संविधानको नाममा मच्चाइएको महाभारत – युवराज सफल

२०७१ फाल्गुन २३ गते, शनिबार

आम नागरिकलाई लागेको हुन पर्छ, यत्रो बर्ष वितिसक्दा पनि राजनीतिक पार्टीका नेताहरूले किन संविधान बनाएनन् ? किन सधैँ वार्ता र सहमतिको नाममा करोडाँै रूपैयाँ बालुवामा पानी खन्याएझैँ गरी खाएर सके ? किन मूखले सहमतिको दुहाई दिएर पनि व्यवहारमा सहमति कायम गर्न खोजेनन् ? आखिर किन यी सब गतिविधि हुदै छन् ? कसको योजना र इशारामा यस्ता कार्यहरू भई रहेका छन् ? कसले चलाई रहेको छ हाम्रो देशको राजनीति ? के बनाइदैँछ हाम्रो देश ? ककसले कस्तो भूमिका खेलेका छन् ? यी यावत प्रश्नहरूले हामीलाई सताई रहेको छ, तर पनि हामी नागरिक भने राजनीतिक पार्टीका नेताहरूले साँच्चै संविधान निर्माण गरेर दिन्छन् भनेर हिजो पत्यायौँ र आजपनि पत्याई रहेका छौँ । चार चार वर्षसम्म पनि संविधान दिन नसक्दा पनि हामी नागरिकले केही सोध्ने र भन्ने आँट गरेनौँ ब? दोस्रो संविधान सभा निर्वाचनमा पनि लु?लु? लाईन लागेर भोट हाल्न गयौँ । राजनीतिक पार्टीका नेताहरूले माघ ८ मा संविधान दिनेछौँ भने हामीले पत्यायौँ । आज भोलि नै सहमति गर्छौ भने हामीले पत्याई नै रह्यौँ । अझ साँढेले दुध दिन्छ भन्ने भ्रममा हामी परिरह्यौँ र सधैँ भ्रमको शिकार भयौँ । तर संविधान निर्माणको नाममा मच्याउन लागेको महाभारतका बारेमा भने कमैलाई मात्र जानकारी छ । रूपमा संविधान निर्माण गर्ने भनिए पनि सारमा भने अर्कै खालको वितण्डा मच्चाउन खोजिएको छ । खालि बाहना चाँहि संविधान निर्माण गर्ने गर्ने भनिएको छ तर आजको दिनसम्म देखावटी रूप बाहेक कसैले पनि गम्भीर भएर संविधान निर्माणको लागि सार्थक पहल गर्न सकेका छैनन् । कसैलाई संविधान चाहिएको छैन, चाहिएको छ सत्ता र शक्ति । शक्ति हत्याउन र को भन्दा को ठूलो बन्नैको लागि यो सब हानाथाप भएको छ । एक से एक विदेशी दलालहरू देश र नागरिकलाई गुमराहमा राखेर कालो कोठरीमा बसेर गद्वारी गर्दै छन् धोका दिदैँ छन् । अत संविधानको नाममा मच्चाइएको महाभारतका केही झलकहरू बारे चर्चा गरौँ ।
संविधानविहिनताको अवस्थाः — जुन दिनदेखि देशमा ०४७ सालको संविधान खारेज गरी अन्तिरिम संविधान जारी गरियो त्यही दिनदेखि मूलुक संविधानविहिनताको अवस्थामा चलेको छ । दुई बर्षभित्र जनताको चाहना बमोजिम नयाँ संविधान बनाएर जारी गर्ने सर्त सहित अन्तरिम संविधान ०६३ जारी गरिएको थियो । फलस्वरूप राजनीतिक पार्टीका नेताहरूले चार चार वर्षमा समेत नयाँ संविधान बनाउन सकेनन् । पटकपटक म्याद थप्दै अन्तरिम संविधानका पनि विभिन्न अग्रगामी धाराहरूलाई खारेज गर्दै अन्तत देशलाई संविधानविहिन बनाउने कार्य गरिएको छ । पहिलो पटक संविधान निर्माणकै लागि भनेर गरिएको संविधान सभाको निर्वाचनवाट संविधान बन्न नसकेपछि फेरि पनि संविधान सभाको दोस्रो निर्वाचनको अर्थहिन नाटक गरिएको छ र अझै पनि देशलाई संविधान नदिएर संक्रमणकालिन अवस्थामै राख्न खोजिएको छ । बर्षौसम्म पनि संविधान नदिएर मूलुकमा दण्डहिनता र मनपरितन्त्र एवम् छाडातन्त्रलाई मलजल हुन सघाउ पुगेको देखिन्छ । जति पनि भ्रष्टाचार, महंगी, कालीवजारी, बलात्कार, विभिन्न खालका आपराधिक घटनाहरू यसै अवस्थामा बढेका मात्र छैनन् त्यस्ता घटनाले शिखर मात्र हैन आकाश नै छुने काम गरेको छ । अत संविधान निर्माणको नाम भजाउदैँ देशलाई लामो समय सम्म संविधान नदिइकन राख्ने महाभारत रचिएको छ जुन कुरा सबैको सामू प्रष्टै भएको छ ।
आर्थिक रूपमा देशलाई टाट पल्टाउने मेसो संविधान निर्माणको नाममा सयौँ व्यक्ति मिलेर देशमा ब्रह्मलुट मच्चाई देशलाई आर्थिक रूपमा टाट पल्टाउने काम गरियो । जस्तो कि संविधान भनेको विज्ञहरूले बनाउने हो, समावेशीको नाममा केही जान्दै नजानेका ६०१ को भीडले संविधान निर्माणको नाममा पहिला चार चार वर्ष र अहिले पनि त्यसैगरी लुटे र लुट्ने कोशिस गरिरहेका छन् लुटिरहेका छन् । विगतमा २०५ जनाको प्रतिनिधि सभा थियो तर गणतन्त्रको नाममा ६०१ जनाले विनाकाम विना परिश्रम राज्यका ढुकुटी वाट करोडाँै तथा अर्वौ रूपैयाँ बैधानिक रूपमा लुटिरहेका छन् देशलाई झन झन् कमजोर बनाई रहेका छन् । तसर्थ संविधान निर्माणको नाममा बैधानिक डाकाको भेषमा आजको सिँगो देशको अर्थतन्त्रमा लुट मच्चाई रहेका छन् । यो पनि संविधान निर्माणको नाममा मच्चाईएको अर्को महाभारत हो ।
जातीय, धार्मिक तथा क्षेत्रीय सद्भाव विथोल्ने काम जति बेला संविधान निर्माणको काम सु? गरियो त्यति बेला देखिनै देशमा जातीय, धार्मिक, साम्प्रादायिक तथा क्षेत्रीय सद्भाव विथोलिने कार्य भएको छ । जस्तो कि पहिचानवादी र पहिचान विरोधी, हिन्दुर क्रिश्चियन, मधेश र पहाड आदिको नाममा नेपाली नेपालीलाई विभाजन गरेर देशमा जातीय सद्भाव भड्काउने, धार्मिक सहिष्णूता विथोल्ने र साम्प्रदायिक तथा क्षेत्रीय सम्बन्धलाई विथोलेर रक्तपात मच्चाउन खोजिएको छ । यस कार्यमा आफूलाई देश र जनताको सेवा स्थापना भएको पार्टीका नेता हँु भन्नेहरूको खुलेआम संलग्नता देखिएको छ । कोही जातीय राज्यको निर्माण गर्ने अभियानमा छन् त कोही जातीय राज्य बनाउने हुन्न भन्ने अभियानमा छन् कोही धर्म निरपेक्ष हुन पर्छ भनी रहेका छन् त कोही हिन्दु राष्ट्र कायम हुन पर्छ भनि रहेका छन् । त्यस्तै कोही एक मधेश एक प्रदेश हुन पर्छ भनिरहेका छन् त कोही हिमाल पहाड र तराई मिलाएर लैजान पर्छ भनिरहेका छन् । यसरी हेर्दा संविधान निर्माणको नाममा विदेशीहरूले विभिन्न एजेण्डा भिराई दिएका छन् र ति एजेण्डाहरू प्रयोग गर्ने प्रयोगशाला बनाई रहेका छन् देशलाई र आफु प्रयोग हुने पात्र बनिरहेका छन् । यसवाट के प्रष्ट हुन्छ भने हाम्रा राजनीतिक पार्टीका नेताहरू विदेशीको उक्साहटमा लागेर संविधान निर्माणको नाममा जातीय, धार्मिक, क्षेत्रीय तथा साम्प्रदायिक सद्भाव विथोल्ने कार्यमा लागि रहेका छन् । संविधान निर्माण त एउटा अचम्मको बाध्यात्मक बाहना तथा नौटंकी शिवाय अ? केही हँुदै हैन भन्ने कुरा उनीहरूको व्यवहारवाट नै देखिएको छ ।
संघीयताको नाममा मूलुक सिध्याउने योजना आज संविधान निर्माणको प्रयास सँगै संघीयताको प्रसंग गाँसिएर आएको छ । विशेषत केन्द्रीकृत राज्यको संरचनालाई विकेन्द्रीत गरी विकास लगायत अन्य सेवा तथा सुविधा दुर दराजमा रहेका आम जनतामा पु¥याउने उनीहरूलाई सम्पूर्ण तवरले अधिकार सम्मपन्न बनाउने र राज्यको भएको महशुस गराउने ध्येका साथ विकेन्द्रीत शासन व्यवस्थाको खाँचो देखिएको हो । तर पनि यहाँ बुझक्डहरूले संघीयताको नाममा, विकेन्द्रीकरणको नाममा पुरै देशलाई छिन्न भिन्न बनाएर अस्तित्वहिन बनाउन खोजिरहेका छन् । कोही मधेशलाई छुट्टै देश बनाउने, कोही पहाडलाई छुट्टै देश बनाउने अनि कोही हिमाललाई छुट्टै देश बनाउने अभियानमा लागेका छन् । कोही विभिन्न जातजातिको नाममा राज्य बनाएर जातीय सद्भाव भड्काउने अभियानमा लागेका छन् । यस्ता विभिन्न हर्कतले केवल अखण्ड सार्वभौम सम्पन्न मूलुकलाई विभाजन र विखण्डन बाहेक अर्को बाटोमा लैजान सक्दैनन् । यसर्थ संविधान निर्माणको नाममा संघीयता भन्दै सिँगो देशको अस्तित्व माथि नै धावा बोलिएको छ ।
विभिन्न राष्ट्रघाती सन्धी सम्झौता गर्ने मौका संविधान निर्माणको नाममा आज विभिन्न राष्ट्रघाती सन्धी सम्झौताहरू भएका छन् । मात्र संविधान बनाउने एक सुत्रीय कार्यभार बोकेर गएका कामचलाउ सरकार तथा अन्य निकायले गम्भीर प्रकारका तथा दीर्घकालीन असर पार्ने विषयहरूमा भटाभट सन्धी र सम्झौता गरिरहेका छन् । जस्तो विप्पा, पीडिए र पीटिए आदि । यस्ता अ? कार्यहरू पनि गरिएका छन्, जसले गर्दा देशको इज्जत मान प्रतिष्ठासँग प्रत्यक्ष असर गरिरहेको छ । अत संविधान निर्माण गर्ने भनि स्थापित निकायले आफ्नो मूख्य जिम्मेवारी विर्सिएर केवल विभिन्न राष्ट्रघाती सन्धी तथा सम्झौताहरू गरेका छन् । यस्ता कैयँन हर्कतहरू भएका छन् । जे गर्दा पनि संविधान निर्माणको कुरालाई जोडिने गरिएको छ । जस्तो नागरिकताको सवाललाई पनि संविधान निर्माणसँग जोडेर लाखौँको संख्यामा गैर नेपालीहरूले नागरिकता पाएको र वास्तविक नेपालीहरूले नागरिकता नपाएका अवस्था जगजाहेर नै छ । माथिका उदाहारणवाट के निश्कर्षमा पुग्न सकिन्छ भने हाम्रा नेताहरू संविधान निर्माणको नाममा विदेशीहरूको विभिन्न स्वार्थ पुरा गरी उनीहरूको आर्शिवाद लिई उनीहरूको दास बन्दै हामी नागरिकलाई पनि दासताको बन्धनमा बाँध्न चाहन्छन्, देश अर्कैलाई जिम्मा लगाई आफू कसैको स्वघोषित गुलाम बन्न चाहन्छन् ।
(लेखक नेपाल गणतान्त्रिक जनता पार्टीका अध्यक्ष तथा नेपाली नागरिक मोर्चाका संयोजक हुन् ।)

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु