अष्ट्रेलियाले जित्यो महिला टी-२० विश्वकप उपाधि

२०७९ फाल्गुन १५ गते, सोमबार


काठमाडौं । अष्ट्रेलियाले घरेलु टोली दक्षिण अफ्रिकालाई १९ रनले पराजित गर्दै छैटौं पटक आईसीसी महिला टी–२० विश्वकपको उपाधि जितेको छ । लगातार सातौं संस्करणको फाइनल खेलेको अष्ट्रेलियाले छैटौं पटक उपाधि जित्ने क्रममा दोस्रो पटक उपाधिमा ह्याट्रिक गर्यो । सन् २००९ को पहिलो संस्करणमा फाइनल पुग्न नसकेको अष्ट्रेलियाले २०१०, २०१२ र २०१४ मा लगातार जित्दै उपाधिमा ह्याट्रिक गरेको थियो । २०१६ को फाइनलमा भने अष्ट्रेलिया वेष्ट इन्डिजसँग पराजित भयो । त्यसपछि २०१८, २०२० र २०२३ मा उपाधि जित्दै अष्ट्रेलियाले फेरि ह्याट्रिक गरेको हो । पहिलो पटक फाइनल पुग्दै इतिहास रचेको दक्षिण अफ्रिका भने घरेलु मैदानमै पराजित रह्यो । अष्ट्रेलियाले दिएको १५७ रनको लक्ष्य पछ्याएको घरेलु टोलीले दक्षिण अफ्रिकाले २० ओभरमा ६ विकेट गुमाएर १३७ रन मात्र बनाउन सक्यो ।
दक्षिण अफ्रिकाका लागि ओपनर लोरा वालभाल्टले सर्वाधिक ६१ रन बनाइन् । उनले ४८ बल खेल्दै ५ चौका र ३ छक्का प्रहार गरिन् । क्लोए ट्रायोनले २५ रन बनाइन् ।
अष्ट्रेलियाका लागि मेगन सुट, एश गार्डनर, डार्सी ब्राउन र जीस जोनासेनले १÷१ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ओपनर बेथ मुन्नीको ७४ रन मद्दतमा ६ विकेट गुमाएर १५६ रन बनाएको थियो । एक छेउबाट विकेट गएपछि अर्को छेउ सम्हालेकी मुनीले ५३ बल खेल्दै ९ चौका र १ छक्का मद्दतमा अविजित ७४ रन बनाइन् । एश गार्डनरले २९ र एलिसा हिलीले १८ रन बनाए । दक्षिण अफ्रिकाका लागि शबनिम स्माइल र मरिजान कापले २÷२ विकेट लिए । फाइनलमा अलराउण्ड प्रदर्शन गरेकी अष्ट्रेलियाकी एश गार्डर प्लेअर अफ दि सिरिज घोषित भइन् । उनले ११० रन बनाउनुका साथै १० विकेट लिएकी थिइन् । उनी सर्वाधिक विकेट लिनेमा दोस्रो स्थानमा रहिन् । इंग्ल्याण्डका सोफी एस्सेलोटनले सर्वाधिक ११ विकेट लिएकी थिइन् ।

प्रतिक्रियाहरु