जनमत संकलनका नाममा हेलिकोप्टर शयर

२०७२ श्रावण १ गते, शुक्रबार

काठमाडौं, १ साउन । संविधानको पहिलो मस्यौदामा जनमत संकलन गर्ने नाममा सभासदहरु हेलिकोप्टर शयर गर्दै जिल्लादौडाहामा निस्किएका छन् ।
अधिकांश सभासद् शुक्रबार हेलिकोप्टर शयर गर्दै जिल्ला गएको संविधानसभा सचिवालयले जनाएको छ । मस्यौदामा समेटिएको विधेयक भने असार २४ गतेदेखि नै कर्मचारीले क्षेत्र र गाउँ तहसम्म पुर्‍याइसकेका छन् । संविधानसभाको नागरिक सम्बन्ध तथा संविधान सुझाव समितिले गाउँ स्तरसम्मै संविधानको प्रारम्भिक मस्यौदा पु-याइसकेको जनाएको छ ।
समितिले पाँच हजार प्रति राजपत्र प्रकाशित गरिएको, संविधानको प्रारम्भिक मस्यौदालाई पुस्तकको रुपमा दुई लाख प्रति छापिएको, एक लाख प्रति मस्यौदाको विशेषता उल्लेखित पुस्तिका र गोरखापत्रको दुई लाख ५० हजार प्रति मस्यौदा छापेर वितरण गरिएको जानकारी गराएको हो ।
प्रत्येक जिल्लामा खटिएका संविधानसभा सचिवालयका दुई–दुई जना कर्मचारीले २ सय ४० वटै निर्वाचन क्षेत्रमा मस्यौदा वितरण र प्रचार प्रसारको काम गरिरहेको समितिले जनाएको छ ।
समितिले संविधानको प्रारम्भिक मस्यौदामा स्वदेश र विदेशमा बसोबास गर्ने नेपाली नागरिकहरुबाट रायसुझाव प्राप्त भइरहेको जानकारी पनि दिएको छ ।
समितिमा टोल फ्री नम्बरबाट एक हजार ५०, वेभसाइट मार्फत एक हजार पाँच सय ६०, इमेलबाट एक हजार एक सय १० र फ्याक्समार्फत १६ वटा लिखित सुझावहरु प्राप्त भएको जानकारी दिइएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु