रिडी-तम्घास सडक बन्द

२०८० चैत्र ७ गते, बुधबार


काठमाडौँ । मदन भण्डारी राजमार्ग योजना कार्यालयका अनुसार रिडीदेखि बलेटक्सारसम्मको २३ किलोमिटर क्षेत्रमा चट्टान फोर्न र ग्रेड मिलाउने कार्य भइरहेकोले आजदेखि ३० गतेसम्म सडक १२ घण्टा बन्द गरिएको छ । सूचना अधिकारी इन्जिनियर शर्मिला शर्माले उक्त सडक बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म र राति १० बजेदेखि बिहान ४ बजेसम्म बन्द हुने जानकारी दिइन् । सडक बन्द भएसँगै वैकल्पिक सडक प्रयोग गरेर यात्रा गर्न मदन भण्डारी राजमार्ग योजना कार्यालय गुल्मीले आग्रह गरेको छ ।
सडकको ७.७५ चौडाइ कालोपत्रे गरिंदैछ । अहिले भएको सडक निकै साँघुरो र कालोपत्रे पनि भत्किंदै गएको थियो । सडकखण्डको २३ किलोमिटरमा समान्तर इलाइट जेभीले निर्माण कार्य गर्दै आएको छ ।
२०८२ साल फागुन २५ गतेसम्म सम्पन्न गरिसक्नुपर्ने गरी २०७९ साल फागुन २८ गते सम्झौता भएको हो । एक अर्ब ५० करोड ४८ लाख ३२ हजार ९५९ रुपैयाँ लागतमा सडक स्तरउन्नतिका साथै कालोपत्रे गर्ने गरी ठेक्का सम्झौता भएको हो । सडकको २५ प्रतिशत भौतिक प्रगति र ११.५३ वित्तीय प्रगति भएको छ ।
तम्घास-रिडी सडक गुल्मी जिल्ला सदरमुकाम आउने मुख्य सडक हो । यही सडक भएर गुल्मी जिल्लाबाट अन्य जिल्लामा जाने सवारीसाधन छुट्ने गर्दछन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु