तारे होटल तथा क्यासिनोको आवरणमा आएका अवैध धन्दा तत्काल रोक

२०८० चैत्र ६ गते, मंगलवार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी मेची ब्यूरोले झापामा सञ्चालित ठूला होटल तथा क्यासिनो नयाँ आवरणमा यौन अखडा बन्दासमेत प्रशासन मुकदर्शक भएको भन्दै आपत्ति जनाएको छ । नेकपा मेची ब्यूरोका इञ्चार्ज सुमन सिंह सीले चैत ४ गते आइतबार विज्ञप्ति जारी गर्दै झापामा खोलिएका तारे होटल तथा क्यासिनोमा नयाँ आवरणमा वेश्यालय सञ्चालन गरेको भन्दै यस्तो कार्य रोक्न आग्रह गरेका छन् । नेता सुमन सिंह सीद्वारा जारी बिज्ञप्तिमा जनताबाट चौतर्फी गुनासो र उजुरी आएपछी पार्टी ब्युरो कार्यलयबाटै सचेत गराउनु पर्ने अवस्था आएको उल्लेख गरिएको छ।
बिज्ञप्तिमार्फत मुलुक गम्भीर मोडमा पुगेको र राष्ट्रिय स्वाधिनता तथा जनजीवनमाथि भयानक षडयन्त्र भइरहेका बेला झापामा क्यासिनोको नाममा नेपालीलाई प्रवेश गराई खुलेआम रुपमा जुवाजन्य खेल खेलाई रहेको र गरीव तथा अवोध नेपाली चेलीहरुलाई मनोरञ्जनका लागि प्रयोग गर्ने गरेको भन्दै यस्तो कार्य रोक्न आग्रह गरिएको छ ।
यस बिषयमा नेपाल कम्युनिष्ट पार्टी मेची ब्यूरोका इञ्चार्ज सुमन सिंह सीले जारी गरेको विज्ञप्ति यस प्रकार रहेको छ -‘
यतिबेला देश गम्भीर संकटमा छ । राष्ट्रिय स्वाधिनता र जनजीवन माथि भयानक षड्यन्त्रहरु मडारिएका छन्‌ । यो बेला देशको यो अवस्थाबाट फाइदा उठाउने तत्वहरु विभिन्न आवरणमा क्रियाशील देखिन्छन्‌ । विदेशी मालहरु भित्र्याएर स्वदेशी पूँजी पलायन गराउँदै देशलाई परनिर्भरतामा धकेल्नु दलाल पूँजीवादको कार्य हो । यो कार्य गर्ने दलालहरु झापामा पनि सक्रिय नै छन्‌ ।
कालोधनलाई बैध बनाउन साथै नेपालका व्यवसायीहरुको पूँजी लुटाउन खोलिएका ठूला ठूला क्यासिनोहरु र तारे होटलहरुको चर्तिकला जनस्तरमा कुरा उठने गरी झापामा छताल्लुल्ल हुँदै आएका छन्‌ । विदेशी जुवाडेहरुलाई क्यासिनो ठेक्कामा दिने र नेपालका व्यवसायीहरुलाई जुवाजन्य खेल खेलाएर टाँट पल्टाएपछि ति व्यवसायीहरु सडकमा रुँदै हिँडेको समेत पाइएको छ ।
विदेशबाट जुवाको खालमा भित्र्याइएका पैसावालहरुलाई नेपालका गरिव र अबोध चेलीवेटीहरु मनोरञ्जनका लागि बुझाइदिने सम्मका घटित र घृणित हर्कतहरु भइरहेको जनगुनासो प्राप्त भएको छ । एक प्रकारले भन्ने हो भने झापामा खुलेका तारे होटल र क्यासिनोहरु नयाँ आवरणका ठूला बेश्या घर जस्ता भएका छन्‌ । ठूला पूँजीपतिहरुको यो हर्कत सुन्न , हेर्न र भोग्न निरिह झापाली जनता विवश
छन्‌ । जो दुखद्‌ छ। तारे होटल र क्यासिनो दवारा ठगिमा परेका स्थानिय व्यपारीहरुको गुनासो, नेपाली चेलीबेटीहरुको मोलमोलाइ र व्यापार पछि झापाका स्थानिय बजारहरुमा भइरहेका छलफल, बित्तिय क्षेत्रमा यतिबेला देखिएको भयावह अवस्थामा क्यासिनो मार्फत भइरहेको पुंजि पलायन सबै अवस्थालाइ मध्यनजर गरेर सबै सरोकारवालाको ध्यानाकर्षणको निम्ति यो प्रेष बिज्ञप्त जारि गरिएको छ।
अत: झापा जस्तो जिल्लामा यस्तो हर्कतहरु हुनु , तारे होटल सहित अन्य झापामा खुलेका साना तिना होटलमा समेत यस्तो हुनु निन्दनीय छ । झापाका राजनीतिक दल, नागरिक समाज, प्रहरी प्रशासन, सरोकारवाला निकाय सबै मुकदर्शक बनिरहनुले सिङ्गो झापालाई नै लज्जित बनाउने छ । झापालाई लुटेरा दलालहरुको अखडा बन्न दिन र हाम्रा चेलीवेटीहरु दलालहरुले खेलौनाका रुपमा प्रयोग गर्ने हर्कत हामीलाई स्वीकार्य छैन । यो हर्कत तुरुन्त बन्द गर्न साथै यस्ता ककृत्यलाई तत्काल रोक्न सरोकारवालाहरुलाई अनुरोध गर्दछौं । अन्यथा झापाली जनताको निम्ति यो संघर्षको विषय बन्ने समेत जानकारी गराइन्छ ।’

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु