जनमुखी संविधान निर्माणको प्रश्न – युवराज सफल

२०७१ फाल्गुन ८ गते, शुक्रबार

नेपाली राजनीतिक दलका नेताहरुले विगत ७/८ वर्षदेखि एउटा अद्भूत अवसर पाइरहेका छन् । त्यो के हो भने आम नागरिक र राष्ट्रको लागि संविधान आफैँ बनाउन पाउने अधिकार उनीहरुको हातमा छ । अर्को अर्थमा राम्रो संविधान हाम्रो संविधान भन्दै सम्पूर्ण नागरिकले गौरव गर्ने खालको संविधान बनाउन उनीहरुले विरलै यस्ता अवसर पाउने गर्दछन् । हज्जारौँ नेपाली नागरिकले आफ्नो प्राणको आहुती दिएर आफ्नो संविधान आफैँ बनाउन पाउने यो अवस्थाको सिर्जना गरेको सत्यलाई कसैले विर्सन हँुदैन । कुनै नेताको मुडेवल ,कुतर्क ,उखान टुक्का र झुटो भाषण र आश्वासनको भरमा यो संविधान बनाउने अवसर आएको हैन । नागरिकको ठूलो त्याग वलिदान र समर्पणवाट यो अवसरको निर्माण भएको हो । एक युगमा एकपटक मात्र यस्तो अवसर पाएका राजनीतिक पार्टीका नेताहरुले पहिलो संविधान सभा पनि संविधान नबनाईकन त्यसको हत्या गरे । आज फेरि कथित दोस्रो संविधान सभाको चुनाव गराई संविधान निर्माण गर्ने ध्वाँस दिदैँ हामीलाई बेवकुफ बनाउदैँ हिँडेका छन् । आम नागरिकहरुले आजको समयमा नागरिकमुखी संविधानको आसा गरेका छन् । उनीहरुको सपना विपना भनेको पनि यही हो । अत संविधान निर्माण गर्दा राष्ट्र र नागरिकलाई केन्द्रमा राखेर संविधान बनाउन पर्छ । संविधान निर्माणको विषयलाई कुनै पार्टीका विधान र घोषणापत्र निर्माण जस्तो सोच्न हँुदैन । संविधान सर्वमान्य र सर्वस्वीकार्य हुनपर्दछ । राज्यको एक समुहले मान्ने र अर्को समुहले नमान्ने खालको संविधान निर्माण गरेर फेरि अर्को संघर्ष गर्न बाध्य पार्ने खालको अपुरो र अधुरो संविधान कसैले पनि निर्माण गर्न हँुदैन । संविधान निर्माण गर्दा दुरदर्शी भएर बनाउन पर्छ । आजै विरोध हुने हिजोको आज जल्ने संविधान हामीले निर्माण गर्न हँुदैन । यस विषयमा सबैले ध्यान दिनु आवश्यक छ । देशमा रहेका सबै तह र तप्कामा रहेका नागरिकले आत्मसम्मान एवम् सन्तुष्टि पाउने गरी संविधान निर्माण गर्न पर्दछ । आउने संविधानवाट सबैले आफ्नो पहिचान ,अस्तित्व र अधिकार सुरक्षित भएको महशुस गर्न पाउन पर्छ । यदि त्यस्तो हुन सकेन भने त्यो संविधान नागरिकमुखी संविधान हुन सक्दैन । अन्तत अव बन्ने संविधान नागरिक पक्षमा हुन सकेन भने त्यो संविधान दलाल ,पुँजीपति ,सामन्त ,नोकरशाह ,विदेशी प्रतिगामीहरुकै पक्षमा बन्ने हो । त्यो भयानक षड्यन्त्रलाई रोक्ने तागत हामीले निर्माण गर्नपर्दछ । यदि बेलैमा हामीले त्यसो गर्न सकेनौ भने यो संविधान सभाले नागरिकमुखी संविधान हैन ठिक त्यसको उल्टो परिणाम दिने खालको संविधान बनाउने कुरा पक्का पक्की छ । हामी नागरिकको चाहना त नागरिकमुखी संविधान हो , जुन संविधानले सबै नागरिकलाई समान अधिकार दिन्छ ,समान अवसर दिन्छ ,समान पहिचान दिन्छ ,समान स्वाभिमान दिन्छ ,समान आत्मगौरव र आत्मसन्तुष्टि दिन्छ ,समान न्याय दिन्छ त्यस्तो संविधान नै नागरिकमुखी संविधान हो । जहाँ सबैले सम्मानपूर्वक बाँच्न पाउछन् ,गल्ती गर्ने साना ठूला भनाउँदा जो कोही हुन उनीहरु सजायको भागिदार हुन्छन् । अर्को अर्थमा कानुनलाई कसैले पैसा ,शक्ति र पदको आडमा खरिद गर्न सक्दैन ,दोषी करार भएको व्यक्ति क्षणभरमै निर्दोष सावित भएर सजायवाट उन्मुक्ति पाउन सक्दैन भने निर्दोष व्यक्ति निर्दोष हँुदा हँुदै सजायको भागिदार हुन सक्दैन । तसर्थ नेपाल र नेपालीको समृद्वि र विकासको लागि राष्ट्रिय पहिचान ,गौरव ,अस्तित्व र स्वाभिमानको रक्षा गर्न र सम्पूर्ण नागरिकलाई समान अधिकार दिन नागरिकमुखी संविधान चाहिएको छ हामी अव नागरिकमुखी संविधान बनाउने बाटोमा अग्रसर हुनपर्छ । यो दायित्वलाई हामीले पुरा गर्न सकेनौँ भने सिँगो राष्ट्र र नागरिकले हामीलाई सदा सदाको लागि धिक्कार्ने छन् ,सरापी रहने छन् । उनीहरुको सरापवाट बँच्न पनि हामी नागरिकमुखी संविधान बनाउन एकजुट भएर लाग्नपर्दछ । नागरिकमुखी संविधान बनाउने धेरै तह र तरिकाहरु छन् । ती तरिकाहरुलाई प्रयोग गरेर तत्काल हामीले नागरिकमुखी संविधान निर्माण गर्न सक्नुपर्दछ । अत नेपालको सन्दर्भमा निम्न ढंगले नागरिकमुखी संविधान निर्माण गर्न सकिन्छ । वृहद् नागरिक सभाको आयोजना सिँगो नागरिकको स्वार्थलाई आत्मसाथ गरी संविधान निर्माण गर्ने हो भने अब कस्तो संविधान बनाउने र कुन ढंगले संविधान बनाउने कुराको टुंगो लगाउन वृहद् स्तरको नागरिक सभाको आयोजना गर्नुपर्छ । नागरिकको लागि नभई नहुने आधारभूत कुराहरु के के हुन् ती विषयहरु उपर नागरिकहरु वीच छलफल हुनुपर्छ । नागरिकमुखी संविधान बनाउन आवश्यक पर्ने विविध तत्वहरुमाथि नागरिकहरु वीचमै व्यापक छलफ हुनपर्छ । आफ्नो लागि बन्ने भनिएको संविधानमा के कस्तो विधि र प्रक्रिया राख्ने या नराख्ने आदि जान्ने अधिकार आम नागरिकमा हुनपर्दछ , त्यति भयो भने मात्र नागरिकमुखी संविधान बन्ने सम्भावना हुन्छ । नत्र नागरिकका प्रतिनिधि हँु भन्दै नागरिकसँग सर सल्लाह र परामर्श नगरी बनाइने संविधानले निकासको वदला समस्या ल्याउछ । किनकी नागरिकलाई आफ्नो देशमा कस्तो ुसंविधान बन्दैछ र बन्न पर्छ भन्ने कुराको चासो हुन पर्छ । यदि संविधानमा नागरिकसँग सरोकार राख्ने विषयहरु समेटिएन भने त्यस्तो संविधानले कसैको भलो गर्न सक्दैन । वृहद् नागरिक सभामार्फत नागरिकमुखी संविधान निर्माणका आधारहरु तय गर्न पर्दछ । त्यसरी तय भएका आधारहरुलाई लिपीवद्व गरिनु पर्दछ । त्यसलाई साझा दस्तावेजको आकार दिनुपर्दछ । त्यसरी आउने दस्तावेजले नागरिकमुखी संविधान निर्माण गर्न सहयोग गर्दछ । त्यसकारण वृहद् नागरिक सभाको आयोजना गरी नागरिक संविधान निर्माणमा लाग्न सकिन्छ । सर्वदलीय राजनीतिक महासभा संविधान निर्माणको सवाल देशमा रहेका सम्पूर्ण राजनीतिक पार्टीहरुको चासोको विषय हो । देशमा कस्तो संविधान बनाउने भन्ने विषयलाई प्रत्येक राजनीतिक पार्टीले महत्वका साथ लिएका छन् । सबै राजनीतिक पार्टीका फरक फरक मूल्य र मान्यता रहेका छन् । आफ्ना विधान ,घोषणापत्रमा उल्लेख भएका पार्टीगत विचारलाई संविधान निर्माण गर्दा कतै न कतै समेटौँ भन्ने उनीहरुको उद्वेश्य रहेको हुन्छ । अत देशको संविधान कस्तो बनाउने भन्ने विषयमा अस्तित्वमा रहेका सम्पूर्ण राजनीतिक पार्टीवीच गम्भीर ढंगले बहश छलफल हुनपर्दछ । यदि त्यस्तो गरियो भने सबै राजनीतिक पार्टीले खुल्ला तथा स्पष्ट रुपमा आफ्ना विचारहरु प्रकट गर्न सक्दछन् । उनीहरुका सन्तुष्टि र असन्तुष्टि के के हुन भनी प्रत्यक्ष थाहा हुन्छ लोकतान्त्रिक मूल्य र मान्यता अनुसार ती असन्तुष्टिहरुको समाधान गर्न सकिन्छ । निश्चित विधि र प्रकृया पुरा गरी संविधान निर्माणमा देखा परेका समस्या र चुनौतिहरुलाई समाधान गर्न सकिन्छ । यदि सर्वदलीय राजनीतिक महासभा गरियो भने सबै दलहरुले संविधान निर्माणका विषयमा आफ्ना राय सुझाव राख्न सक्दछन् । यसरी सर्वदलीय राजनीतिक महासभा आयोजना गर्दा साना देखि ठूला राजनीतिक पार्टीका उच्चपदस्थ अधिकारीहरु सहभागी हुन्छन् । उनीहरुले संविधानमा के के राख्न पर्ने र के के राख्न नपर्ने भनी खुलम्खुल्ला आफ्ना विचार राख्दछन् । राखिएका तथा महासभाको समयमा उठेका सबै विचारलाई समेट्नै पर्छ भन्ने कुरा पनि छैनन् । जुन कुरा नराखी हँुदैन त्यसलाई समेट्ने र जुन कुरा नराखेपनि हुन्छ भने त्यस्ता सुझाव तथा विचारलाई छुट्टै दस्तावेजको रुपमा राख्न सकिन्छ । यो नै नागरिकमुखी संविधान निर्माणको उत्तम विकल्प हो । तसर्थ सर्वदलीय राजनीतिक महासभावाट नागरिकमुखी संविधान निर्माण गर्न सकिन्छ । संविधानविद् तथा विज्ञहरुको सभा संविधान निर्माणको विषय एकदम जटिल विषयवस्तु हो । संविधान बनाउनु कुनै जोक र ठट्टाको विषयवस्तु हैन । संविधान निर्माण गर्न संविधानविद् तथा विज्ञहरुको सभा बोलाउनु पर्छ । संविधान बनाउन आवश्यक पर्ने विधि तथा प्रकृया ,समेट्न पर्ने विषयवस्तु लगायतका कुराहरुलाई निर्णायक रुपमा टुङ्ग्याउनको लागि संविधानविद् तथा विज्ञहरुको सभा बोलाउन पर्ने हुन्छ । साँच्चै हामीले नागरिकमुखी संविधान निर्माण गर्ने हो भने संविधान निर्माणका महत्वपूर्ण कार्य सहज ढंगवाट अगाडि बढाउने हो भने संविधानविद् तथा विज्ञहरुको सभाको आयोजना गर्नपर्दछ । त्यस्तो गर्न सकेको खण्डमा दिगो र भरपर्दो संविधान बन्न सक्दछ । संविधान निर्माण परामर्श समितिको गठन संविधान निर्माण गर्न विभिन्न पक्षको परामर्श तथा रायको आवश्यकता पर्ने हँुदा त्यस्ता राय तथा परामर्शको लागि संविधान निर्माण परामर्श समितिको गठन गर्न सकिन्छ । यदि त्यस्तो गर्न सकेको खण्डमा सही ढंगले संविधान निर्माणको कार्य अगाडि बढाउन सकिन्छ । संविधानमा विभिन्न तह र तप्कामा रहेका नागरिकका आवाजलाई सम्वोधन गर्न तथा उनीहरुको विविध पक्षलाई समेट्न पनि संविधान निर्माण परामर्श समितिको गठन गर्न पर्दछ । आफ्नो लागि संविधान बनाउने अवसर पटक पटक आउने हैन यो अवसर युगमा एक पटक मात्र आउने हँुदा यो अवसरलाई त्यतिकै खेर फाल्न हँुदैन । माथि उल्लेखित विधि र प्रकृया अनुसार संविधान निर्माण गर्ने हो भने दिगो संविधान निर्माण हुन्छ । यदि हामीले माथि उल्लेखित विधि र प्रकृयालाई ख्याल नगरी जवरजस्त संविधान निर्माण गर्न खोज्यौँ र बनायौँ भने त्यो संविधानले लामो समय सम्म बाँच्न सक्ने छैन । त्यस्तो संविधानले सबैलाई समेट्न सक्ने छैन । सबैले त्यसलाई समर्थन गर्न सक्ने छैनन् । जारी भएकै भोलिपल्ट त्यो संविधानमा आगो लाग्न सक्छ । संविधान बन्नु र नबन्नुमा खासै अन्तर रहने छैन । तसर्थ हामीले माथि उल्लेखित विधि प्रकृया अनुसार संविधान बनायौँ भने त्यो सबैलाई फलदायी हुन्छ र नागरिकमुखी संविधान बन्न सक्छ । यो विषयमा सबैले सोचुन् जनताको लागि संविधान बनाउछु भन्नेहरुको घैँटोमा बेलैमा घाम लागोस् सबैलाई चेतना भया ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु