१८औं सार्क शिखर सम्मेलन आज सुरु हुँदै

२०७१ मंसिर १० गते, बुधबार


काठमाडौ, १० मंसिर । तीन दशकअघि स्थापना भएको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को १८ औं शिखर सम्मेलन तेस्रोपटक आज काठमाडौंमा हुँदैछ। नेपालले २७ वर्षअघि तेस्रो र १२ वर्षअघि ११ औं शिखर सम्मेलन काठमाडौंमा आयोजना गरेको थियो।
तेस्रो शिखर सम्मेलन प्रज्ञाप्रतिष्ठान कमलादी र ११ औं शिखर सम्मेलन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँबानेश्वरमा भएको थियो। यसपटक सम्मेलन राष्ट्रिय सभागृहमा हुँदैछ। यसपटक सार्क सम्मेलनको नारा ‘शान्ति र समृद्धिका लागि गहन एकता’ भन्ने छ।
माल्दिभ्सका राष्ट्रपति अब्दुला यामिनले सम्मेलनको औपचारिक सुरआत गरेपछि प्रधानमन्त्री सुशील कोइरालालाई अध्यक्षता हस्तान्तरण गर्नेछन्। त्यसपछि कोइरालाको अध्यक्षतामा सम्मेलन सञ्चालन हुनेछ।
सम्मेलनमा ४९ वर्षका भुटानी प्रधानमन्त्री सबैभन्दा कान्छा छन् भने सबैभन्दा जेष्ठ ७५ वर्षीय कोइराला छन्। आगामी शिखर सम्मेलन गर्ने पालो पाकिस्तानको हुनेछ। त्यसपछि श्रीलंकाले आयोजना गर्नेछ। श्रीलंकापछि अहिलेसम्म आयोजक बन्न पाएको अफगानिस्तानमा सम्मेलन हुनेछ।
सम्मेलनमा सहभागी हुन श्रीलंकाका राष्ट्रपति महिन्दा राजापक्षे, अफगानिस्तानका राष्ट्रपति असरफ घानी, पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफ, बंगलादेशकी प्रधानमन्त्री सेख हसिना, माल्दिभ्सका राष्ट्रपति अब्दुल्लाह यामिन, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे मंगलबार काठमाडौं आइपुगेका छन्। हसिना र राजपाक्षे सार्कमा सबैभन्दा अनुभवी नेता मानिन्छन् भने अन्य ६ जना नेता सार्कका लागि नयाँ अनुहार हुन्।
चीन, अमेरिका, दक्षिण कोरिया, मोरिसस, युरोपेली संघलगायत नौवटै पर्यवेक्षक मुलुक तथा संस्थाका प्रतिनिधि पनि काठमाडौं आइसकेका छन्। पर्यवेक्षकले आफ्नो मन्तव्य पाँच मिनेटभित्र सक्नुपर्नेछ।
अफगानिस्तानका निमित्त परराष्ट्रमन्त्री जरार अहमद ओस्मानी, बंगलादेशका परराष्ट्रमन्त्री अब्दुल हसान महमुद अली, भुटानका परराष्ट्रमन्त्री लियोन्पो रिन्चिन दोर्जे, भारतका विदेशमन्त्री सुष्मा स्वराज, माल्दिभ्सका परराष्ट्रमन्त्री दुन्या मौमुन, पाकिस्तानका प्रधानमन्त्रीका राष्ट्रिय सुरक्षा तथा परराष्ट्र मामिला सल्लाहकार सरताज अजिज सोमबार नै काठमाडौं आइपुगेका थिए। श्रीलंकाका विदेशमन्त्री गमिनी लक्ष्मन पेइरिस भने मंगलबार बिहान आइपुगे।
परराष्ट्र मन्त्रालयका अनुसार सार्क मन्त्रीस्तरीय बैठक मंगलबार निष्कर्षमा नपुगेपछि बुधबार पहिलो चरणमा मन्त्रीस्तरीय बैठक हुनेछ, त्यसपछि शिखर सम्मेलन उद्घाटन हुनेछ। बिहीबार बिहान आठ बजे सबै नेताहरूलाई रिट्रिटका लागि धुलिखेलको द्वारिकाज होटेल लगिनेछ।
सञ्चारमाध्यमलाई प्रवेश नदिइएको उक्त कार्यक्रममा सार्क नेताहरूबीच अनौपचारिक कुराकानी हुनेछ। यसलाई सम्बन्ध विस्तारका हिसाबले महत्त्वपूर्ण अवसर मानिएको छ। त्यही बेला प्रथम महिलाहरूले भक्तपुर भ्रमण गर्नेछन्। सार्क शिखर सम्मेलनको समापन बिहीबार हुने कार्यक्रम छ।
सम्मेलनमा चीन, अमेरिका, दक्षिण कोरिया, मोरिसस, युरोपियन युनियनलगायत नौवटै पर्यवेक्षक मुलुकका प्रतिनिधि पनि काठमाडौँ आइसक्नुभएको छ । गरिबी निवारण, क्षेत्रीय सुरक्षा र आर्थिक विकासको मुख्य लक्ष्य लिएर तीन दशकअघि सन् १९८५ डिसेम्बर ७ र ८ मा बङ्गलादेशको ढाकामा प्रथम सम्मेलन गरी सुरु भएको सार्कको यात्रा १८ औँँ सम्मेलनसम्म आइपुग्दा अपेक्षित गति लिन सकेको पाइँदैन । त्यसो त, सार्क सुरक्षा र विकासका लागि उत्तिकै केन्द्रित हुँदै आएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु