कसरी ल्याउने उत्कृष्ट अंक – शिखरजंग श्रेष्ठ

२०७१ चैत्र १ गते, आईतवार

साथीभाई सबैले एसएलसीलाई हाउगुजीका रुपमा लिएर एकअर्काको दिमाग भरिदिएका छन् । पास हुनैपर्ने विद्यालय, घर, आफन्त लगायतको चौतर्फि दबाब छ ।एसएलसीको बेला कसरी पढ्ने ? घोकेर बढ्ने की, बुझेर पढ्ने ? कसरी लेख्दा उत्कृष्ट अंक ल्याउन सकिन्छ ? भन्नेबारेमा सोच्दैहुनुहुन्छ भने कुनै अलमलमा नपर्नुहोस् । एसएलसीलाई धेरै हलुका पाराले पनि लिनुहुदैन् भने धेरै जटिल हिसावले पनि लिनुहुदैन् ।
विद्यालयमा दिईने परीक्षा र एसएलसी परीक्षा उस्तै देखिएपनि केहि हदसम्म फरकता पाईन्छ । प्रश्नपत्र निर्माण र प्रश्नपत्र जाँच जो कोहिले पनि गर्न सक्ने भएकाले विद्यार्थी र अविभावकले एसएलसीलाई जटिल रुपमा लिएका हुन् ।बुझेर भन्दा घोकेर पढ्ने हाम्रो बानीले शैक्षिक गुणस्तरमा प्रश्न चिन्ह उठ्दै आएको छ । त्यस्तै परीक्षाको केहि दिन अघिवाट बढ्नुपर्छ भन्ने मानसिकता विकास हुदा पनि राम्रो अंक नआउने या फेल हुने समस्या देखा पर्छ ।
एसएलसीमा पास हुन या उत्कृष्ट अंक ल्याउन एसएलसीको भूतलाई मस्तिष्कवाट अटाउन राम्रो मानिन्छ । त्यस्तै एसएलसी परिक्षा दिदैछु भनेर आत्तिनु पनि हुदैन् । विज्ञ्हरुको सुझाव अनुसार एसएलसीलाई अन्य परीक्षाकै रुपमा लिनुपर्छ ।एकोहोरो अध्ययनमा जुट्नु भन्दा प्रशस्त आरामसंगै मनोरन्जन गर्ने र दैनिक ६ घण्टा सुत्ने र अन्य समयमा पढ्नुपर्छ । एसएलसी आएपछि मात्र पढ्नु भन्दा पाठ्यक्रमको शुरुवात देखिनै कक्षाकोठामा बुझेर पढ्नु लाभदायीक मानिन्छ ।रटान लगाएर पढ्नु राम्रो मानिदैन् । स्मरणमा राख्ने तवरले रिड, राईट र रिमेम्बर विधिवाट अध्ययन गर्न सके सिकाई दीगो हुनुका साथै परीक्षामा राम्रो गर्न सकिन्छ । आत्तिदै सुगा रटानले मस्तिष्कमा रहेका कुरा पनि बिर्सन सकिन्छ ।
अघिल्ला बर्षहरुका प्रश्नपत्र हेर्ने र हल गर्ने प्रयासले विद्यार्थीलाई निखार्छ । विभिन्न सहयोगी पुस्तक र चिट चोर्ने मानसिकताले विद्यार्थीको वास्तविक क्षमतालाई दबाएको छ । विद्यार्थीले मौलिक जवाफमा बढी ध्यान दिन सके राम्रो अंक ल्याउन सकिन्छ ।
परीक्षा दिन जानुभन्दा अघि प्रवेशपत्र लगायतका अन्य आवश्यक सामाग्री छुट्यो की सजक रहनुपर्छ । प्रवेशपत्र छुटे परीक्षामा सामेलवाट बन्चित बन्नुपर्छ भने अन्य सामाग्री अभावले प्रश्नले माग गरेको जवाफ दिनवाट चुक्नुपर्ने र पछुताउने अवस्था आउन सक्छ ।
उत्तरपुस्तिकामा नाम र सिम्बोल नम्बर प्रष्ट लेख्नुपर्छ । हातमा वा साथमा समयसूचक भए समयलाई मध्येनजर गर्दै प्रश्नको उत्तर लेखनमा सहयोग गर्छ । प्रश्नपत्र हातमा परेपछि प्रश्न र अंकभारलाई सरसस्ती निहाल्नु राम्रो मानिन्छ । प्रश्नलाई बुझेर अंकभारलाई न्याय गर्ने हिसावले माग गरिएको जवाफ लेख्न सके उत्कृष्ट अंक सजिलै ल्याउन सकिन्छ ।
प्रश्नहरुलाई समय विभाजन गरी जवाफ लेख्न सके सम्पुर्ण प्रश्नको जवाफ पनि लेख्न सकिन्छ । कतिले जानी जानी पनि प्रश्नको जवाफ लेख्न नसक्दा फेल हुन पुग्छन् भने कति जानेको प्रश्नको जवाफ लामो लेख्नी अन्य प्रश्नलाई हल गर्ने प्रयास नगर्दा पनि फेल हुने गरेको धेरैले बताउने गरेका छन् । धेरै सिपालु विद्यार्थी पनि छिटो लेख्ने अभ्यासको कमीले फेल हुने भएकाले छिटो हात चलाएर लेख्ने प्रयास पनि गर्नुहोस् । त्यस्तै सिकाईसीपको चार माध्यम लेखाई, पढाई, बोलाई र सुनाई मध्ये लेखाईमा पोख्त हुनेले सतहि रुपमा लेखेर पनि पास गर्न सक्छन् ।
विद्यार्थीले बेलाबेलामा चिसो पानी पिउनाले पनि दिमागलाई सन्तुलन गर्न सहयोग गर्दछ । चिट चारेर हुबहु सार्नु भन्दा मौलिकता सहितको जवाफ दिन सके अंक ल्याउन सहज हुन्छ । त्यसकारण विद्यार्थी र अविभावकले एसएलसीलाई हाउगुजीको रुपमा नलिई केबल परीक्षाका लागी मात्र पढ्ने बानीवाट माथी उठेर दीगो र गुणस्तरीय शिक्षा आर्जनमा प्रोत्साहित गर्नुपर्ने बेला आएको छ ।
(लेखक – हिमाल एफ एमका कार्यक्रम संयोजक पदमा कार्यरत छन् )

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु