उखु कृषक र उद्योगीबीच जुहारी

२०७१ चैत्र १४ गते, शनिबार

काठमाडौँ । सरकारले उखुको भाउ गत वर्षको भन्दा कम निर्धारण गरेपनि उद्योगीहरुले भने यही मूल्य पनि नदिने भएका छन् ।हचुवामा मूल्य निर्धारण गरिएको भन्दै उनीहरुले कृषकलाई भुक्तानी नदिने जनाएका हुन् । सरकारले विहीबार प्रतिक्विन्टल ४ सय ६१ रुपैयाँ उखुको भाउ निर्धारण गरेको थियो । यो गत वर्षको भन्दा १५ रुपैयाँले कम हो ।बागमती चिनी उद्योगका सन्चालक राम थापाले ‘सरकारले हचुवाको भरमा मूल्य निर्धारण गरेको’ बताए । राजनीतिक दबाबमा सरकारले मूल्य निर्धारण गरेको भन्दै कुनै पनि हालतमा ४ सय ६१ रुपैयाँ दिन नसक्ने थापाले बताए ।उनले सरकारले उद्योगीबाट चिनी खरिद गरिदिए मात्रै उक्त रकम कृषकलाई दिन सक्ने पनि बताए ।
उखु कृषकहरुले भने उखुको मूल्य निर्धारण गरेपछि कार्यान्वयन पनि गराउन सरकारलाई आग्रह गरेका छन् ।कृषकहरुले मूल्य निर्धारणलाई आलोचनात्मक रुपमा समर्थन गर्दै तत्काल भुक्तानीको वातावरण बनाउन पनि आग्रह गरेका छन् । सरकारले उखुको मूल्य निर्धारण गरेपछि नवलपरासी जिल्लाका किसानहरुले शुक्रबार बेलटारीमा भेला बोलाएर निर्धारण गरिएको मूल्य कार्यान्वयन गराउन आग्रह गरेका हुन् ।
उखु कृषक प्रेमचन्द्र गुप्ताले तत्काल उद्योगहरुलाई भुक्तानीको लागि दबाब दिन सरकारसँग आग्रह गरे । उखु उत्पादक कृषक समितिका अध्यक्ष उमेश यादवले गत वर्षभन्दा यसवर्ष उत्पादन लागतमा १५ प्रतिशत बृद्धि भएपनि त्यसलाई बेवास्ता गर्दै कम मूल्य निर्धारण गरिनु किसानप्रति सरकार संवेदनशील नभएको पुष्टि भएको बताए ।जिल्लामा यसवर्ष २२ लाख क्विन्टल उखु उत्पादन भएको छ । यसवर्ष जिल्लामा रहेका बाग्मतीले १० लाख, लुम्बिनीले ७ लाख र इन्दिरा चिनी उद्योगले ५ लाख क्विन्टलको हाराहारीमा उखु क्रसिङ गरेका छन् ।उद्योगहरुले परासी र नवलपुर क्षेत्रमा गरी १२ हजार किसानको उखुको मूल्य भुक्तानी गर्न बाँकी रहेको कृषकले बताएका छन् ।

प्रतिक्रियाहरु