सेवा शुल्क र ब्याज घटाउ : गभर्नर

२०७० असार १७ गते, सोमबार

काठमाडौं – एनआइसी एसिया बैंकको आइतबार औपचारिक उद्घाटन गर्दै गभर्नर युवराज खतिवडाले प्रतिस्पर्धी बजारमा सेवा शुल्क र ब्याज दरमा सुधार हुनुपर्ने बताएका छन्। उनले बैंक तथा वित्तीय संस्थाको शुल्क र ब्याज दर अपेक्षाभन्दा अझै माथि रहेको भन्दै यसमा सुधार गर्नुपर्ने बताएका हुन्। ‘प्रतिस्पर्धी बजारमा सेवा शुल्क र ब्याजदरमा सुधार हुनुपर्छ, अहिले अपेक्षा गरिएभन्दा माथि छ,’ गाभिएर बनेको एनआइसी एसिया बैंकको आइतबार औपचारिक उद्घाटन गर्दै गभर्नरले भने, ‘ब्याज दर सुधारका प्रयास आफैं गर्नुस्। हामीबाट समाधान नखोज्नुस्।’खतिवडाले बैंक तथा वित्तीय संस्थाले निक्षेपमा दिने र कर्जामा लिने ब्याजको अन्तर (स्प्रेड) फराकिलो भएकोतर्फ संकेत गर्दै यसलाई कम गर्न आग्रह गरे। उनले राष्ट्र बैंकले कार्यान्वयनमा ल्याएको आधार दरमा बैंकहरुले ग्राहकसँग लिने ब्याज दरको तादात्म्यता नमिलेको भन्दै सुधार गर्न बैंकरलाई आग्रह गरे।
वाणिज्य बैंक, विकास बैंक र वित्तीय कम्पनीका सञ्चालक तथा प्रमुख कार्यकारीसमेत उपस्थित कार्यक्रममा गभर्नर खतिवडाले उत्पादनमूलक उद्योगलाई प्रवर्द्धन गर्ने गरी ब्याज दर सुधार हुनुपर्ने औंल्याए।
‘ब्याजदर अन्तर धेरै फरक हुनु हुँदैन। यसलाई तपाईंहरुले सम्बोधन गर्नुपर्छ,’ गभर्नरले भने, ‘सरकार तथा सरोकारवालाले ब्याज धेरै भएकोमा राष्ट्र बैंकले बैंकहरुलाई बढी माया गरेर हो भन्ने परेको छ।’ उनले राष्ट्र बैंकले सबै पक्षको कुरा सुन्नुपर्ने भएकाले स्वेच्छिक रुपमा ब्याजदर घटाउन आग्रह गरे। ‘राष्ट्र बैंकबाट ब्याजदर घटाउनेबारे समाधान नखोज्नुस्, हामीबाट समाधान खोज्नुभयो भने बाहिर सन्देश पनि राम्रो जाँदैन,’ खतिवडाले भने, ‘तपाईहरु (बैंकर) ब्याज दर पुनर्मूल्यांकन गर्दिनुस्।’
गभर्नरले मर्जर बैंक तथा वित्तीय संस्थाको एजेन्डा भएको भन्दै यसमा राष्ट्र बैंकले सहजीकर्ताको भूमिका खेलिदिएको बताए। उनले छुट्टाछुट्टै रुपमा कारोबार गर्दा खर्च बढ्ने भन्दै एकै ठाउँमा बसेर कारोबार विस्तार गर्दा खर्च कम भएर राम्रो आम्दानी हुने बताए।
गभर्नरले मर्जरमा जानका लागि छुट तथा विशेष सुविधा खोज्न नहुने बताए। ‘मर्जर भनेको छुट उपयोग गर्नका लागि होइन, आफ्नो कारोबार विस्तारका लागि हो,’ उनले भने, ‘राष्ट्र बैंकले मर्जरका लागि जहिल्यै सहजीकरण गर्छ। सेवा विस्तार गर्न मर्जर आवश्यक छ।’
गभर्नरले एनआइसी र बैंक अफ एसिया मर्ज भएर देशकै पाँच ठूलो बैंकको सूचीभित्र परेको बताए। ‘ठूलो बैंक भएपछि हाम्रो निगरानी तपाईंहरुलाई बढ्छ,’ उनले भने, ‘ठूला बैंक अप्ठेरोमा परे भने प्रणालीगत जोखिम बढ्छ। त्यही भएर पनि हाम्रो निगरानी बढी हुने हो।’
गभर्नरले पछिल्लो तीन वर्षमा बैंकिङ क्षेत्र स्थिरतातर्फ लम्किएर उत्पादनमूलक क्षेत्रतर्फ कर्जा विस्तार हुन थालेका बताए। ‘म गभर्नर भएर आएको सवा तीन वर्षमा बैंकिङ क्षेत्र स्थिरतातिर गएको छ,’ खतिवडाले भने, ‘उत्पादनमूलक क्षेत्रतिर कर्जा विस्तार भएको छ।’
खतिवडाले बैंक तथा वित्तीय संस्थाको पुँजी वृद्धि गर्न छलफल गर्नुपर्ने बताए। उनलेे पुँजी बढाउन बैंकरहरुसँग औपचारिक छलफल अगाडि बढाइने बताए।
गभर्नरले पुँजी वृद्धि राष्ट्र बैंकको मात्र एजेन्डा नभइ बैंकहरुको पनि भएको बताए। ‘पुँजी वृद्धिको आवश्यकता छ भन्ने लागेर नै बैंकले ऋणपत्र जारी गर्न थालेका छन्,’ उनले भने, ‘पुँजी वृद्धिले जोखिम वहन गर्ने क्षमता बढाउँछ।’
गभर्नरले पुँजी वृद्धिले मात्र बैंक बलियो हुने नभई सुशासन र यसलाई सञ्चालन गर्ने व्यक्ति पनि ठिक हुनु आवश्यक रहेको बताए। उनका अनुसार पुँजी बढी भएको संस्थाप्रति जनविश्वास बढी हुन्छ। पछिल्लो समय राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको पुँजी अझै बढाउन लगाउने चर्चा चलिरहेको छ।
केही समयअघि राष्ट्र बैंकका प्रवक्ता भाष्करमणि ज्ञवालीले नागरिकसँगको कुराकानीमा बैंक तथा वित्तीय संस्थाको पुँजी ५ गुणाले वृद्धि गर्नुपर्ने बेला भइसकेको बताएका थिए। त्यसपछि बैंक तथा वित्तीय संस्थाको पुँजी वृद्धिबारे चर्चा चलेको हो।
कार्यक्रममा एनआइसी एसियाका प्रमुख कार्यकारी अधिकृत शशिन जोशीले मर्जरमा जाने बैंक तथा वित्तीय संस्थालाई सरकार र राष्ट्र बैंकले विशेष छुट तथा सुविधा दिनुपर्ने बताए। उनले मर्जरमा जाने बैंकलाई ३० प्रतिशतको आयकरलाई घटाउनुपर्ने बताए। ‘५ वर्षसम्म आयकर २० प्रतिशतमा झार्नु पर्छ,’ उनले भने, ‘कर्जा–निक्षेप अनुपात पनि ८० प्रतिशतबाट बढाएर ८५ पुर्यारउनु पर्छ।’
एनआइसीसँग बैंक अफ एसिया प्रतिसेयर ५० रुपैयाँका दरले गाभिएको हो। एनआइसी १६ वर्षदेखि सञ्चालनमा थियो भने बैंक अफ एसियाले ६ वर्षदेखि कारोबार गरिरहेको थियो। मर्जरपछि जगेडा कोषसमेत गरेर बैंकको कुल पुँजी ५ अर्ब रुपैयाँ पुगेको छ।
मर्जरपछि बैंकको सञ्चालन नाफा १ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ। ३८ अर्ब निक्षेप रहेको बैंकले ३३ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ। बैंकको ५३ वटा शाखा सञ्चालनमा छन्। एकै ठाउँमा रहेका १३ वटा शाखालाई बैंकले अर्धसहरी क्षेत्रमा स्थानान्तरण गर्ने जनाएको छ। बैंकका ५७ वटा एटिएम सञ्चालनमा छन्। मर्जरपछि बैंकको ग्राहक संख्या २ लाख ७० हजार पुगेका छन्।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु