निरिह र गैह्र जिम्मेवार सरकार – दिपक जलन

२०७१ श्रावण १९ गते, सोमबार


गत शनिवार सिन्धुपाल्चोकको जुरे भन्ने स्थानमा रातको करिव ३ बजेतिर सुनकोशी नदीमा पहाडै खसेर नदी थुनिएपछि त्यँहाका सिंगो गाँउ नै नदिमा डुब्यो । पहिरोमा परि कत्ति मानिस बेपत्ता भएका छन् भन्ने यकिन तथ्याङक अहिले सम्म राज्यले दिन नसके पनि करिव १५० जना भन्दा बढि मानिस बेपत्ता भएको अनुमान गरिएको छ । घटनास्थलबाट लेख तयारपार्दा सम्म १८ जनाको शव फेला परिसकेको छ भने एउटा हात फेला परेको समाचार बाहिर छ । जुरेमा भएको सो घटनास्थल राजधानीबाट धेरै टाढा त होइन नै तर त्यहाँका जनतालाई हजारौ माइल टाढा भएजस्तो भएको छ यति बेला । राज्यको लाचारीपनले गर्दा आफ्न्त र सारा धनसम्पती गुमाएर दुखित बन्न पुगेको सिन्धुपाल्चोकका पहिरो पिडित जनता त्यो भन्दा पनि राज्यले गरेको वेवास्ता प्रति अझै धेरै दुखित भएका छन् । शनिवारको मध्येरातमा कसैले कल्पना नै नगरेको भयानक र त्रासदी पूर्ण प्राकृतिक दुर्घटना पछि जुरेका भाग्न सक्ने जति र दौडन सक्ने जतित दौडिए भागे नै तर दौडन र भाग्न नसक्नेहरुसंग मुत्यु कुरेर बस्नु बाहेक अन्य के नै बिकल्प हुन्थ्यो र ! सिन्धुपाल्चोक मात्र होइन यो भयानक प्राकृतिक बिपत्तीमा कुन नेपालीको मन रोएको छैन होला र ! यति नै बेला १७ बर्षपछि पहिलो पटक भारतका शक्तिशाली प्रधानमन्त्री नरेन्द्र भाइ मोदीको नेपाल भ्रमण प¥यो । भ्रमण महत्वपूर्ण छ भन्नेमा सायद कसैको दुईमत त छैन होला ? भारतिय प्रधानमन्त्रीको उच्च सन्मानका लागि तयारी पनि एउटा महत्वपूर्ण बिषय नै हो । तर भारतीय प्रधानमन्त्री मोदीको भ्रमणको बाहाना बनाएर राज्यले सिन्धुपाल्चोकका पहिरो पिडित जनता माथी बेवास्ता गर्नु अत्यन्तै दुःखको कुरा हो । यता प्रधानमन्त्रीको स्वागतका लागी करोडौ खर्च गर्न सक्ने सरकार ती बाढी पिडित जनतालाई बिहान बेलुकी हातमुख जोड्ने व्यवस्था तत्काल गर्न किन सक्दैन ? करोडौ खर्च गरेर मोदीको स्वागतका लागि राजधानीको सडक चिल्लो पार्न सक्ने सरकार बर्षायामको झरीमा निथरुक्क भिजेर रात काढ्न बाध्य पहिरो पिडित जनतालाई एकझर पानी ओत्ने पालको व्यवस्था गरेर राख्न सक्दै भने आखिर ती जनतालाई यो देशमा राज्य र सरकार हुनुको के अर्थ छ त? जनता मरीरहेका छन् राज्य भारतिय प्रधानमन्त्रीको भ्रमणलाईमात्र बाहाना बनाएर लाचार कार्यशैलीमा रमाइरहेको छ । गृहमन्त्री बामदेव गौतम घटना घटेको १ दिनपछि मात्र भारतिय प्रधानमन्त्रीसंग भेटगरी सकेपछि घटना स्थल पुग्नुले पनि उहाँकोहरुको पहिलो प्राथमिकता जुरे र आसपासका पहिरो पिडित जनता भन्दा मोदी नै थियो भन्ने प्रष्ट हुन्छ । हुन त नेपाली जनताले राज्यको यस्तो नियति भोगेको यो पहिलो पटक त होइन नै तर यस्ता प्रवृति बारम्बार दोहोरिनुले पनि यो देशका राज्य सञ्चालकहरु जनता प्रति कहिले उत्तरदायी बन्नलान् भन्ने प्रश्न उभ्जीएको छ । बिदेशमा हो भने यस्ता भयानक दुर्घटनामा आफ्ना जनता गुमाउनु पर्दा त्यहाँका शासकहरु शोक मनाउने गर्छन् तर हाम्रो देशका शासकहरु यति ठुलो बिपत्तीमा पनि गम्भीर बन्न सकिरहेका छैनन् । भागेर बाँचेका त्यहाँका जनता भोकभोकै दिनरात काट्न मात्र बाध्य भएका छैनन्, आफ्ना बेपत्ता भएका आफ्न्तको खोजीमा रुदै कराउदै सुनकोशी नदिको तीरमा दिनरात भौतारि रहेका छन् । यता शासकहरु भने यति नै वेला ठूला–ठूला स्टार होटलहरुमा ठूला–ठूला भोज भतेरमा रमाइरहेका छन् । राज्य सञ्चालन गरिरहेका शासकहरु शनिवार दिनैभरि भारतीय प्रधानमन्त्रीको स्वागतका लागि राजधानीको सडकजाम गरेर स्वागतको रिर्हसलमा व्यस्त भए तर सिन्धुपाल्चोकका पिडित जनतासंग दुःख साट्न जाने साहास गरेनन्, सिन्धुपाल्चोकमा बेपत्ता भएका जनताको उद्धारमा जुट्न सकेनन् यत्ति सम्मकी सरकारका मुख्य सचिव लिलामणी पौडेललाई मोदीको स्वागतका लागि भन्दै घटनास्थलमा जान समेत दिइएन । घटना घट्ने बित्तिकै सपनामा जस्तै बिपत्तीमा परेका स्थानिय जनता जीवन र घनसम्पतीको रक्षाका लागि राज्यसंग हार गुहार गर्न थाले तर राज्यको जिम्मेवार स्थानिय निकाय समेत घटना घटेको करिव ८ घण्टा पछि मात्र घटना स्थल पुग्नुले नेपाली जनता प्रती शासकहरु कति उत्तरदायी र जिम्मेवार छ भन्ने प्रष्ट हुन्छ । यसले गर्दा शासकहरुबाट आशा गर्ने कुनै ठाँउ देखिदैन । सिन्धुपाल्चोकका जनता मात्र होइन यो बिपत्तीले देश नै शोकाकुल बनिरहेको छ । यस्तो घडीमा राज्य तदारुकताका साथ जसरी उद्धारमा लाग्नु पर्ने हो त्यो गर्न सकेको छैन् राज्य यति धेरै निरिह र गैह्र जिम्मेवार बनेको देख्दा लाग्छ यो देश सतिले सरापेको देश नै हो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु