काठमाडौं र भक्तपुर गाविसविहीन

२०७१ मंसिर १७ गते, बुधबार

काठमाडौ ।मन्त्रिपरिषद् अन्तर्गत विकास समितिको मंगलबार बसेको बैठकले काठमाडौं र भक्तपुरलाई गाविसविहीन बनाएको छ । स्थानीय विकास मन्त्रालयका अनुसार काठमाडौंमा ९, ललितपुरमा ३ र भक्तपुरमा ४ वटा नयाँ नगरपालिका थपेको छ ।मन्त्रालयका प्रवक्ता पूर्णचन्द्र भट्टराईका अनुसार काठमाडौंमा गोकर्णेश्वर, दक्षिणकाली, तारकेश्वर, शंखरापुर, चन्द्रागिरि, कागेश्वर मनोहरा, टोखा, नागार्जुन र बुढानीलकण्ठ छन् । त्यस्तै, भक्तपुरमा अनन्तलिंगेश्वर, सूर्यविनायक, चाँगुनारायण, महामञ्जुश्री नगरकोट छन् । भक्तपुरका नगरपालिकाको नाम धार्मिक स्थलबाट राखिएको छ ।
ललितपुरका धापाखेल, सुनाकोठी, हरिसिद्धिलाई ललितपुर उपमहानगरपालिकामा गाभिएको छ । त्यस्तै, गोदावरी, कार्यविनायक, महालक्ष्मी नयाँ नगरपालिका बनेका छन् । ८८ गाविस गाभेर १६ नगरपालिका बनाएको हो । यसमा चन्द्रागिरि नगरपालिकामा सबैभन्दा बढी ११ गाविस गाभिएका छन् । ६ गाविस गाभेर बनाइएको बुढानीलकण्ठ नगरपालिकामा सबैभन्दा बढी १ लाख ७ हजार ९ सय १८ जनसंख्या छ ।यसैगरी, ५ वटा गाविस गाभेर नगरपालिका भएको गोकर्णेश्वरमा १ लाख ७ हजार ३ सय ५१ जनसंख्या छ ।
भक्तपुरको महामञ्जुश्री नगरकोट गाविसको भने सबैभन्दा कम २२ हजार ९ सय ८ जनसंख्या छ । काठमाडौं र ललितपुरमा एउटा नगरपालिकामा कम्तीमा ५ वटा गाविस रहे पनि भक्तपुरमा ४ वटा गाविसलाई एउटा नगरपालिका बनाइएको छ । क्षेत्रफलका हिसाबले ६ वटा गाविस गाभिएर बनेको शंखरापुर नगरपालिका सबैभन्दा ठूलो भएको छ । उसको क्षेत्रफल ६० दशमलव २ वर्गकिलोमिटर रहेको छ । त्यस्तै, सबैभन्दा कम ४ वटा गाविस गाभिएर बनेको अनन्तलिंगेश्वर नगरपालिकाको क्षेत्रफल १८ दशमलव १ वर्गकिलोमिटर मात्रै छ । सबैभन्दा धेरै वडा चन्द्रागिरि नगरपालिकामा २३ हुने भएको छ । कम वडामा ललितपुरका गोदावरी नगरपालिकाका १२ वडा मात्रै हुनेछन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु