१२ सय ४७ केजीको फर्सी !

२०८० आश्विन २५ गते, बिहीबार

काठमाडौँ । अमेरिकाका बागबानी शिक्षक तथा किसान ट्राभिस गिन्जरले १२ सय ४७ केजीको फर्सी फलाएर विश्व कीर्तिमान कायम गरेका छन् । क्यालिफोर्नियामा भएको ५० औं विश्व फर्सी च्याम्पियनसीपमा गिन्जरले फलाएको फर्सीले यो उपाधि जितेको हो । सुन्तला रंगको यो फर्सीलाई कम्तिमा ६८७ वटा गोलाकार टुक्रामा काट्न सकिन्छ । आफुले त्यति ठूलो फर्सी फलाएर किर्तिमान कायम गर्न सकुँला भनेर कुनै अपेक्षा नरहेको र अहिले निकै खुसी भएको ४३ वर्षीय गिन्जर बताउँछन् ।पछिल्लो ३० वर्षदेखि फर्सी फलाउँदै आएका उनले गत वर्षसमेत अमेरिकाको सबैभन्दा ठूलो फर्सी फलाएर राष्ट्रिय कीर्तिमान कायम गरेका थिए ।
स्मरण रहोस् यसअघि विश्वको सबैभन्दा ठूलो फर्सीको विश्व कीर्तिमान इटालीका किसानको नाममा थियो । सन् २०२१ मा इटालीमा १२ सय २६ केजीको फर्सी फलेको थियो ।
इटालीयन फर्सीको कीर्तिमान भंग गरेका गिन्जरले यो पटक संसारकै ठूलो फर्सी फलाउनका लागि निकै मेहेनत गरे । उनले आफ्नो घर छेउमा रहेको करेसाबारीमा रोपेको फर्सीलाई निकै स्याहारसुसार गरे । दिनको १२ पटकसम्म पानी हाल्नुका साथै सधैभन्दा बढि मल तथा गोडमेल गरे । आनोका टेक्निकल कलेजमा बागबानी शिक्षक रहेका गिन्जरको घरमा फर्सी फलाउने पुस्तौनी काम हो । उनका बुवाले पनि फर्सीको खेती गर्दथे । त्यसैले गिन्जरले किशोरावस्थादेखि नै घरमा फर्सीको खेती सुरु गरेका थिए । तर फर्सी च्याम्पियनसीपमा भने उनी पहिलोपटक सन् २०२० मा मात्र सहभागी भएका थिए । यो पटक कीर्तिमानी फर्सीसँगै च्याम्पियनसीपमा उपाधि जितेसँगै उनले ३० हजार डलर पुरस्कार पाएका छन् ।-एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु