घातक भाइरस नियन्त्रण गर्न विश्व बैङ्कको सहयोग

२०७१ श्रावण २० गते, मंगलवार


काठमाडौं। विश्व बैंकले पश्चिमी अफ्रिकी मुलुकमा फैलिएको इबोला भाइरसको महामारी नियन्त्रणका लागि २० करोड डलरको आकस्मिक सहयोगको घोषणा गरेको छ ।यो रकम अल्पकालिन र दीर्घकालिन रुपमा महामारीको नियन्त्रण र निवारणमा खर्च गर्ने गरी विश्व स्वास्थ्य संगठन तथा लाइबेरिया, सियरालिओन र गिनीका सरकारलाई प्रदान गरिनेछ । अल्पकालिन योजना अन्तर्गत स्वास्थ्यकर्मीलाई प्रदान गर्न, स्थानीय समुदायमा रोगका बारेमा फैलिएको हल्ला हटाउन र बिरामी परेकाहरुको तात्कालिन आवश्यकता पूरा गर्न प्रयोग गरिने बिबिसीले जनाएको छ ।
यस्तै दीर्घकालिन रुपमा इबोला भाइरसको विस्तारको निगरानी राख्न र महामारीका कारण प्रभावित देशमा परेको आर्थिक प्रभाव हटाउनका लागि खर्च गरिनेछ । विश्व बैंकका अध्यक्ष जिम योङ किमले इबोला भाइरसको बढ्दो महामारी र तीन देशमा यसअघि नै कमजोर रहेको स्वास्थ्य सेवालाई महामारीले पारेको गम्भीर प्रभावप्रति आफू चिन्तित रहेको बताउनुभयो । महामारी फैलिनबाट तत्काल रोक्न नसके यसले अझै धेरै जीवन जोखिममा पर्ने भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभएको छ ।
यसैबीच अफ्रिकी मुलुक नाइजेरियामा इबोलाको दोश्रो बिरामी फेला परेका छन् । लाइबेरियाबाट फर्किएका एक जना बिरामीको उपचार गरिरहेका डाक्टरमा इबोला भाइरस भेटिएको हो । संयुक्त राष्ट्रसंघका अनुसार इबोला भाइरसका कारण ज्यान गुमाएकामध्ये ६० जना भन्दा बढी स्वास्थ्यकर्मी रहेका छन् ।

प्रतिक्रियाहरु