नेकपाको स्वागत योग्य निर्णय

२०७९ कार्तिक ६ गते, आईतवार

नेपाल कम्युनिष्ट पार्टीको नवौँँ महाधिवेशन भव्यताका साथ सम्पन्न भएको छ । कपिलवस्तु शिवगढीमा हालै सम्पन्न भएको नेकपाको उक्त नवौँँ महाधिवेशनले नयाँ समाजवादी सत्ता र राष्ट्रिय स्वाधिनताको कार्यनीति पास गरेको छ । यतिबेला संसद्वादी दल र नेताका कारण देश र जनता प्रताडित हुनुका साथै १० वर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनबाट प्राप्त गणतन्त्रको उपहास भएको छ भने संविधान कागजको खोस्टोमा परिणत भएको छ । एमसीसी सम्झौता संसद्बाट पारित भएको छ भने एसपीपीपी सम्झौता लागू गर्न विभिन्न प्रपन्चहरु भइरहेका छन् । संसद्वादी दल र नेताका कारण वैदेशिक हस्तक्षेपले सीमा नाघेको छ, एकपछि अर्को राष्ट्रघात र जनघाती कार्य भइरहेका छन् । भ्रष्टाचार, अनियमितता, कालोबजारी, महँगीले सीमा नाघेको छ भने प्रहरी प्रशासन बेलगाम भएका छन् । नागरिकता विधेयक विवाद, सरकार, संसद्, अदालतका विवादलगायतका घटनाले देश र जनता सरकार, संसद्वादी दल र नेताको घृणित खेलबाट वाक्कदिक्क भइरहेका छन् । यस्तो समयमा नेकपाले नयाँ समाजवादी सत्ता र राष्ट्रिय स्वाधीनताको कार्य नीति अगाडि सार्नु आमस्वाभिमानी जनताको लागि खुशीको विषय हो ।

नेपाल कम्युनिष्ट पार्टीको नवौँँ महाधिवेशनमा पारित नयाँ समाजवादी जनसत्ता र राष्ट्रिय स्वाधीनतको कार्यनीतिमा पुँजीवादी व्यवस्थाको चुनाव भनेको सत्ताको असफलता र संकटलाई टालटुल पार्ने, निर्वाचनका नाममा पुराना पात्रका ठाउँमा नयाँ पात्र खडा गर्ने, एकथरी लुटेराको सट्टा अर्का लुटेराहरु अगाडि सार्ने, पुराना सम्बन्धहरुको स्थानमा नयाँ सम्बन्धहरु निर्माण गर्ने, श्रमिक जनतालाई पुँजीवादबाट पुँजीवादमै, चुनावबाट चुनावमै, संसद्बाट संसद्कै गोलचक्करमा घुमाउने अल्झाउने खेल भएको उल्लेख गर्दै देशमा संसदीय व्यवस्थाको दलालीकरण, वदनामी, टाटपल्टाई र असफल भएको ठोकुवा गरिएको छ, जुन आमस्वाभिमानी नेपाली जनताको आवाज हो । यसैगरी, नेकपाले दलाल पुँजीवादी सत्ताको संसदीय व्यवस्थाको संघ र प्रदेशका चुनाव उपयोग, प्रयोग गर्नु उचित र सम्भव नभएको भन्दै जनतालाई राजनीतिक विचार, संघर्ष र प्रयोग सबैतिरबाट वैज्ञानिक समाजवादी सत्ताको विकल्प दिनुपर्ने उल्लेख गर्दै मंसिर ४ को संसदीय चुनावलाई सशक्त प्रकारले खारेज गरिने उल्लेख गरेको छ भने दलाल पुँजीवादको स्थापनासँगै गाउँदेखि सहरसम्म मिटरव्याजे (चक्रिय व्याजी) फटाहाहरु उमारेको र मिटरव्याजले हजारौं किसान तथा साना व्यवसायीलाई उठिबास लगाएको ठोकुवा गर्दै मिटरव्याजेविरुद्ध सशक्त संघर्ष गर्ने प्रतिबद्धता जाहेर गरिएको छ जुन आमजनताले रोजेको र खोजेको विषय हो ।

नेपाल कम्युनिष्ट पार्टीको नवौँँ महाधिवेशनद्वारा सर्वसम्मतरुपमा पारित कार्यनीतिमा भनिएको छ– ‘नेपाली जनताको चाहना र स्वीकृतिविना लादिएको राष्ट्रघाती एमसीसी सम्झौता जबर्जस्ती कार्यान्वयन गर्न खोजिँदैछ । नुवाकोट, पाल्पा, मकवानपुरलगायतका जिल्लामा सयौं रोपनी जमिन अधिकरण गरिँदै छ । एमसीसी सम्झौतासँग जोडेर एसपीपी सैन्य सम्झौता लाद्ने र साम्राज्यवादी युद्धको खेलमैदान बनाउने षड्यन्त्र चलिरहेको छ । महाधिवेशन उक्त राष्ट्रघाती सम्झौता खारेज गर्न माग गर्दछ ।’

यी र यस्ता सबै विषयले नेकपाको नवौँँ महाधिवेशन देश जनताको पक्षमा केन्द्रित भएको पुष्टि गर्दछ । त्यसकारण नेकपाको नवौँँ महाधिवेशनले लिएको नीतिलाई समर्थनका साथै सहयोग गर्नु आमस्वाभिमानी नेपाली जनताको दायित्व बन्न पुगेको छ ।

अन्त्यमा नेकपाले नवौँ महाधिवेशनवाट लिएका सबै निर्णय ठोसरुपमा लागू गरोस र देश र जनताको मुक्तिदाता पार्टी बनोस् यही शुभकामना ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु