मत्स्येन्द्रनाथको महास्नान गरिदै

२०७१ बैशाख ३ गते, बुधबार


काठमाडौ, ३ बैशाख । वृष्टि, खेती र खाद्यान्नका देवता मानिने रातो मत्स्येन्द्रनाथको महास्नान -न्हवँ) बुधबार साँझ लगनखेलको न्हवँदबुमा हुँदै छ । मत्स्येन्द्रनाथका ज्योतिषी कीर्तिकिरण जोशीले महास्नानको शुभसाइत बिहान १०:२९ देखि १०:३२ सम्म भएको, त्यहीअनुसार तःबहालमा काम अगाडि बढ्ने बताए ।
महास्नानका लागि तयारी पूरा भएको गुठी संस्थान ललितपुर कार्यालयका प्रमुख हरिप्रसाद सुवेदीले बताए । साइतको काम सकिएपछि मत्स्येन्द्रनाथको मूर्तिलाई सांस्कृतिक बाजागाजा र गुरुजुको पल्टनका साथ तःबहालदेखि खटमा राखी जात्रा गरेर ‘न्हवू डबली’ ल्याई महास्नान गराइन्छ ।जात्रामा ललितपुरका सत्रौं शताब्दीका राजा सिद्धिनरसिंह मल्लको ऐतिहासिक खड्गलाई झल्लरवाल छत्रले ओढाएर सम्मिलित गराइन्छ । महास्नान देखाउन ललितपुरकी जीवित देवी कुमारीलाई पनि लगनखेलमा उपस्थित गराइन्छ ।
प्रत्येक वर्ष बैशाखकृष्ण प्रतिपदाको दिन मत्स्येन्द्रनाथको मूर्तिलाई लगनखेल ल्याई त्यस ‘न्हवू दबु’मा राखी महास्नान गराउने परम्परा छ । महास्नान गराउन बुङ्मतीस्थित कार्यविनायक जंगलमा रहेको ‘न्हवू गा’, कुम्भेश्वरको कुण्ड र तःबहालको इनारबाट पानी ल्याइन्छ ।
यसैदिन बिहान टोलटोलका मानिसहरूले नायखी बजाउँदै, काहाः (इन्द्रबाजा) फुक्दै, अनि मत्स्येन्द्रनाथको रथ बनाउनमा प्रयोग गरिने पौ (बेट), गो पौ, मान्द्रा, पिचा ढकीलगायत सामग्री प्रदर्शन गर्दै सहर परिक्रमा गर्छन् । महास्नानपछि मध्यरातमा मत्स्येन्द्रनाथको मूर्तिलाई कपडाले छोपी बाहाः बाजा र सी बाजा बजाउँदै तःबहालमा लगी मन्दिरको पिँढीमा राखिन्छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु