मोदीको जादू – डा. टीकाराम पोखरेल

२०७१ श्रावण २३ गते, शुक्रबार


भारत-पाकिस्तान, रुस-अमेरिका वा उत्तरकोरिया-दीक्षिणकोरिया बीचको जस्तो प्रतिस्पर्धी नभए पनि नेपाल-भारत बीचको सम्बन्ध इतिहासदेखि नै विवादास्पद रहँदै आएको छ । शत्रुतापूण नै त भन्न मिल्दैन तर हार्दिकतापूण भन्न पनि सकिँदैन । सीमा विवाददेखि जलस्रोतको विषय, व्यापार तथा पारवाहन सन्धिदेखि लिएर सपुदगी सन्धिसम्मका कुनै न कुनै कुराले नेपालभारत सम्बन्ध निरन्तर उतारचढावपूण रहँदै आएको छ । यस्तो उतारचढावकै बीच पछिल्लो पटक भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको भ्रमण गरे । उनको भ्रमणले नेपाल-भारत सम्बन्ध बीचको शंका उपशंकालाई केही हदसम्म राहत दिएको छ । खासगरी मोदीले संविधानसभामा गरेको सम्वोधनपछि नेपाल-भारत सम्बन्धलाई अब नयाँ शिराबाट परिभाषित गर्नुपर्छ भन्नेहरुको एउटा ठूलै जमात देखिन थालेको छ ।
नेपाल आएकै दिन मोदीले नेपालको संविधानसभालाई संवोधन गरे । संवोधन मात्र भएको भए सामान्य हुन्थ्यो, तर उनको भाषण जादूमय मात्र होइन पूरै कवितात्मक पनि रह्यो । नेताहरुकै भाषामा भन्ने हो भने मोदीले अत्यन्तै उत्साहप्रद संवोधन गरे । धेरैको बुझाइमा मोदी नेपालको विकासमा सकारात्मक देखिए । उनको जादुमय संवोधनमा हाम्रा नेता लठ्ठै भए मानौँ हाम्रा नेताहरुले आजसम्म त्यस्तो भाषण सुनेकै थिएनन् । आपनो भाषणमा विपक्षीहरुमाथि सधैँ विष वमन गर्ने नेताहरुले हार्दिकतामय र अर्थपूण भाषण सुन्दा भाङ खाएको मान्छे झैँ लठ्ठ हुनु कुनै नौलो कुरा पनि थिएन ।
नरेन्द्र मोदी वाक्पटुता भएका नेता हुन् । वाक्पटुताकै कारण उनी गुजरातको मुख्यमन्त्री मात्र होइन सिंगो भारतको प्रधानमन्त्रीको पदभार समेत सम्हाल्न पुगेका हुन् । त्यसो त उनी नेपालका नेताको जस्तो कुरा मात्र होइन काम पनि गर्छन् । मोदी जे बोल्छन् त्यो गर्छन् जे गर्न सक्छन् त्यति मात्र बोल्छन् भन्ने कुरा उनले छोटो समयमा गुजरातमा गराएको ठूलो परिवर्तनले देखाइसकेको छ । तर मोदीको यो जे बोल्ने त्यो गर्ने र जे गर्ने त्यो मात्र बोल्ने कुरा नेपालको सर्न्दर्भमा पनि लागू होला कि भारतको सर्न्दर्भमा मात्र होला भन्ने कुरा चाहिँ अलि विचारयोग्य नै छ ।
मोदीको संविधानसभाको संवोधनपछि नेपाल भारत सम्बन्धका धेरै सवालहरुमा सकारात्मक धारणाहरु आइरहेका छन् । हिजो भारतीय नेताहरुको सत्तोसराप गर्नेहरु रातारात परिवर्तन भएका छन् । एक किसिमले मोदीको जयजयकार गरिरहेका छन् मानौँ कि मोदी अब हाम्रा विधाता हुन् । कतिपयका अभिव्यक्ति त यस्ता पनि लाग्दै छन् कि अब मोदीले नेपाललाई भारत जति विकसित मात्र नभएर पूरै युरोप अमेरिका नै बनाइदिन्छन् । उनी नेपालीहरुलाई शस्त्रको अन्धकारबाट शास्त्रको उज्यालेमा पुर्याउने सारथी हुन् ।
हिजोसम्म नेपाललाई भारतले खत्तमै पार्छ, स्वात्तै खान्छ, विकास हुन दिँदैन, राजनीति निकास निस्कनै दिँदैन, सरकारलाई काम गर्नै दिँदैन भन्ने नेताहरुका दिमागलाई मोदीले मात्र ४५ मिनेटको भाषणबाट परिवर्तन गरिदिएका छन् । यसबाट के पुष्टि हुन्छ भने हाम्रा नेताहरुको भारतलाई हेर्ने दृष्टिकोण कति सतही रहेछ, कति क्षणिक रहेछ र कति साँगुरो रहेछ । हिजो जो नेताहरुको दिमागमा भारतले नेपाललाई र्सर्धैँ पैतालामुनि राख्छ भन्ने भ्रम थियो आज तिनै नेताहरुमा भारतले नेपाललाई त गुजरात झैँ झिलिमिली पो बनाइदिने रहेछ भन्ने झनै ठूलो भ्रम उत्पन्न भएको छ । स्मरण रहोस् मोदीको एजेण्डा नेपाललाई गुजरात बनाउने होइन सम्पर्ूण्ा भारतलाई गुजरात बनाउने हो, अझ सकिन्छ भने युरोप, अमेरिका र सिंगापुर नै बनाउने हो ।
मोदीले नेपालको धेरै प्रसंशा गरे । नेपालीको पनि प्रशंसा गरे । बुद्ध र पशुपतिको नाम लिन पनि छाडेनन् । नेपाललाई धेरै दिने कुरा पनि गरे । सीमा विवाद जस्तो गम्भीर विषय बाहेक मोदीले नेपालको बारेमा एक एक ज्ञान भए झैँ गरी नेपालीलाई चकित पारे । तर हाम्रा नेताले बुझ्नुपर्ने कुरा के भने कुटनीतिमा अरुको प्रशंसा नै गरिन्छ, कसैले पनि लिन्छु भन्दैन दिन्छु नै भन्छ । त्यसैले कुरा प्रशंसा गर्यो कि गरेन वा दिन्छु भन्यो कि भनेन महत्वपूण होइन । बरु प्रशंसा किन गर्यो – किन दिन्छु भन्यो – दिन्छु मात्र भन्यो कि दियो – भन्ने हो । सँगसँगै दियो नै भने पनि अरुले दिएर देश बन्छ त भन्ने पनि हो । त्यसैले भाषण सुनेकै भरमा विना विश्लेषण मोदीले सब थोक दिन्छन् भनेर कोही भ्रममा नपरे हुन्छ । मोदीले दिएछन् नै भने पनि मोदीको निगाहले देश बन्दैन । जबसम्म नेपालीका पौरखी हातहरु एठ्दैनन् तबसम्म मोदीले त के अमेरिकी राष्ट्रपति बाराक ओबामादेखि बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनसम्म र रुसका राष्ट्रपति पुटिनदेखि चिनिया राष्ट्रपति हु जिन्ताओसम्मकाले आफ्नो देशको सबै ढुकुटी नेपालमा खन्याए पनि नेपाल बन्नेवाला छैन । संसारमा कतै पनि यस्तो उदाहरण छैन जुन देश विदेशीले बनाइदिएको होस् । यसले बरु परनिर्भरता बढ्दै जान्छ ।
बुद्ध नेपालमा जन्मेका हुन्, नेपाल जलस्रोतमा धनी छ जसले बिजुलीका माध्यमबाट भारतलाई समेत उज्यालो बनाइदिनसक्छ जस्ता मोदीले भनेका कुराबाट नेपालका नेताहरु ज्यादै प्रभावित भएको देखियो । मोदीले र्सवसाधारणसँग हात मिलाएकोदेखि लिएर नेपाली भाषामा गरेको भाषणको पनि र्सवसाधारणमा ज्यादै प्रशंसा सुनियो । तर यसमा के तुक छ – बुद्ध नेपालमा जन्मेका हुन् र नेपाल जलस्रोतमा धनी छ जसले भारतलाई समेत बिजुली दिन सक्तछ भन्ने कुरा अकाट्य सत्य हुन् । यी कुरा मोदीको मुखारविन्दबाट निस्केपछि मात्र बुद्ध नेपालमा जन्मेको हुने र नेपाल जलस्रोतमा धनी हुने हो र – होइन । न त नेपालमा आएर मोदीले ५ मिनेट नेपाली भाषामा बोल्दैमा नेपाल र नेपाली भाषाको सम्मान नै हुने हो । नेपालीमा बोलेर मोदीले कुनचाहिँ अलौकिक काम गरे जबकी हाम्रा नेताहरु भारत जाँदा हिन्दीमै बोल्छन्, बेलायत वा अमेरिकातिर पुगे भने अंग्रेजीमै बोलेर फर्किन्छन् । त्यसैले कसैले कसैको भाषा बोलिदिँदैमा हामीले खुशीले खुट्टा उचालेर उप्रिmनु पर्दैन ।
मोदीले र्सवसाधारणसँग हात मिलाएको कुरा पनि कुनै नौलो होइन । जनताको शक्तिमा विश्वास गर्नेहरु जहिले पनि जनतालाई सम्मान गर्दछन् । जहिले पनि जनताकै माझमा रमाउँँछन् । जो मोदी पनि एक हुन् । हाम्रा नेता चुनावमा बाहेक जनतासँग हात मिलाउन घिन मान्ने भएकाले मोदीले र्सवसाधारण नेपालीसँग हात मिलाएको कुरा हामीलाई अलिकति नौलो लाग्नु चाहिँ स्वाभाविक हो तर अलौकिक चाहिँ होइन । नेपाली जनता हुन् वा नेता यस्ता तपसिलका कुरालाई आधार मानेर मोदीलाई अलौकिक ठान्छौँ भने ती सबै हाम्रा दर्रि्र मानसिकताका उपज मात्र हुन् ।
मोदी एउटा सफल नेता हुन् । हुन सक्तछ राजनेता नै किन नहुन् । तर स्पष्ट छ, नेता वा राजनेता जे भए पनि मोदी नेपाललाई दिन आएका होइनन् नेपालसँग लिन आएका हुन् । कुनै पनि राष्ट्रले आजको दुनियाँमा अरुलाई जति दिन्छ त्यो भन्दा बढी नै लिन्छ । खासगरी शक्तिशाली राष्ट्रले अल्पविकसित मुलुकसँग त लिने नै हो । भ्रम नहोस् लिने दिने धन मात्र हो र लिने गरिबले र दिने धनीले मात्र हो । कुटनीतिमा धन बाहेक पनि लिने धेरै कुरा छन्, जो धनीले गरिबसँग लिन्छन् । मोदी पनि नेपाललाई दिनेमा भन्दा लिनेमा पर्छन् ।
शिकार गर्नको लागि चारो चाहिन्छ । चारो विना शिकार हात लाग्दैन । नेपालबाट केही प्राप्त गर्न भारतले पनि नेपालमा चारो नछरी हुँदैन । मोदीले पनि नेपालबाट ठूलो कुरा प्राप्त गर्न संविधानसभामा सानो सानो चारो फालेका हुन् । “चारो” शब्द कुटनीतिमा अलि तीतो हुनसक्तछ, तर वस्तुगत यथार्थ यही हो । यो यथार्थलाई नबुझी मोदीले नेपाललाई संसारै दिन लागेको भनी कसैले भ्रम पालेको छ भने त्यसले कुटनीतिक भाषा नबुझेको हुन्छ । कुटनीति अलि जादूमय नै हुन्छ । संसारमा जादुमय भाषण धेरै हुन्छन् । तर जतिसुकै मिठो भए पनि भाषणले पेट भर्दैन र जादूले एकछिन आँखामा भ्रम छरे पनि भित्री वास्तविकता अर्कै हुन्छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु