गणतन्त्रप्रति घृणा नजगाउ – राजेन्द्र चिमौरिया

२०७२ जेष्ठ १६ गते, शनिबार

१० वर्षे जनयुद्ध र १९ दिने ऐतिहासिक जनआन्दोलनको सफलतापछि भएको संविधानसभाको निर्वाचनपछि २०६५ जेठ १५ गते बसेको संविधानसभाको पहिलो बैठकले देशमा विद्यमान राजतन्त्रको अन्त्य गरी गणतन्त्रको घोषणा भएको थियो । देशमा गणतन्त्र स्थापना भएको सात वर्ष बिते पनि हालसम्म शान्ति र संविधानले पूर्णता प्राप्त गर्न सकेको छैन । देशमा गणतन्त्र स्थापना गर्न एकजुट भएका दल र नेताहरु अहिले आफ्नो दलगत र व्यक्तिगत स्वार्थमा चुर्लुम्म डुब्न पुगेका छन् । राष्ट्र र जनतालाई केन्द्रभागमा राखेर सोच्न छोडी दल र नेता विशेषलाई मुख्य मान्दै अगाडि बढेको देखिन्छ । जसका कारण गणतन्त्र स्थापना भएको सात वर्ष बितिसक्दासमेत जनताले वास्तविक गणतान्त्रिक व्यवस्थाको अनुभव गर्न पाएका छैनन् । दल र नेताहरुको आपसी खिचातानीले गर्दा अहिलेसम्म संविधान बन्न सकेको छैन । १० वर्ष जनयुद्ध गरेको माओवादी छिन्नभिन्न भएको छ । नेपाली काँग्रेस, एमालेलगायतका संसद्वादी दलहरु देशलाई अग्रगमनतर्फ लैजानभन्दा कसरी सरकार र सत्ता हात लगाउने भन्नेमै केन्द्रित रहेका छन् । दल र नेताहरुको यस्तो हर्कतले नेपाली जनताको आक्रोश बढ्दै गएको छ । जनता दल र नेताहरुलाई घृणा गर्न थालेका छन् । नेपाली जनताको अथाह बलिदानपछि प्राप्त भएको गणतन्त्र दल र नेताहरुको ठगिखाने भाँडो भएको छ । यस कारण नेपाली जनताको आक्रोश दल र नेताहरुप्रति दिनप्रतिदिन बढ्दै गएको छ । यो कुरा १० वर्ष जनयुद्ध गर्ने नेकपा माओवादी र १९ दिने जनआन्दोलनमा अहम् भूमिका खेल्ने संसद्वादी दलहरुले बुझ्नु आवश्यक छ । जनताको इच्छाविरुद्ध जाने आँट कुनै पनि राजनीतिक दल र नेताहरुले गर्नु देश र जनताप्रति गद्दारी गर्नु हो । तसर्थ, १० वर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनमार्फत् प्राप्त भएको गणतन्त्रको सोही जनयुद्ध र जनआन्दोलनको मर्मअनुरुप संस्थागत गर्न सबै दल र नेताहरु कम्मर कसेर लाग्नुको विकल्प छैन । जनतालाई गणतन्त्रप्रति घृणा जगाउने काम गर्नु भनेको दल र नेताहरुले आफ्नो घुँडामा आफैँले बन्चरो हान्नुसरह हो, चेतना भया ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु