विपत्तिलाई पार लगाउन एकजुट होऔं – राजेन्द्र चिमौरिया

२०७२ जेष्ठ २ गते, शनिबार

गत वैशाख १२ गते गएको विनाशकारी भूकम्प र त्यसपछि लगाताररुपमा गइरहेका भूकम्पका पराकम्पनहरुले हालसम्म आठ हजार पाँच सयले ज्यान गुमाइसकेका छन् भने करिब चौबीस हजार मानिस घाइते भएका छन् । भूकम्पबाट प्रभावित काठमाडौँलगायतका सबै ठाउँमा राहत सामग्री वितरण, भग्नावशेष हटाउने, सरसफाइ, सुरक्षा गस्ती र खोजकार्य जुन गतिमा हुनुपर्ने सो हुन नसकेको यथार्थता सबैसामु छर्लङ्गै छ । भूकम्प गएको तीन साता बितिसक्दासमेत अहिलेसम्म भूकम्प पीडिहरुहरु सबैले सामान्य राहतसमेत पाउन सकेका छैनन् । राहतको ओइरो लागिरहेको छ, तर सो राहत पीडितसम्म पुग्न सकेको छैन । कतै राहत नै बिक्री गरेको त कतै राहत सामग्री बीच बाटोमै लुटिएको समाचारहरु पनि आइरहेको छ । सरकारले नै सबै पीडितलाई समयमै राहत पु¥याउनुपर्ने हो । तर, सरकारका कतिपय कमीकमजोरीका कारण त्यसो हुन सकिरहेको छैन भने सरकारी उदासीनताको कारण दाताबाट प्राप्त राहत पनि सम्बन्धित पीडित समक्ष बेरोकटोक पुग्न सकेको छैन । प्रधानमन्त्री, मन्त्री, सभासद तथा सत्तापक्ष, विपक्षी दलका नेताहरु भाषण छाँट्मै व्यस्त देखिन्छन्, उनीहरु प्रत्यक्षरुपमा पीडित जनतासमक्ष पुगेर उनीहरुको दुःखमा हातेमालो गर्न सकिरहेका छैनन् । यो देश र जनताकै लागि दुर्भाग्यको कुरा हो । अब सरकार, सत्तापक्ष, विपक्षी र संविधानसभा बाहिर रहेका समेत सबै दलहरु मिली यो महाविपत्तिमा परेका जनताहरुलाई पार लगाउन सबै एकजुट हुनुपर्छ । यसका लागि सरकारले नै पहल थाल्नुपर्छ । अब सरकारले यो महाविपत्तिबाट पार पाउन तुरुन्तै एउटा राष्ट्रिय संरचना बनाउनुपर्छ । जसमा संविधानसभा भित्र र बाहिर रहेका सबै दलहरुलाई समेट्नुपर्छ । राष्ट्रमा आइपरेका विपत्तिमा सबै दल र नेताहरु एकजुट भएर जनताको सेवामा लाग्नुपर्छ । आजको आवश्यकता समयको माग र नेपाली जनताको चाहना पनि यही छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु