भारतमा लोकसभाको निर्वाचन सुरु

२०७५ चैत्र २८ गते, बिहीबार

काठमाडौं , २८ चैत । भारतमा आजदेखि लोकसभाको निर्वाचन हुँदैछ । ५ सय ४५ सदस्यीय लोकसभाका लागि सात चरणमा मतदान हुनेछ । अन्तिम मतदान मे १९ तारिखमा हुनेछ । १७ औं लोकसभा गठनका लागि ९० करोड भारतीयले आफ्नो मताधिकार प्रयोग गर्ने निर्वाचन आयोगले जनाएको छ । जुन अर्को दोस्रो ठूलो प्रजातान्त्रिक देश मानिने अमेरिकाभन्दा चार गुणा ठूलो हो । यसपटक ८ करोड ४३ लाख नयाँ मतदाताले पहिलोपटक आफ्नो मताधिकार प्रयोग गर्दैछन् । १० लाख मतदान केन्द्रमा मत हाल्ने व्यवस्था मिलाइएको छ । मे २३ देखि मतगणना गरिने छ ।
भारतले पहिलो आम चुनाव ब्रिटेनबाट स्वतन्त्र भएपश्चात् सन् १९५१ मा गरेको थियो । निर्वाचनका लागि ठूलो संख्यामा कर्मचारी तथा सुरक्षाकर्मी खटाइएको छ । कम्तिमा २ सय ७२ स्थानमा विजयी हुने दलले आगामी सरकारको नेतृत्व गर्ने छ । सन् २०१४ मा भएको पछिल्लो निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीको दल भारतीय जनता पार्टी २८२ सिट जितेको थियो भने भारतीय काँग्रेसले केवल ४४ सिट सुरक्षित गरेको थियो ।
यसपटक प्रधानमन्त्री मोदीको टक्कर विपक्षी कंग्रेस नेता राहुल गान्धीसँग भइरहेको छ । केही महिना अगाडिसम्म मोदी तथा उनको दल भाजपाले चुनाव सहजै जित्ने ठानिन्थ्यो तर डिसेम्बरमा भएका केही महत्वपूर्ण क्षेत्रीय चुनावहरूबाट प्रतिस्पर्धा कडा हुने सङ्केत देखा परेका छन् ।-एजेन्सी

प्रतिक्रियाहरु