आठौ शैक्षिक मेला आजदेखि

२०७१ असार १२ गते, बिहीबार


काठमाडौं, १२ असार । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले विदेश अध्ययन गर्न जान चाहने विद्यार्थीलाई लक्षति गरेको आठौ शैक्षिक मेला बिहीबारदेखि हुदैछ । राजधानीको भृकुटीमण्डपमा आइतबारसम्म चल्ने मेलामा राष्ट्रिय र अन्तर्राष्ट्रिय विश्वविद्यालय, कलेज र शैक्षकि संस्थाबारे परामर्श लिन सक्नेछन् । मेलामा १ सय ६० सामान्य स्टल र २० वटा प्याभिलियन रहने इक्यानका उपाध्यक्ष रामचन्द्र पौडेलले जानकारी दिए । ‘विदेश अध्ययन गर्न जान चाहने विद्यार्थीलाई सत्यतथ्य जानकारी दिन मेला गरेका हौ,’उनले भने,’एकै छातामुनी सबै जानकारी पाइन्छ ।’
विदेशका कलेजहरूमा कस्तो व्यवस्था छ, योग्यता कति चाहिन्छ ? खर्च कति लाग्छ र अन्य अवसरहरू के छन् भनी विद्यार्थीले एउटै छानामुनि जानकारी पाउन मेला उपयुक्त गन्तव्य भएको उनले बताए । मेलामा आएर अभिभावकले पनि भविष्यका लागि कति लगानी गर्ने ? त्यो पढाइको अवसर कत्तिको छ भनी जानकारी पाउन सक्नेछन । ‘बिगतको मेलामा छात्रवृत्तिको घोषणा गरेका थियौं र यो वर्ष पनि गर्दैछौं,’इक्यान अध्यक्ष राजेन्द्र वरालले भने,’मेलामा संकलन भएको रकम पनि सामाजिक हितका काममा उपयोग हुनेछ ।’ १ लाख ५० हजारले अवलोकन गर्ने लक्ष्य लिएको मेलामा विभिन्न देशका कूटनीतिक नियोगको समर्थन रहेको आयोजकले जनाएको छ ।
मेला शिक्षा मन्त्रालय, नेपाल चेम्बर अफ कमर्स, अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्स, उद्योग वाणिज्य संघ, फ्रान्सेली केन्द्र, बि्रटिस काउन्सिलको समेत सहकार्यमा हुने इक्यानले जनाएको छ । मेलामा आउने विद्यार्थीले भारत, चीन, बंगलादेश, जापान, फ्रान्स, अमेरिका, बेलायत, न्युजिल्यान्ड, अस्ट्रेलिया, आयरल्यान्ड, नर्वे, मलेसिया, जर्मनी, रुस, डेनमार्कलगायत मुलुकका कलेज र विश्वविद्यालयबारे जानकारी लिन सक्नेछन् । बेग्लाबेग्लै स्टलबाट प्रभावकारी सूचना प्रवाह गर्ने व्यवस्था गरेको आयोजकले जनाएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु