सार्कका प्रमुखहरु नेपाल आउदै

२०७१ मंसिर ९ गते, मंगलवार


काठमाडौं । दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन सार्कको अठारौ शिखर सम्मेलनमा सहभागी हुन सदस्य मुलुकका राष्ट्राध्यक्ष र सरकार प्रमुखहरु आज काठमाडौं आउँदै छन् । शान्ति र समृद्धिका लागि गहन सम्मेलन भन्ने सन्देशका साथ यही मङ्सिर १० र ११ गते हुने शिखर सम्मेलनमा सहभागी हुन अफगानिस्तान, बङ्गलादेश, भारत, भुटान, माल्दिभ्स, पाकिस्तान र श्रीलंकाका राष्ट्राध्यक्ष र सरकार प्रमुखको आगमन हुन लागेको हो ।
सम्मेलनमा अफगानिस्तानका राष्ट्रपति मोहम्मद असरफ घानी, माल्दिभ्स र श्रीलङ्काका राष्ट्रपति क्रमशः अब्दुल्ला यामिन अब्दुल गैयुम र महिन्दा राजपाक्षेले आआफ्ना मुलुकका प्रतिनिधिमण्डलको नेतृत्व गनैछन् ।
त्यसैगरी सरकार प्रमुखमा रहेका बङ्गलादेश, भुटान, भारत र पाकिस्तानका प्रधानमन्त्री क्रमशः शेख हसिना वाजेद, ल्योन्छेन छिरिङ तोब्गे, नरेन्द्र मोदी र नवाज शरीफ शिखर सम्मेलनमा भाग लिन आजै काठमाडौं आइपुग्दै छन् ।
उनीहरुलाई विमानस्थलमा उपप्रधानमन्त्रीसहितको टोलीले स्वागत गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले् जनाएको छ । विमानस्थलदेखि सोल्टी होटलसम्मको सवारी मार्गका विभिन्न भागमा नेपालका विविध जाति र समुदायले आआफ्नो वेशभूषा झल्किने परम्परागत पहिरनमा विशिष्ट अतिथिको मुलुकका राष्ट्रिय झन्डा फहराउनका साथै परम्परागत बाजा बजाएर उनीहरूको स्वागत–अभिवादन गरिने कार्यक्रम पनि तय गरिएको छ ।
भोलि बिहान सार्कका वर्तमान अध्यक्ष माल्दिभ्सका राष्ट्रपति गैयुमले १८ औँ शिखर सम्मेलन सुरु भएको घोषणा गरेपछि सार्कको अध्यक्षता ग्रहण गर्दै प्रधानमन्त्री सुशील कोइरालाले उद्घाटन मन्तव्य व्यक्त गर्ने कार्यक्रम तय गरिएको छ ।
सम्मेलनमा सहभागी पर्यवेक्षक अस्ट्रेलिया, चीन, इरान, जापान, दक्षिण कोरिया, मौरिसस, म्यान्मार, संयुक्त राज्य अमेरिका र युरोपेली संघका प्रतिनिधिले पनि मन्तव्य प्रकट गर्ने कार्यक्रम बनाइएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु