तलब माग्दा जेल जानुपर्ने कस्तो देश ? – दिया चन्द

२०७१ फाल्गुन ३० गते, शनिबार

खै कसरी सुरु गरुँ लेख्न । पीडामाथि झन पीडा थपिएको छ । श्रम शोषणको मुल्य खोज्न गएको थिएँ, थप अरु नै शोषण गर्ने प्रस्ताव आए । मैले अस्वीकार गरेपछि अहिले घटनालाई फरक रुपमा बाहिर ल्याउन खोजिएको छ ।
रेडियो नागरिकका प्रबन्ध निर्देशक श्याम भट्टमाथि मैले आक्रमण गरेको भनेर यतिबेला जुन आरोपहरु छन्, यो सरासर गलत हो । वास्तविक एउटा छ । खबरहरु एकतर्फी रुपमा अर्कै आइरहेका छन् ।
मैले तलब माग्दै नेपाल पत्रकार महासंघ कन्चनपुर शाखामा निबेदन दिएपछि एक चरण रेडियो नागरिकमा पत्रकार महासंघसहित छलफल भएको थियो ।
पारिश्रमिक माग्दै नेपाल पत्रकार महासंघमा उजुरी दिएको र दैनिक नेपाल डटकम लगायतका मिडियामा लेख लेखेकोमा माफी माग्नुपर्ने अनि मात्र पैसा दिने भनेर रेडियो नागरिकले भन्यो । न्याय मागेकोमा र न्याय पाऊँ भनि लेख लेखेकोमा माफी माग्दिन बरु पैसा लिन्न भनेर म उठेँ ।
आत्मस्वाभिमान नगुमाउने मेरो अठोटलाई कमजोर ठान्दै छलफल सकी सकेपछि मलार्इ एक्लै भेटेर तत्कालिन रेडियो नागरिकका स्टेशन म्यानेजर प्रेमराज भट्टले झनै गम्भीर प्रस्ताव गरे ।
तत्कालिन रेडियो नागरिकका प्रबन्धक अशोक पाण्डेसँग मैले एकदिन एक्लै बस्नुपर्ने अनि पैसा पाइन्छ भन्ने उनले प्रस्ताव गरेपछि म झनै छांगाबाट खसेझैँ भएँ ।
उनले गरेको यस्तो गलत प्रस्तावको मैले सार्बजनिक गर्न खोजेको थिएँ । तर, दिया चन्दको नेतृत्वमा कुटपिट भयो भन्ने नाटक गरेर मलाई प्रहरी हिरासतमा राखेर फसाउने षडयन्त्र रचियो ।
मानसिक यातना र घरघेराउ
पछिल्लोपटक बिहीबार रेडियो नागरिकका श्याम भट्ट लगायतको टोलीले मलाई छलफलका लागि भन्दै एक्लै रेडियो नागरिकमा बोलाएका थिए । म रेडियो नागरिक गएर फोन गर्दा हामी जिल्ला पशु सेवा कार्यालय कञ्चनपुरमा छौँ, यतै आउ भनेर बोलाए।
म उनीहरु भएको ठाउँमा गएँ । त्यहाँ तीन जना श्याम भट्ट, प्रेमराज भट्ट र शंकर जोशी थिए । त्यहाँ छलफल केही भएन । उनीहरुले मलाई कोठाभित्र थुन्न खोजे । र, म निस्किन खोजेँ । यही बेलामा धकेलाधकेल भएको हो ।
त्यसपछि म आफ्नो काम गर्दै गरेको रेडियो पश्चिम नेपाल गएँ र साँझ प्रसारण हुने कार्यक्रम समय सन्दर्भको रेकर्ड सकेर सकेर एक घण्टा पैदल हिँडेर घर गएँ ।
म घर पुगेको ७ घण्टापछि बिहीबार मध्यराति प्रहरीले गिरफ्तार गर्न खोज्यो । ११ बजे प्रहरीले घर घेराउ गर्यो । कारण, मैले दिउँसो रेडियो नागरिकसँग तलब मागेँ रे । अनि तलब माग्न जादा कुटपिट गरेँ रे । मैले ममाथि भएको शोषण र फेरि शोषणा गर्न प्रस्ताव गरिएको गम्भीर विषयको खुलासा गर्न खोजेको हो । त्यो कुरा खुलासा भयो भने बर्बाद हुन्छ भनेर त्यो कुटपिटको नाटक गरी मलाइ प्रहरी कहाँ थुन्ने योजना बनाइयो ।
मलाई थुन्यो भने अब यो कुरा बाहिर आउँदैन र रेडियो नागरिकले मलाई गरेको श्रम शोषण र मलाई उनीहरुले अहिलेसम्म दिएको मानसिक यातनाको बिषय बाहिर आउँदैन आफ्नो कर्तुत लुकाउन सकिन्छ भन्ने उनीहरुले सोचेका थिए होलान । नभए मलार्इ दिउँसो नै समात्न सकिने थियो ।मध्यराति ११ बजे प्रहरी पठाउनु पर्ने थिएन । यदि मैले कुटपिट गरेको भए मलाई ठाउँको ठाउँ समात्न सकिने थियो वा म एक घन्टा हिँडेर घर आएको थिएँ, त्यो बेला समात्न सकिने थियो । सत्यता त्यसो हैन । लामो समय लगाएर उनीहरु बसेर योजना बनाएर सबैलाई पत्यार लाग्ने खालको बाताबरण बनाएर मात्र मलाई समात्न प्रहरी पठाएका हुन् ।
म कुनै पनि हालतमा यो यिनीहरुको योजना सफल हुन दिनेछैन । म एकदिन सार्बजनिक गरेरै छाड्नेछु । अहिले कञ्चनपुरका पत्रकार र पत्रकार महासंघ उनीहरुको योजनामा नराम्रोसँग फसेका छन ।
मैले २०७० माघबाट रेडियो नागरिकमा काम गरेँको हो । ९ महिनासम्मको तलब दिइएन । त्यसपछि म त्यहाँबाट निस्केँर रेडियो पश्चिम नेपालमा काम गर्न थालेको हुँ । मैले अहिले काम गरिरहेको रेडियो पश्चिम नेपाल मा पनि मेरा बिरुद्द थुप्रै षड्यन्त्र भने नभएका हैनन्, रेडियोका प्रबन्धक काठमाडौँ गएको मौका पारी त्यहीँ भित्रका केही मान्छेले मेरो फेसबुक एकाउन्ट समेत ह्याक गरे मेरो फेसबुक ह्याक गरी दुरुपयोग गर्ने योजना सफल भएन । मैले रिकभर गरेँ । त्यसपछि मैले प्रयोग गर्दै आएको साइकल दिनदहाडै अफिसबाट नै चोरी भयो । अहिले आएर आफ्नै रेडियोले दिया चन्द हाम्रो कर्मचारी हो । प्रहरी धरपकड भयो भनेर मेरो पक्षमा एकशब्द सार्बजनिक रुपमा बोल्न सकेन । तर, एकदिन म सत्य पर्दाफास गरेरै छाड्छु । म आत्तिएको छैन ।
म पूरै बिस्थापित छु अहिले । विकट गाउँमा शरण लिएर बसिरहेछु । मैले वास्तविकतालाई बाहिर ल्याउन खोज्दा प्रहरीको साहरा लिएर दमन गर्न खोज्छन् । अनि त्यही कुरा पत्याएर त्यहाँका पत्रकार संघ, संगठनहरु र केही साथीहरु मलाई जेल हाल्ने कुरामा सहमत हुन्छन् । यो पीडा मेरो कस्ले लेख्ने ? कसले बुझ्ने ?
मेरो श्रमको शोषण गरे । फेरि श्रमको मूल्य खोज्न जाँँदा अरु शोषण गर्ने प्रस्ताब गर्छन । अनि त्यस्तालाई सहयोग गर्न सिंगो पत्रकार जगत लाग्ने ? मलाइ झन पीडामाथि पीडा दिने काम भएको छ ।
मलाई लाग्छ, अब सबै जो जो मेरो बिरुद्ध आए तिनको नाम पत्र लेखेर सुसाइड गर्नुको बिकल्प छैन् । गलत कुरामा सहयोग गर्ने कञ्चनपुरका प्रहरी प्रमुख एसपी विश्व निरञ्जन प्रधानको नाममा पनि सुसाडड नोट लेख्छु ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु