विद्रोही समूहद्वारा इराक र सिरियामा इस्लामिक राज्य घोषणा

२०७१ असार १६ गते, सोमबार

काठमाडौ, १६असार । इस्लामिक लडाकु समूह आइएसआइएसले इराक र सिरियामा आफ्नो नियन्त्रणमा रहेका क्षेत्रलाई इस्लामिक राज्यका रुपमा घोषणा गरेको छ ।सरकारी सेनासंग विभिन्न ठाउँमा भिडन्त जारी रहेकै बेला समूहले इस्लामिक राज्य स्थापनासंगै आफ्ना नेता अबु बाकर अल बगदादी राज्यका सर्वोच्च नेताका रुपमा रहने घोषणा पनि गरेको छ ।
इन्टरनेट मार्फत अडियो रेकर्डिङ सार्वजनिक गर्दै आइएसआइएसले उत्तरी सिरियाको एलेप्पोदेखि पूर्वी इराकको दियाला प्रान्तसम्म इस्लामिक राज्य विस्तार गरिने बताएको बिबिसीले जनाएको छ ।
समूहले नयाँ शासन व्यवस्थाप्रति सबै मुस्लिमले आफ्नो आस्था राख्न र लोकतन्त्र र अरु पश्चिमा व्यवस्था अस्वीकार गर्न माग गरेको छ ।
सुन्नि लडाकु समूह आइएसआइएस र सरकारी सेनाबीच उत्तरी शहर तिकरितमा भिडन्त चलिरहेको अन्तर्राष्ट्रिय सन्चारमाध्यमले जनाएका छन् । आइएसआइएसले जुन ११ मा तिकरित शहर नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रियाहरु