरु । ऐतिहासिक गुरूङ गाउँ शोक र त्रासमा लपेटिएको बारपाकबाटमाथि सिरानतिर रहेको हिमश्रृङखला र सेतो हिउँ तिर नजर डुल्यो । पारीपट्टी उस्तै मौनतामा थियो घ्यालचोक । बारपाक र वरपरका केहि दृश्यहरू नियाल्दा– नियाल्दै झमक्क साँझ प¥यो । आकाशमा ताराहरूको संसार सुरू भयो । पृथ्वीमा अँध्यारोको साम्राज्यसँगै बारपाकमा सोलरको धिपधिप उज्यालो देखिन थाल्यो । आजको हाम्रो बास एक निजी विद्यालयको भवनमा छ ।
खाना खान गाउँलेहरूले नै बोलाएका थिए । संयोगले भूकम्पपछि मलेसियाको वैदेशिक रोजगारबाट फर्केका एकजना दाइको घरमा खाना खान पुगियो । उनले भने जे छ यही खाउँ यो पिडा भित्रको खुशी हो मेरा घरका कुनै पनि सदस्य भुकम्पमा परेनछन् । घर र धनसम्पत्ति त भोली पनि कमाइएला उनले भने । यही आत्मविश्वास, हार्दिकता र मानवता बारपाकी सभ्यताको पहिचान हो ।
जेठ २४ गते बिहान हातमुख धोइवरी हामी बारपाकबाट उकालो चढ्न सुरु ग¥यौँ । बारपाकले हामीलाई बिदाई ग¥यो । हाम्रो अघिल्लो टोली बारपाक खटेकाले हाम्रो गन्तव्य लाप्राक, गुम्दा र लापुतिर थियो । बारपाकबाट ३ घण्टा उकालो हिँडेपछि देखियो बौद्घ हिमाल । मोती झैँ टल्केको त्यस हिम श्रृङखलाको मनमोहक दृश्यलाई कल्पनाले मात्रै स्पर्श गर्न सक्यो । बाटोभरी भुइँकाफलको स्वाद तल दायाँपट्टी पहाडी थुम्का, भिराला कान्ला छिटफुट बस्ती निङ्लीझाङ र उत्तिसका रूखहरू, बा∙ाटि∙ा गुँरासका बोटहरू, पारीपट्टी छङछङ बगिरहेका छाँगा । झरनाको पानी बायाँ अर्थात उत्तरतिर हिमालको तल फेदीपट्टी कुहिरो, त्यसमाथि एक लेयर बादल र बादलमाथि हिम चुचुरा अनि सेताम्य हिउँ । त्योपनि बिहानको सुर्योदयसँग कम्ती टल्केका छैनछन् हिमालहरू । मानौँ यहि हो पृथ्विको एक टुक्रा स्वर्ग ।
बिहानी सुर्योदयसँगै यी हिमालको दृश्यावलोकन र स्पर्शको अवसर प्राप्त भए मोतीको के नै मुल्य रहन्थ्यो र ? उत्तरी सिमानाका पर्खालका रूपमा रहेको नेपालको यो हिम श्रृङ्खला सदियौंदेखि काल्पनिक गौरवमा सिमित छ । यसलाई वास्तविक गौरवमा बदल्ने दिनहरूको मृगतृष्णा पुरा होला या नहोला तर अनन्त अपेक्षा र प्रतिक्षाको घडी समाप्त हुने छैन । लेकाली यात्रा र हिमाली दृश्यले यतिसम्म मन्त्रमुग्ध बनाएछन् कि लाप्राक पुगेको पत्तै भएन ।
लाप्राकमा बिहानको खाना खाईसकेपछि हामीले विश्राम नगरिकन केहि सार्वजनिक शौचालय र एउटा ढु∙े धारा निर्माण ग¥यौं । आज साँझको बास शित्को ओत् लाग्न पनि त्रिपाल र भुइँको चिसो छल्न पनि एउटा त्रिपाल बन्यो । तैपनि दिनभरीको थकान लखतरान जिउ पल्टियो त्यसमै । आखिर सबै मानिसहरूको बेहाल हामीले नव्यहोर्ने कुरा थिएन ।
आज जेठ २५ गते विहान हामी लाप्राक डाँडाको नयाँ बस्तीबाट पुरानोबस्ती अर्थात भूकम्पले भग्नावशेषमा सिमित गरिदिएको गाउँमा पुग्यौं । दुई घण्टा ओरालो झर्दै । त्यहाँ युवा क्लव र एकदुई घण्टा ओरालो पन्छाउँदापन्छाउँदै साँझ परिसक्यो । बिहानको खाना खेर गयो र हामीले भोकभोकै काम ग¥र्यौं । कारण २ घण्टा उकालो चढेर खानाखान जाँदा फेरी फर्केर काम गर्न सक्ने अवस्था थिएन ।
साँझ फेरी त्यही त्रिपालमुनिको जाडोले लुगलुग काँप्दै रात बिताइयो । दुई हजार ७ सय मिटरमाथिको जाडो भएकाले होला मुटु नै हल्लाइरहेको छ । जाडोलाई भगाउन हामीसँग एउटै विकल्प थियो आगो । तर, दाउरा पाउन नै मुस्किल । अचम्मको कुरा के भने यहाँपनि रातो फेन्टा र कोकाकोला रहेछ । गर्मी ठाउँमा चिसो भनेर चिनिने यि पेय पदार्थलाई यहाँपनि चिसो नै भन्दारहेछन् । यहाँ फ्रिजमा नराखिएको चिसो ।
जेठ २६ गते । हाम्रो टोली दुई भागमा विभाजित भयो । एउटा घर टहरा निर्माण र अर्को शौचालयका लागी । हामीले ५ शौचालय निर्माण ग¥यौं । सात फिट गहिरो खाडलहरू बनाउँदा जिउको दुखाइ सायद जिन्दगीकै अत्याधिक जस्तो बन्न पुग्यो । अर्को टोलीले टहराहरू निर्माण ग¥यो । सधैँझैं आजपनि त्यही त्रिपाल हाम्रो प्रतिक्षामा थियो । साँझको खानापछि आज भने पूर्ण सिंह, म र लोकेन्द्र गाउँका एकजना स्थानिय शिक्षकसँग राती १० बजेसम्म गफ गर्दै बस्यो । भूकम्पको पीडा मानिसहरूको जीवनस्तर पहिरोको संभावित जोखिम केही राजनीतिक गफगाफ गर्दै अबेरपछि त्रिपालमा फर्कियौं । यो रात लाप्राकको लागी अन्तिम रात थियो । लाप्राक बसाइका हरेक दिन जंगलबाट काठ बोक्न छुटेनछन् । स्थानिय शिक्षक मन्थल गुरूङ विद्यार्थी नेता पुर्ण सिंह, म र गोर्खाको सेक्रेटरी रूपेशले बाँदर लड्ने पहिरोको मुनिबाट डोरीले काठ तानेको क्षण यस अभियानकै जोखिमपूर्ण काम थियो ।
जेठ २७ गते हामी लाप्राकबाट बिदाई भयौं । एकजना शिक्षिकाले हिमाली चियामा सातु घुलाएर खान दिँदै बिदाई गरिछन् । हामी बिहान ११ बजेतिर गुम्दा पुग्यौं । गुम्दामा खाना खाइसकेपछि एकघण्टा विश्राम र त्यसपछि स्थानियहरूसँगै ‘माने’ बनाउन गयौं । माने त्यहाँ गुरूङहरूको अन्तिम संस्कारको एक प्रक्रिया रहेछ । हामीले मृतकलाई जमिनमुनि गाडेर त्यसमाथि देउराली बनाउने प्रचलन रहेछ त्यसैलाई माने भनिदोरहेछ । खासगरी भूकम्पकबाट पहिरोमा पुरिएर मृत्यु भएका र लास भेट्टाउन नसकिएका मृतकहरूको सम्झनामा निर्माण गरिएको एक प्रकारको सामुहिक चिहान रहेछ । घरभन्दा बाहिर अकालमा मृत्यु भएकाहरूको माने निर्माणका लागी शुभदिन हेर्ने उनीहरूको परम्परा रहेछ । गुरूङ समुदायका एक जना २२ वर्षे पण्डित जो माने निर्माण अर्थात अन्तिम संस्कारको विधि पु¥याउन आएका थिए । उनले यी सब कुराको जानकारी गराए । आज झण्डै ३ घण्टा जति माने बनाउन ढु∙ा बोकियो । यहाँको चलन अनुसार माने बनाउने दिन अरू कुनै काम गर्न नहुने रहेछ । गुम्दामा पनि आज त्यहि मेसकै खाना र त्रिपालको बास भयो ।
जेठ २८ गते गुम्दा स्वास्थ्य चौकी पन्छाइयो । दिनभर यही काम ठिक्कै भयो । सम्पूर्ण औषधी निकालियो पुरिएको फर्निचर, विभिन्न सामग्री सबै निकाल्ने काम भयो । रातीपनि गुम्दामै बास भो ।
जेठ २९ गते २ जना शहिद परिवार एक दलित परिवार र एक जना सँधै मेसमा खट्ने त्यहाँका समाजसेवी एकजना महिलाको घर पन्छाइयो अनि साहारा विहिन वृद्घ वृद्घा दलित परिवारको घर निर्माण गरियो । त्यसैगरी एमाओवादी सभासद छम बहादुर गुरूङको घर पन्छाइयो । थकित र गलित हालतमा आजको बास पनि गुम्दा मै भो ।
जेठ ३० गते बिहान उठ्ने बित्तिकै एकजना शहिद परिवारको घर पन्छाइयो । त्यसपछि गुम्दा छोड्ने निधो भयो । गुम्दा बसाइमा स्थानियसँगको सहकार्य हार्दिकता र आलुको म. म. देखि विविध परिकारहरू स्मरणीय बने ।
गुम्दालाई बिदाइ गर्दै हामी लापुको बाटो भएर बुढी गण्डकीको किनारैकिनार गोर्खाको आरूघाटमा बास बस्यौं । गुम्दादेखि लापु हेर्दै आरूघाट पुग्नुभन्दा १ घण्टा उत्तरको बजार पुग्ने बाटोले जुम्ला, हुम्ला, बाजुरा र दार्चुलाका पहाडहरू समेत विसार्यो । कतै बाँदर लड्ने भिर कतै जंगलै जंगलको यात्रा कतै पहाडका खोचमा डरलाग्दा बस्ती गुफा र ओडारमा लुकाएका दाउरा, डरलाग्दो गोरेटो बाटो त्यसैमा खच्चाको जोखिमपूर्ण हिंडाइ । हाई नेपाली जनजीवन यो सम्पूर्ण संघर्ष कुनै भौतिक सुख सुविधा नौलोपन, उन्नती र प्रगती भन्दा पनि बाचुन्जेल सत्तासिनहरूलाई नागरिकको यो हालतसँग के सरोकार ? तराईमा जमिन्दारहरूको सयौं बिघा जमिन बाँझो छ उनीहरू काठमाण्डौ, अमेरिका, क्यानडा र अष्ट्रेलिया तिर छन् । हजारौं बिघा जमिन पर्ति ऐलानी र सार्वजकि छ । सुकुम्वासी र अव्यवस्थित बसोबासका नाममा कार्यकर्तालाई बाँडिदैछ तर ति कुना कन्दराका मानिसहरूले हात मुख जोर्नकै लागि मात्र भिरपाखा उकाली ओराली गर्दै हर दिन मृत्यु सँग पौठेजोरी खेल्नु परिरहेको छ ।
आरूघाटमा साँझ एकछिन् बुढी गण्डकीको किनार टहल्यौं । पार्टी सि. सि.एम. क.प्रज्ज्वल पूर्ण सिंह र मैले केहि बजारको अध्ययन भ्रमण ग¥यौं । नेपालको राजनीतिक केहि इतिहास र केहि वर्तमानका कुरा ग¥यौं, भविष्यको राजनीतिबारे चिन्तन ग¥यौं । आज साँझको खाना एक जना पुराना माओवादी कार्यकर्ताको घरमा खायौं र छेउको एउटा त्रिपालतिरै सुत्यौं ।
जेठ ३१ गते गोर्खा अभियानको अन्तिम दिन बिहानै हातमुख धोइवरी आरूघाटबाट गोर्खा बजारको गाडी समात्यौं । विभिन्न घुम्ती, मोड र पहाडी थुम्काहरू छिचोल्दै मध्यान्हतिर गोरखा बजार पुगेर एउटा होटलमा खाना खायौं । लगत्तै गोरखा दरबार हेर्ने प्रस्ताव गोरखा सेक्रेटरी रूपेशले राख्नुभयो । हामी हतार हतार गोरखा दरबार खासगरि संग्रहालय छि¥यौं झण्डै ४५ मिनेट भित्र संग्रहालय अवलोकन सकेर गोरखा बजार फर्कियौं । लगत्तै गाडी चढेर आवु खैरेनिको यात्रा सुरू ग¥यौं । अपरान्हको खाजापछि आवु खैरेनिमा गोर्खा अभियानको समिक्षा तमुवान इन्चार्ज क. आस्था र अभियान टोलीको नेतृत्व सम्हाल्ने क. प्रज्वलन सि. सि. एम. क. मामाको उपस्थितिमा समिक्षा गरियो । निष्कर्षमा गोरखा अभियान सफल रह्यो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु