कृत्रिम खुट्टाको सहारामा सगरमाथा चुम्ने अठोट

२०७४ आश्विन २० गते, शुक्रबार

काठमाडौं, २० असोज । ‘उद्देश्य के लिनु ? उडी छुनु चन्द्र एक ।’ रोल्पाका हरि बूढा मगरको दरिलो आत्मबल र अठोट महाकवि लक्ष्मीप्रसाद देवकोटाका यी हरफमा झल्किन्छ । हरिका दुवै खुट्टा घुँडामुनि काटिएका छन् । उनी कृत्रिम खुट्टाको सहारामा हिँडडुल गर्छन् । उनको शारीरिक अवस्था देख्नेहरू उनको उद्देश्य सुनेर आश्चर्यमा पर्छन् । तर, उनी पाँच वर्षयता निरन्तर लक्ष्य चुम्न दत्तचित्त भई लागिपरेका छन् । उनको लक्ष्य हो, विश्वकै सर्वोच्च शिखर सगरमाथाको चुचुरो चुम्ने ।
आउँदो वसन्त ऋतुमा उनले सगरमाथा चढ्ने योजना बुनेका छन् । उनले यही असोज ३ गते ६ हजार ४ सय ७६ मिटर उचाइको मेरापिक हिमाल आरोहण गरिसकेका छन् ।
३८ वर्षीय हरि रोल्पाको जेवारी गाउँमा जन्मिएका हुन् । उनको गाउँबाट हिमालनजिकै देखिन्छ । सानै छँदा उनमा हिमाल चढ्ने रहर पलाएको थियो । तर, बल्ल आएर त्यो रहर पूरा भएको छ । सामान्य परिवारमा हुर्किएका उनले एसएलसीसम्म अध्ययन गरेका छन् । २०५६ सालमा लिवाङको बालकल्याण उच्च माविमा प्रमाणपत्र तह पढ्दै थिए, उनी बेलायती गोर्खा सैनिकमा भर्ती भए । २०६७ सालमा पहिलो गोर्खा राइफलमा कार्यरत रहँदा गस्तीकै क्रममा तालिवान र अलकायदाले बम प्रहार गरे । उनले दुवै खुट्टा गुमाउनुपर्‍यो । २०७१ सालमा जागिरबाट अवकाश भए। एकाएक शारीरिक रूपमा अशक्त भए पनि उनले हरेस खाएनन् । ‘त्यसपछि मैले विभिन्न सीप सिक्न थालें, जसले मलाई साहस र आत्मबल थप्यो,’ उनी भन्छन् । – अन्नपूर्ण पोस्ट दैनिकबाट

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु