राष्ट्रपति लड्दा २७ बडीगार्डको जागिर चट्

२०७१ माघ २९ गते, बिहीबार

काठमाडौँ । जिम्बाबेका राष्ट्रपतिले विमानस्थलमा आफु लड्दा समेत नजोगाएको भन्दै आफ्ना २७ जना बडीगार्डलाई बर्खास्त गरेका छन् ।गएको हप्ता राजधानी हरारेको विमानस्थलमा राष्ट्रपति रोबर्ट मुगाबे सिँढी ओर्लिने क्रममा लडेको घटना निकै चर्चित भएको थियो ।बुढ्यौलीले गलेका ९० वर्षका राष्ट्रपती मुगाबेले विमानस्थलको रेडकार्पेटमा आफु बेइज्जत हुनेगरी लड्नबाट आफुलाई नजोगाएको झोँकमा उनले आफ्ना सबै बडीगार्डलाई बर्खास्त गरेका हुन् ।मुगाबे विमानस्थलमा लडेको घटना अन्तराष्ट्रिय संचार माध्यममा निकै चर्चित मात्र बनेन सोसल मिडियाहरुमा समेत भाइरल बन्यो ।ह्यासट्यागमा सोसल मिडियाहरुमा उनी निकै हाँसोको पात्र बने । सोसल मिडिया प्रयोगकर्ताहरुले मुगाबे लडेको तस्वीरलाई बदलेर विभिन्न रुपमा प्रस्तुत गर्न भ्याए ।
यो घटनापछि निकै गम्भीर बनेको जिम्बाबे सरकारले त्यसको छानविन गर्दै राष्ट्रपति लड्नुको दोषी उनका सुरक्षा गार्डहरु भएको ठहर गर्यो । त्यति ठूलो संख्यामा सुरक्षा गार्ड हुँदा समेत राष्ट्रपतिलाई सुरक्षित बनाउन नसकेको र लड्नबाट नबचाएको निष्कर्ष निकाल्दै सबैलाई निलम्बन गरियो ।
‘राष्ट्रपतिको सुरक्षा टोली दिउँसै निदाइरहेको थियो, त्यहीँ भएर घटना घट्यो । कारवाही स्वरुप उनीहरुलाई निलम्बन गरियो’ जिम्बाबेको सुरक्षा श्रोतलाई उधृत गर्दै मेट्रो अनलाइनले उल्लेख गरेको छ ।
राष्ट्रपतिका बडिगार्डहरु मात्र होइन हवाइ सैनिक, अगुवा सैन्य टोली र सुरक्षा विभाग समेत अनुसन्धानको घेरामा परेका छन् । त्यसैले राष्ट्रपतिलाई लडाएको आरोपमा अन्य सुरक्षा अधिकारीहरु समेत चिप्लिने सम्भावना देखिएको छ ।
पुराना बडीगार्ड बर्खास्त भएसँगै मुगाबेको सुरक्षामा नयाँ बडिगार्ड नियुक्त भएका छन् । मुगाबेले जाम्बियाका राष्ट्रपतिसँग गरेको भेटवार्तामा नयाँ बडीगार्ड देखा परेका थिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु